• धनकुटा/ प्रधानमन्त्री केपी शर्मा ओलीको पुख्र्यौली गाउँ तेह्रथुमको आठराई गाउँपालिका–४, ५, ६ र ७ मा खानेपानीको चरम अभाव भएपछि सिङ्गो बस्ती नै बसाइँ गर्ने क्रम बढ्दो छ ।

    गाउँघरका खोलाखोल्सी, धारा, पँधेरा पूर्णरूपमा सुक्न थालेपछि थातथलो छाड्नेको सङ्ख्या वर्षेनी बढेको हो । खानेपानी समस्याका कारण फागुन महिनामा मात्रै आठराईको दक्षिणी भेग थोक्लुङ्गबाट ११ घरधुरी अन्यत्र बसाइँ सरेका छन् । आठराई गाउँपालिका–७ कर्कलेमा ३६ घरमध्ये हाल १० घर मात्र बाँकी छ । २६ घर बसाइँ सरेर अन्यत्र गएका छन् । फागुन महिनामा मात्रै जङ्गबहादुर स्याङ्गवाको ७ जनाको परिवार झापाको जलथलमा पुगेका छन् । उनी पेशाले पूर्व भारतीय आर्मी हुन् । २०४१ सालमा भारतीय सेनाबाट पेन्सन आउँदा छिमेकी ऋषिराम दङ्गालसँग ४५ हजारमा किनेको जग्गा त्यसै छोडेर गएका हुन् ।

    दङ्गालको परिवार भने ३५ वर्ष अगावै मोरङको गछियामा बसाइँ सरेको स्याङ्गवाले सुनाए । ‘मधेस झर्ने मन थिएन तर बूढेसकालमा पानी नखाई मरिएला कि भन्ने चिन्ता बढेपछि बसाइँ सरियो ।’ उनी सुनाउँछन् । कर्कलेमा गाउँभरीका मान्छेका लागि जम्मा एउटा धारो थियो त्यो पनि ७ वर्ष अघि नै सुकेको उनले बताए । आरआरएन परियोजनाले ४ किलोमिटर चुहानडाँडा मुनिको स्थानिय फाक्चुवा खोलाबाट पानी ल्याए पनि कहिले आउने÷कहिले नआउने समस्याबाट हैरानी खेपेको उनले सुनाए । उनी फागुन ३ गते आफ्नो गाउँ छाडेर बसाइँ गएका हुन् ।

    सोही वडामा पर्ने भदौरे डाँडाका डोलेश्वर भट्टराईको ६ जनाको परिवार पनि फागुन २० गते बसाइँ हिँडेको छ । भट्टराईले पनि खानेपानीको अभावका कारण ‘डाँडा पारिका घाम–जून’ जस्ता भइसकेका वृद्धवृद्धा आमा–बुबालाई लिएर हिँड्नु परेको बताए । उनी झापाको कमल गाउँपालिका–७ मङ्गलबारेमा बसाइँ सरेर गएका हुन् । दाजुभाइमध्ये कान्छा उनी मात्रै हैन, जेठा दाजु शेखरनाथ पनि ८ जनाको परिवार लिएरु पाडाजुङ्गी नै बसाइँ सरेका छन् ।

