२०७५ चैत्र १ शुक्रवार
नेपाल कम्युनिष्ट पार्टी झापाको एकता प्रक्रिया टुङ्गिएको छ । आज नेकपा जिल्ला पार्टी कार्यालयमा बसेको कार्यदलको बैठकले झापाका १५ वटा स्थानीय तहमध्ये छ वटामा पूर्वमाओवादी केन्द्र र नौ वटा स्थानीय तहमा पूर्वएमालेले नेतृत्व गर्ने निर्णय गरेसँगै एकता प्रक्रिया टुङ्गिएको नेकपा नेता मणिकुमार साम्पाङ (विजय)ले जानकारी दिनुभयो ।
उहाँका अनुसार भद्रपुर, मेचीनगर, शिवसताक्षी नगरपालिका र हल्दीबारी, गौरीगञ्ज तथा झापा गाउँपालिकामा पूर्वमाओवादीले नेतृत्व गर्नेछ । त्यस्तै विर्तामोड, कनकाइ, दमक, गौरादह, अर्जुनधारा नगरपालिका, बुद्धशान्ति, कचनवकल, बाह्रदशी र कमल गाउँपालिकामा पूर्वएमालेले नेतृत्व गर्ने सहमति भएको उहाँले बताउनुभयो ।
“अब तीन दिनभित्रमा नेतृत्वको नाम छनोट हुनेछ”, उहाँले भन्नुभयो, “त्यसपछि एकता प्रक्रियताले पूर्णता पाउँछ ।” झापाका १३१ वटा वडामध्ये ५३ वटा वडामा पूर्वमाओवादीले नेतृत्व गर्ने जनाइएको छ । बाँकी ७८ वटा वडामा पूर्वएमालेले नेतृत्व गर्ने निर्णय भएको छ ।
पार्टीको जिल्ला अध्यक्ष पूर्वएमालेले र सचिव पूर्वमाओवादीले लिने यसअघि नै सहमति भइसकेको छ भने इञ्चार्ज र सह–इञ्चार्ज केन्द्रीय तहबाटै टुङ्गो लाग्ने नेता साम्पाङले बताउनुभयो । अब बन्ने नेकपा झापाको १७५ सदस्यीय जिल्ला कमिटीमा पूर्वमाओवादीको भागमा ७० र पूर्वएमालेको भागमा १०५ सदस्य रहने छन् ।