सुनसरी — सामाजिक सञ्जालमा जोडिँदै आएका लिम्बुवानवादी युवाको जमातले ‘लिम्बुवान स्प्रिङ आन्दोलन’ को घोषणा गरेको छ । लिम्बुवान विरोधी गतिविधि बढेकाले प्रतिरोधका लागि आन्दोलन घोषणा गर्नुपरेको उनीहरूले बताएका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै लिम्बुवान स्प्रिङ आन्दोलनमा स्वतःस्फूर्त रूपमा लिम्बुवान युवा अभियानकर्मी सामेल भएको बताएका छन् । विभिन्न सङ्घ सङ्गठनमा आबद्ध र स्वतन्त्र गरी चार दर्जनभन्दा बढी अभियन्ताको नामावलीसहितको सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘लिम्बुवानविरोधी तत्वहरू सक्रिय भएकोले प्रतिरोधको अभियानमा सामेल हुन आम पहिचानवादी र लिम्बुवानवासी नागरिकहरूलाई हार्दिक आहवान गर्दर्छौ ।’
आन्दोलनमा लिम्बुवान सङगठनमा आबद्ध कार्यकर्तासँगै हाल सत्ता पक्षनिकट अभियानकर्मीको बाहुल्यता छ । उनीहरूले पछिल्लो समय लिम्बुवानविरोधी चलखेल बढेकाले मुद्दा जोगाउन एक ठाउँ आउनु परेको बताएका छन् ।
‘लिम्बुवान आन्दोलन चर्किरहँदा गुमनाम भएका अभियान र निर्जीव नामलाई अगाडि सारेर ऐतिहासिक पहिचानलाई धराप पार्न लिम्बुवानविरोधी तत्वहरू सक्रिय भएकाले प्रतिरोधको अभियानमा सामेल हुन आम पहिचानवादी र लिम्बुवानवासी नागरिकलाई हार्दिक आह्वान गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘लिम्बुवानविरोधी हर्कतमा लागेका व्यक्ति, तत्व र समूहलाई प्रश्रय दिइरहेको प्रति पनि हाम्रो समूह घोर भर्त्सना गर्दछ । लिम्बुवानविरूद्ध सार्वजनिक रूपमा अझिव्यक्ति दिने व्यत्तिलाई आजैबाट सशक्त बहिष्कारको अभियान पनि सुरु भएको सबैमा अवगत गराउँदछौं ।’
सन् २०१० मा भएको अरब स्प्रिङ आन्दोलन यसैगरी सामाजिक सञ्जालबाट सुरु भएको थियो । जुन आन्दोलन नागरिक तहसम्म पुगेर अवज्ञा, प्रतिरोध र क्रान्तिको चरणसम्म फैलिएको थियो । लिम्बुवान स्प्रिङ आन्दोलबारे आफ्नो अवधारणा र औचित्य चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको अभियन्ता टङ सेलिङले बताए ।