काठमाडौँ, चैत ६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्लो तहको एकता प्रक्रिया केही दिन लम्बिने भएको छ । यसै सातादेखि एकता विषयमा छलफल हुने भनिएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जानु भएपछि एकता प्रक्रियामा एकसाताका लागि लम्बिएको हो । उहाँको भ्रमण सातदेखि १० दिनसम्म रहेको छ । अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्केपछि मात्र सचिवालयको बैठक बस्ने भएको छ ।
सचिवालयका सदस्य वामदेव गौतमले भन्नुभयो, ‘एकताको विषयमा पार्टीमा कुनै छलफल भएको छैन । कार्यदलले हालसम्म प्रतिवेदन पनि बुझाएको छैन । अब अध्यक्ष प्रचण्ड अमेरिकाबाट नफर्केसम्म सचिवालयको बैठक बस्दैन होला ।’
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जेठ ३ गते एकीकरण भएको थियो । मूल कमिटी मात्र एकीकरण गरेका नेकपाले सम्पूर्ण एकता प्रक्रिया तीन महिनाभित्र टुङ्गो लगाउने निर्णय गरेको थियो । त्यसका लागि विभिन्न कार्यदल पनि बनाइएको थियो तर लामो समयसम्म कार्यदलले एकता प्रक्रिया टुङ्ग्याउन सकेन ।
त्यसपछि सम्पूर्ण एकता प्रक्रिया र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँटको विषयमा टुङ्गो लगाउने जिम्मेवारी सचिवालयले लिएको छ । पछिल्लो समय सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा गठन भएको कार्यदलले बुझाएको प्रतिवेदनमाथि सचिवालयले छलफल पनि शुरु गरेको छैन ।
गृहमन्त्री थापाको कार्यदलले जेजति काम गरेको थियो । सोही आधारमा सचिवालयलाई प्रतिवेदन बुझाइसकेको छ । थापा नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाएपछि कार्यदलका असन्तुष्ट नेताहरूले पनि एउटा छुट्टै प्रतिवेदन बुझाउनु भएको छ ।
सचिवालयमा दुवै प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । अध्यक्ष प्रचण्ड अमेरिका जानुअघि नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकताको विषयमा छलफल गर्नुभएको थियो ।
पूर्वएमालेले ४५ वटा जिल्ला र पूर्वमाओवादी केन्द्रले ३२ वटा जिल्ला लिने गरी प्रधानमन्त्री ओलीले प्रस्ताव गर्नुभएको छ तर अमेरिकाबाट फर्केपछि मात्र त्यसमा छलफल गर्ने भनी प्रचण्ड अमेरिका जानु भएको पार्टी स्रोतले जनाएको छ ।