काठमाडौं। महासमिति बैठकले पारित गरेको विधान विपरित सभापति शेरबहादुर देउवाले बहुमतको आडमा केन्द्रीय समितिबाट आफू अनुकुल पारित गरेपछि अन्तुष्ट बनेका कांग्रेस जिल्ला सभापतिहरुले जिल्ला सभापतिहरूको राष्ट्रिय भेलाको तयारी थालेका छन्।
११ जिल्लाका जिल्ला सभापतिहरूले केन्द्रीय समितिले आफूअनुकूल हुने गरी विधानलाई तोडमोड गरेर पारित गरेको भन्दै २० देखि २५ चैतभित्रै सभापति मंगलरबा भेला गर्ने निर्णय गरेका हुन्। पार्टीभित्र सभापति देउवाले बहुमतको आधारमा एकल निर्णय गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधरले विरोध जनाउँदै आएका छन्।
१२ फागुनमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको विधानलाई बहुमतका आधारमा पारित गरेको थियो। जिल्ला सभापतिहरूले विधानमा केन्द्रीय तहका नेताहरू महाधिवेशन प्रतिनिधि बन्न बुथ तहबाटै निर्वाचित हुनुपर्ने गरी व्यवस्था गर्न माग गर्दै आएका थिए। यस्तै एकपटक भन्दा बढी समानुपातिक तथा समावेशी कोटाबाट कुनै पनि पदमा उम्मेदवार बन्न नपाइने गरी विधानमा नै व्यवस्था गर्न भनेका थिए।
तर केन्द्रीय समितिले भने महासमितिबाट समेत पास भएको सो विषयलाई केन्द्रीय समितिबाट उल्टाउँदै सभापतिहरू र महासमितिको म्यान्डेटविपरीत निर्णय गरेको जिल्ला सभापतिहरूले आरोप लगाउँदै आएका छन् ।
यसअघि पनि ५६ जिल्लाका सभापतिहरुले महासमिति बैठकले पारित गरेको विधानलाई केन्द्रीय समितिले तोडमोड गरी पारित गरेको भन्दै विरोध जनाएका थिए। उनीहरुले केन्द्रीय समितिले पारित गरेको विधान नसच्याए विशेष महाधिवेशन बनाउने चेतावनीसमेत दिएका थिए।
कांग्रेस विधानमा २५ प्रतिशत जिल्ला सभापतिले हस्ताक्षर गरी विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था छ। केन्द्रीय कार्यसमितिमा सभापति देउवा पक्षको बहुमत भएपनि बहुमत भन्दा धेरै जिल्लासभापति संस्थापन पक्ष इतरका छन्।
मंगलबार भएको छलफलमा भने खोटाङका सभापति नरेशकुमार श्रेष्ठ, काभ्रेका मधु आचार्यलगायत ११ जिल्लाका सभापतिको उपस्थिति भएको जनाइएको छ । कांग्रेसले बहुमतबाट महासमिति बैठकको म्यान्डेटविपरीत विधान अनुमोदन गरेपछि अधिकांश जिल्ला सभापति असन्तुष्ट छन् ।