ललितपुर : ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले आफ्नो कार्यकालभित्र सिक्टा सिँचाइ आयोजना पूरा गरेर छाड्ने बताउनुभएको छ । उहाँले धुलनशील माटोका कारण यस आयोजना अघि बढाउन समस्या भएको बताउनुभयो ।
नेपाल इञ्जिनीयरिङ एशोसिएशनले आज आयोजना गरेको पूर्वाधार विकास बहसमार्फत् सिक्टा सिँचाइ आयोजनाका समस्या र समाधान विषयको कार्यक्रममा मन्त्री पुनले धुलनशील माटोका कारण यस आयोजनामा असर पारेको बताउनुभयो ।
“कन्काई सिँचाइ आयोजनादेखि महाकाली सिँचाइ आयोजनामा नयाँ समस्या दखिएको इञ्जिनीयरका लागि नयाँ अनुभव भएको छ”, पुनले भन्नुभयो, “अर्बौं लगानी भएको यो आयोजनालाई पूर्ण गर्ने छु ।” आयोजनालाई अध्ययनको विषय बनाएर अघि बढ्नुपर्ने बताउँदै मन्त्रीले पुनले निर्माणमा भएका कमी कमजोरी पल्याउन आवश्यक छ भन्नुभयो ।
“यस आयोजनामा परेका ४२ वटा ठेक्कामध्ये १५ वटा पूर्ण भइसकेका छन्”, पुनले थप्नुभयो, “ठेक्का लिन हतार गर्ने तर त्यस कामलाई पूर्णता नदिने समस्या र परिपाटी नेपालमा धेरै देखिएको छ ।” त्यसैगरी मन्त्री पुनले भेरी डाइभर्सन आयोजना आगामी वैशाखसम्म पूरा गरी आठ देखि १० क्युव म्याक्स पानी सुख्खा मौसममा भित्र्याउने दावी गर्नुभयो ।
सिक्टा सिँचाइ आयोजनाका निर्देशक इञ्जिनीयर कृष्ण नेपालले यस आयोजना चाँडै पूरा भएमा वर्षेनी तीन लाख जनताले रोजगार पाउने जानकारी दिनुभयो । “ठेक्का व्यवस्थापनमा समस्या, निकुञ्ज क्षेत्र नजिक बाढी व्यवस्थापन हुन नसक्नु र धुलनशील माटोको समस्या समाधान गर्नुपर्ने छ”, नेपालले भन्नुभयो ।
सिँचाइ विभागका पूर्वनिर्देशक शिवकुमार शर्माले ४५ किमिको आयोजनामध्ये छ किमिमा धुलनशील माटोले समस्या पारेको बताउनुभयो । आव “२०३८÷०३९ मा शुरु भएको यो आयोजना हालसम्म पूर्ण हुन सकेको छैन”, शर्माले भन्नुभयो, “इञ्जिनीयरमार्फत् ऐन कानूनको व्यवस्था गरी समस्या समाधान गर्नुपर्ने देखिन्छ ।”
निर्माण व्यवसायी महासङ्घका सल्लाहकार जयराम लामिछानेले पूर्वाधार विकास राष्ट्र निर्माणको बलियो आधार भएकाले छिट्टै समाधान गर्न लाग्नुपर्ने बताउनुभयो । “यस आयोजनामा १५ अर्बभन्दा बढी लगानी भइरहेको छ”, लामिछानेले भन्नुभयो, “यस कामलाई निरन्तरता दिन हाल कारवाहीमा परेका व्यवसायीको अवस्था बुझेर प्रचलित कानूनमा संशोधन गर्नुपर्ने देखिन्छ ।”
इञ्जिनीयरिङ एशोसिएशनका परामर्शदाता ठाकुरप्रसाद शर्माले कामदार, ठेकेदार र परामर्शदाताको मिलेमत्तोका कारण परियोजना अघि बढ्न नसकेको कुरा बिल्कुलै गतल बुझाइरहेको ठहर गर्नुभयो । “इञ्जिनीयरले खतराको मूल्याङ्कन कसरी गर्ने भन्नेमा बढी ध्यान दिनुपर्छ”, शर्माले भन्नुभयो, “यो परियोजना किन र कसरी शुरु भयो, यसमा के के समस्या छन् भनी अध्ययन गरेमा समस्या भेटिन्छ ।”