३५ वर्षीय शीतल राई तीन सन्तान र श्रीमतीसहित मोरङको उर्लाबारीमा भाडामा बस्छन् । शीतल गत असारमा विदेशबाट फर्किएर स्वदेशमै मजदुरी गर्दै आएका थिए । उनकै परिश्रमले पाँचजनाको परिवार चल्दै आएको छ । शीतलकी श्रीमती श्रीकुमारीका अनुसार छोरीहरू नर्सरी, युकेजी र पाँच कक्षामा पढ्छन् । गत १८ पुसमा शीतल मोटरसाइकल दुर्घटनामा परेपछि परिवारको बिचल्ली भएको छ ।
पूर्व–पश्चिम राजमार्गमा दमकबाट उर्लाबारीतर्फ मोटरसाइकलमा जाँदै गर्दा दक्षिणबाट आउँदै गरेको अर्को मोटरसाइकलले दमक चिया बगाननेर शीतललाई ठक्कर दियो । ‘टाउकोमा ठूलो चोट लाग्यो, डाक्टरले खोपडी निकालेका छन्,’ श्रीकुमारी भन्छिन्, ‘एकपाटो शरीर चल्दैन, वेला–वेला बेसुरको कुरा गर्नुहुन्छ ।’बिर्तामोडको बी एन्ड सी हस्पिटलमा शीतलको उपचार भइरहेको छ । दमक–४ का नरबहादुर खड्का सवार मोटरसाइकलले शीतललाई ठक्कर दिएको उनी बताउँछिन् । घटनापछि दुई परिवार बसेर शीतलको उपचारमा आधा–आधा रकम व्यहोर्ने सहमतिसमेत भयो । तर, हालसम्म खड्का परिवारबाट १ लाख ५ हजार रुपैयाँ मात्र प्राप्त भएको उनले बताइन् ।
परिवारको आर्थिक स्थिति कमजोर भएको बुझेपछि अस्पतालले डिस्चार्ज दिने भयो । तर, डिस्चार्ज गरेर श्रीमान्लाई घर लैजानसमेत आफूसँग रकम नभएको श्रीकुमारी बताउँछिन् । ‘हालसम्म सात लाख रुपैयाँ तिरिसक्यौँ, अब आठ लाखजति तिर्न बाँकी छ,’ उनले भनिन्, ‘ठक्कर दिने मान्छेले आधा व्यहोर्ने भनेको थियो, तर ऊ बेपत्ता छ ।’ ठक्कर दिने व्यक्तिलाई खोजिदिन आग्रह गर्दै श्रीकुमारी पटक–पटक इलाका प्रहरी कार्यालय दमक पुगिन् । तर, प्रहरीले चासो नदिएको उनको गुनासो छ ।