• काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चारवटा इन्काउन्टर घटनालाई एकै ठाउँ राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । एकपछि अर्को गरी इन्काउन्टर घटना दोहोरिन थालेपछि आयोगमा परेको उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो । देशका विभिन्न ठाउँमा भएका चारवटा इन्काउन्टर घटनाको विषयमा विज्ञ समूह गठन गरेर अनुसन्धान थालिएको हो ।

    प्रहरीले गरेको इन्काउन्टरका विषयमा पीडित परिवारको उजुरी परेपछि आयोगले सबै घटनालाई एकै ठाउँमा राखेर अनुसन्धान थालेको आयोग सदस्य गोविन्द पौड्यालले जानकारी दिए । ‘प्रहरीले गरेको इन्काउन्टर एकै किसिमको देखिन्छ,’ आयोग सदस्य पौड्यालले भने, ‘समान प्रकृतिको घटना भएकाले सबैलाई एकै ठाउँमा राखेर अध्ययन तथा अनुसन्धान भइरहेको छ ।’

    आयोगले अब एक महिनामा सबै घटनाको इन्काउन्टरको रिपोर्ट सार्वजनिक गर्दै घटनामा दोषी ठहर भएमा कारबाहीका लागि सरकारसमक्ष सिफारिस गर्ने आयोग सदस्य पौड्यालले बताए ।

    घटनाको सत्यतथ्य सार्वजनिक गर्न आयोगले विज्ञ समूह गठन गरिसकेको छ । निःशस्त्र अवस्थामा रहेको व्यक्तिले गोली कसरी चलाउन सक्छन् भन्ने विषयमा पनि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

    ‘घटना कसरी हुन गयो भनेर त्यहाँको वस्तुस्थितिको पनि अनुसन्धान हुनेछ,’ सदस्य पौड्यालले भने, ‘व्यक्तिलाई नियन्त्रण गर्न सक्ने अवस्था थियो कि थिएन, गोली हान्नुपर्ने अवस्था किन आयो भन्ने विषयमा पनि अनुसन्धान हुनेछ ।’

    इन्काउन्टर भनेर निःशस्त्र अवस्थामा व्यक्तिको हत्या राज्यले गर्न पाउँछन् कि पाउँदैनन् भन्ने विषयमा पीडित परिवारले उजरीमा प्रश्न उठाएको र परिवारले उठाएका सबै प्रश्नलाई ध्यानमा राख्दै आयोगले सूक्ष्म अनुसन्धान थालेको पौड्यालले बताए ।

    भक्तपुरमा अपहरण गरी बालकको हत्या गर्ने दुई युवाको इन्काउन्टरका विषयमा आयोगले फोरेन्सिक र ब्यालेस्टर विशेषज्ञको सल्लाह लिने काम गरिरहेको छ । विशेषज्ञ टोली गठन गरेर आयोगले सबै घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए । इन्काउन्टर घटनाको अनुसन्धानका लागि नास्टका दिनेश झाको नेतृत्वमा तीन सदस्य विज्ञ समिति गठन गरेको आयोगले जनाएको छ । अनुसन्धान टोलीको सदस्यमा पूर्वसहन्यायाधीवक्ता नरेन्द्र पाठक र पूर्वएआईजी विज्ञानराज शर्मा छन् ।

    चार वर्षअघि २१ साउन २०७१ मा काठमाडांैको भीमढुंंगामा प्रहरी इन्काउन्टरमा गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ मारिए । राजनीतिको आडमा संगठित अपराधमा संलग्न गुन्डा नाइकेको सफाइ गर्ने उद्देश्यले प्रहरीले इन्काउन्टर ग¥यो । प्रहरीको इन्काउन्टरपछि अधिकारी परिवारले व्यक्तिलाई निःशस्त्र अवस्थामा समातेर मारेको भन्दै अनुसन्धान माग गर्दै मानवअधिकार आयोगमा उजुरी दिएका थिए ।

    दोस्रो इन्काउन्टरको सिकार बनाइएका गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैटे’ लाई काठमाडांैको सामाखुसीमा ३ भदौ २०७२ मा मारियो । उनले आफूलाई प्रहरीबाटै असुरक्षा भएको भन्दै मारिनुभन्दा एक महिनाअघि नै मानवअधिकार आयोगमा उजुरी दिएका थिए । उजुरी दिएको एक महिनामा प्रहरीको इन्काउन्टरमा श्रेष्ठ मारिए । प्रहरीले आफूहरूमाथि गोली प्रहार गरेकाले जवाफी कारबाहीमा श्रेष्ठ मारिएको दाबी गर्दै आएको छ । घटना भएको समयमा प्रत्यक्षदर्शी दुईजना घाइते भएका छन् । श्रेष्ठ परिवारले प्रहरीले पक्राउ गरेर हत्या गरेको भन्दै प्रहरी अधिकारीविरुद्ध आयोगमा छानबिनका लागि उजुरी दिएको छ ।

    भक्तपुरमा ११ वर्षीय बालक निसान खड्काको अपहरणपछि हत्यामा संलग्न दुईजनालाई गरेको इन्काउन्टरको विषयमा आयोगले अनुसन्धान अगाडि बढाएको छ । अपहरणपछि हत्यामा संलग्न गोपाल तामाङ र अजय तामाङको इन्काउन्टरपछि परिवारले मानवअधिकार आयोगमा प्रहरी अधिकारीमाथि छानबिन तथा अनुसन्धान गर्न उजुरी दिएको आयोगका सदस्य पौड्यालले बताए । ‘घटनाको प्रकृति सबै समान किसिमका देखिन्छन्,’ आयोग सदस्य पौड्यालले भने, ‘घटनास्थलको मुचुल्का, प्रत्यक्षदर्शीको भनाइ र पोस्र्टमार्टम रिपोर्टसमेत आयोगले अनुसन्धान गर्न लागेको छ ।’

    त्यस्तै, २३ साउन २०७४ मा ललितपुरको कुसुन्तीमा लागूऔषध कुलतमा फसेका युवक प्रवीण खत्रीको इन्काउन्टर घटनाको विषयमा पनि आयोगले अनुसन्धान अगाडि बढाएको छ । राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…