    माहिला दाजु धनपति भट्टराई पनि ६ जनाको परिवार लिएर बसाइँ सोही स्थानमा झरेका छन् । आठराई भोर्ले भट्टबारीका रामबहादुर घिसिङ पनि १२ जनाको परिवार लिएर झापाको गौरदह पुगेका छन् । सोही वडामा पर्ने मार्साङ्गबारीका बादल तामाङ पनि ४ जनाको परिवारसहित झापाको गौरादह नजिकै वाँसवारीमा झरेका छन् । आठराई लोकताङ्गका सुमन श्रेष्ठको ४ जनाको परिवार पनि गौरादहमै झरेको छ । आठराई हात्तिखर्कका महेन्द्र वाइवाको पनि चारजनाको परिवार झापाको बिर्तामोडमा बसाइँ सरेको छ । छिमेकी भक्तबहादुर वाइवाले पनि ७ जनाको परिवार लिएर झापा जलथलमा बसाइँ झरेका छन् ।
    तेह्रथुमको जिल्लाको आठराई गाउँपालिका अन्तर्गत पर्ने ईवा, छातेढुङ्ग, चुहानडाँडा र थोक्लुङ्गको तल्लो भाग सुख्खाग्रस्त तमोर नदीको तटीय क्षेत्रमा बसोबास गर्ने अधिकांश स्थानीय खानेपानी अभावका कारण बसाइँ सर्ने क्रम बढ्दो छ । आठराईको ईवा, छातेढुङ्गा प्रधानमन्त्री केपी शर्मा ओलीको पुख्याैली थलो हो । सो क्षेत्रका करिब ५ हजार जनसङ्ख्यामा चरम खानेपानीको अभाव झेल्दै आएको केही वर्षअघि आरआरएन परियोजनाले तथ्याङ्क सार्वजनिक गरेको थियो ।

    ‘गाउँबस्ती नजिकैबाट तमोर नदी बगिरहेको छ, स्थानीयवासी भने खानेपानी खान नपाएर कहाँ जाउँ, कता जाउँ भन्दै छटपटाउनु परेको छ,’–थोक्लुङ्गका प्रसादसिंह तामाङले भने । बसाइँ सर्ने क्रम तीव्ररूपमा बढ्दा पनि स्थानीय तहका जनप्रतिनिधिहरू रमिते भएर बसेको उनको गुनासो छ । ‘करिब ५ हजारसम्म जनसङ्ख्या खानेपानीको कारण प्रभावित भएर अन्यत्र बसाइँ सरी जाने क्रम बढ्नु र सयौं घरपरिवार विस्थापित हुनु भनेको आफैँमा गम्भीर विषय हो,’–तामाङले भने ।

    यो बेला जनप्रतिनिधिहरूले ध्यान पु¥याउन नसक्नु उनीहरूको कमजोरी हुने बैदेशिक रोजगारीबाट भर्खर आएका भदौरेका टेक लामाले बताए । वर्षौदेखि खानेपानीको अभावले प्रताडित भएका स्थानियको दैनिकीलाई सहज बनाउनुपर्ने आठराई गाउँपालिका–७ स्थित पञ्चकन्या आधारभूत प्राविका प्रधानाध्यापक सोम लामिछानेले बताए । आठराई गाउँपालिका–७ थोक्लुङ्गका वडाध्यक्ष रोहित कन्दङ्गवाले आफ्नो वडाबाट ८० देखि ९० घर बसाइँ सरेको बताए । त्यसैगरी वडा नम्बर ६ चुहानडाँडामा पनि वार्षिकरूपमा ३० देखि ४० घर बसाइँ गएको वडाध्यक्ष तेजमान कन्दङ्गवाले बताए ।

    आठराई गापा–५ छातेढुङ्गाका वडाध्यक्ष विष्णुप्रसाद ओलीले भने आफूलाई वार्षिकरूपमा यति नै भन्ने थाहा नभएको तर बसाइँ सर्ने क्रम तीव्र भएको बताए । त्यसैगरी प्रधानमन्त्री ओलीकै पुर्खौली गाउँ आठराई–४ इवाका वडाध्यक्ष श्यामप्रसाद भट्टराईले पनि आफ्नो वडामा वार्षिक सरदर १५ देखि २० घरसम्म बसाइँ जाने गरेको बताए । चालु आर्थिक वर्षमा आठराई गाउँपालिका–४, ५, ६ र ७ सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर ४ सय ८६ घरधुरीलाई प्रदेश सरकारबाट ५ हजार र गाउँपालिकाबाट २ हजार गरी ७ हजारको दरले प्रतिघर राहत वितरण गरिएको बताए ।ब्लाष्टखबरमा समाचार छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…