काठमाडौं, ३० फागुन । सरकारले मंगलबार मात्रै राजनीतिक गतिविधिमा प्रतिवन्ध लगाएको नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा भद्रगोल देखिएको छ ।
शान्तिप्रक्रियाका लागि बार्तामा आउन सरकारले गरेको आव्हानलाई महत्व नदिएपछि सरकारले प्रशासनिक कारबाहीमार्फत तह लगाउने संकेत देखाएको छ र राजनीतिक गतिविधिमा प्रतिवन्ध लगाएको छ ।
पार्टीभित्र महासचिव विप्लव पार्टीका दोस्रो वरियताका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीचको विवाद चर्किएको छ ।
नेकपा माओवादीबाट फुटेर मोहन बैद्यको नेतृत्वमा २०६९ असार ५ गते गठन भएको नेकपा माओवादी क्रान्तिकारीमा संगै आएका विप्लव र प्रकाण्डले बैद्यलाई छाडेर २०७१ मंसिर ७ गते नेकपा माओवादी गठन गरेका थिए । प्रहरी हिरासतमुक्त भएदेखि प्रकाण्ड र विप्लवबीच बोलचाल नै बन्द भएको निकटस्थहरु बताउँछन ।
२०७५ फागुन ११ गते ललितपुरको नख्खुस्थित एनसेल प्रालिको गेटमा गराइएको बम बिस्फोटपछि प्रेस विज्ञप्ति निकाल्न पार्टी हेडक्वार्टरले दिएको निर्देशन प्रकाण्डले नमानेपछि महासचिव विप्लवले नै विज्ञप्ति निकालेका बताइन्छ ।
पार्टीमा प्रवक्ताले नै विज्ञप्ति निकाल्ने प्रचलन रहँदै आएको थियो । प्रकाण्डले टेर्न छाडेपछि महासचिव विप्लवले पनि खासै भाउ नदिएको नेता तथा कार्यकर्तापंक्तिमा चर्चा छ ।
पछिल्ला केही महिना यता विप्लव र प्रकाण्डबीचको मतभेदले पार्टीमा गंभीर समस्या उत्पन्न गरिरहेको नेता तथा कार्यकर्ताहरू बताउछन् । प्रकाण्डमाथि पार्टीभित्र गुट निर्माण गरेको आरोप पनि लाग्दै आएको छ ।
२०७५ साउन २२ गते ललितपुरको चाल्नाखेलबाट पक्राउ परेका प्रकाण्ड सर्वोच्च अदालतकोे आदेशपछि असोज ९ गते रिहा भएका थिए ।
विभिन्न उद्योगपति, व्यवसायीलगायतबाट अवैध रुपमा करीब ७ करोड चन्दा असुल गरेको आरोपमा प्रहरीले प्रकाण्डलाई पक्राउ गरेको थियो । पार्टी महासचिवले हाललाई राजधानी काठमाण्डांै नजान गरेको सुझाव नमान्दा प्रकाण्ड पक्राउ परेको पार्टी स्रोतको भनाई छ ।
हिरासतमुक्त भएदेखि नै प्रकाण्डको महासचिव विप्लवसंग सम्बन्ध बिग्रिएकाले विप्लवसंग सम्पर्क गर्न छाडेको पार्टी स्रोत बताउँछ । कतिपय नेता तथा कार्यकर्ताहरूले पार्टीभित्रको किचलोले विप्लव नेकपा विभाजनको संघारमा रहेको बताउँछन् ।
विप्लव र प्रकाण्डबीच कुनै बैचारिक, सैद्धान्तिक वा पार्टीका दस्तावेजका विषयले सम्बन्ध बिग्रिएको नभई आर्थिक मामिला भएको बताइन्छ । पार्टीले प्रवक्ताका साथै प्रकाण्डलाई आर्थिक विभागको पनि जिम्मेवारी दिएको छ ।
पार्टीमा नेता तथा कार्यकर्ताहरूको सम्पूर्ण आर्थिक व्यवस्थापनको जिम्मा प्रकाण्डलाई छ । प्रकाण्डले अपादर्शी ढंगले चन्दा उठाई स्वैच्छिकरुपमा खर्च गरेको, महासचिव र उनी निकट नेताहरूलाई खर्चको यथार्थ विवरण नदिएको, समानान्तर कमिटीहरू निमार्ण गरेर गुटको राजनीति गरेको भन्ने आरोप लाग्ने गरेको छ ।
भ्रातृसंगठनमा पनि विवाद देखिएको छ । पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ प्रमोद योगीलाई अध्यक्षमा निर्वाचित गरेको दुई घण्टा बित्न नपाउदै प्रकाण्ड गुटले बिबादस्पद जग्गा दलाल टीका कँडेलको अध्यक्षतामा अर्को समानान्तर कमिटी बनाएको थियो ।
युवा सङ्गठनमा झकबहादुर मल्ल ‘सुदीप’ तत्कालीन माओवादी केन्द्रमा फर्केपछि बाबुराम राईलाई संयोजक बनाएको थियो । प्रकाण्ड गुटले राईलाई स्वीकार गरेका छैनन् । अभियान टाइम्सका साथमा ।