• काभ्रेपलाञ्चोक, २०७५ चैत्र ६ बुधवार

    पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले जनताको बलिदान खेर नगएको बताउनुभएको छ । जनसांस्कृतिक महासङ्घ नेपालद्वारा आज काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका–१ अनैकोटस्थित दाहालगाउँमा आयोजित २१ औँ शहीद दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै शहीदको बलिदानीका कारण आजको परिवर्तन सम्भव भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “बलिदान खेर गएको छैन, आजको परिवर्तन शहीदको सपनाको फल हो ।” उहाँले नेकपाले शहीद परिवारप्रति सम्मान व्यक्त गर्दै आएको र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पूर्वप्रम खनालले ७० को दशक पार्टी एकीकरण र शुद्धिकरणको दशक भएको बताउनुभयो । “पार्टी एकताको विकल्प छैन”, उहाँले भन्नुभयो, “अब नेकपा एक भएर ठूलो शक्तिका रुपमा स्थापित हुन्छ, नेपालमा अब योबाहेक कुनै शक्तिशाली पार्टी हुँदैन ।” उहाँले पूँजीवादबाट मुक्त हुन नेतालाई आग्रह गर्नुभयो ।



    पूर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्केको केही दिनमै पार्टी एकताको टुङ्गोे लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक प्रतिवेदन पनि तयार हुँदैछ, अध्यक्ष कमरेड आएपछि सबै टुङ्गो लाग्नेछ ।”

    पूर्वमन्त्री एवं नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले शहीदको बलिदानीबाट प्राप्त उपलब्धीलाई रक्षार्थ संस्थागत गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एकताबद्ध भएर प्राप्त उपलब्धीलाई संस्थागततर्फ लाग्नुपर्छ ।” नेकपा स्थायी समिति सदस्य मणि थापाले जनताभन्दा ठूलो कुनै शक्ति नभएकाले जनताकै शक्तिलाई सर्वोपरी मान्नुपर्ने बताउनुभयो ।

    नेकपा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, प्रदेश सांसद लक्ष्मण लम्साल, जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष सरल सहयात्री, संयोजक खगेन्द्र राई र कोषाध्यक्ष प्रगति महराले शहीदको योगदानबारे चर्चा गर्नुभएको थियो ।

    स्रष्टा सम्मान



    जनसांस्कृतिक महासङ्घ नेपालद्वारा आज काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका–१ अनैकोटस्थित दाहालगाउँमा आयोजित २१ औँ शहीद दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान आयोजना गरी विविध विधाका आठ जना स्रष्टालाई सम्मान गरिएको छ ।

    कार्यक्रममा नेता खनालले दीर्घ सेवातर्फ जेबी टुहुरे, सङ्गीततर्फ खुसीराम पाख्रिन (मरणोपरान्त), साहित्य कन्ता शर्मा, चलचित्रतर्फ प्रेम सुब्बा, नाटकतर्फ कृष्णभक्त महर्जन, गायनतर्फ कर्णबहादुर परियार ‘विद्रोही’, ललितकलातर्फ नगेन्द्र भण्डारी र नृत्यतर्फ शान्ति कठायत ‘प्रतिक्षा’लाई सम्मान गर्नुभएको हो ।

    महासङ्घले सशस्त्र द्वन्द्वताका २०५५ साल चैत ५ गते अनैकोटस्थित एक घरमा बसिरहेका बेला सुरक्षाकर्मीको गोलीबाट जनकलाकार च्याङ्वा लामा, चिनिमाया लामा, गुम्बासिं तामाङ, निर्मला देवकोटा, डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा र मञ्जु कुँवरको मृत्यु भएको सम्झनामा अनैकोटमा शहीद दिवस मनाउँदै आएको छ ।

    उनीहरुको सम्झनामा राखिएको शहीद–स्तम्भको पूर्वप्रम एवं वरिष्ठ नेता खनालले आजै अनावरण गर्नुभयो । कार्यक्रममा शहीदसम्बन्धी गीत, नृत्य तथा कविता प्रस्तुत गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…