गलकोट, ६ चैत
देशभर होलीको रौनक छाइ, युवायुवती ‘ह्यापी होली–ह्याप्पी होली’ भरिहेका बेला बागलुङ सदरमुकाम बागलुङ बजारमा ३०० वर्ष पुरानो फागु गीत गाउँदा छुट्टै रौनकता छायो ।
मजाको फागुन जानै मा लाग्यो, धड्कन लाग्यो छाती हो....
औँला काटी कलम बनावे रगतके मसिया बनावे... यै हो....
हाय हाय रगत के मसिया बनावे सखियाँ । धड्कन लाग्यो छाती हो....
मजाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो....
होलीका अवसरमा आज बागलुङ बजारमा गाइएको यही ऐतिहासिक फागु गीतले युवायुवतीदेखि बुढाबूढीसम्मको ध्यान तान्यो । परम्परालाई संस्थागत गर्ने उद्देश्यले ‘नेपाल भाषा मङ्का खल’को आयोजनामा बागलुङ बजारमा ३०० वर्ष पुरानो फागु गीत गाइएको हो । होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको समयमा मौलिक पहिचान दिने पुरानो फागु गीत गाउँदा युवायुवती आश्चर्यमा परे । नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा लिपिबद्ध छ ।
“फागु गीतमा बलि राजा, विष्णु, महादेव, गणेश, लक्ष्मण, दशरथ, भीमसेन र इन्द्रै जो आए पनि फागुको मजा लिन्छाँै फागुको राग लिन्छौँ गाउँछौँ,” महिला पुरुषबीचको मायाप्रेम, कृष्ण र गोपीनीबीचका माया पिरतीलगायतका भाव गीतमा समावेश गरिएको नेपाल भाषा मङ्का खल बागलुङका सल्लाहकार महेशचन्द्र प्रधानले बताउनुभयो ।
“हामीले संस्कृतिको प्रवद्र्धन गर्न होलीका अवसरमा निकै पुरानो फागु गीत गाउँदै आएका हाँै”, उहाँले भन्नुभयो, “मनका भावनालाई वसन्त राग शैलीमा रङ््याउने गीत नै फागु गीत हो ।” केही वर्षअघिसम्म शहरबजार र गाउँघरमा फागु पूर्णिमा भनेर बोलिने रङ र आत्मीयताको पर्व अहिले होली भएसँगै परम्परागत महिमा र रौनक हराउँदै गएकोप्रति बागलुङको नेवार समुदाय चिन्तित छ ।
फागु पूर्णिमाको मौलिकता हराउँदै गएपछि यहाँको नेवार समुदाय एकजुट भएर होली पूर्णिमाको दिन फागु गीत गाउँदै आएको नेपाल भाषा मङ्का खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । “फागु पूर्णिमाको मौलिकता जोगाउनु हामी सबैको दायित्व हो”, उहाँले भन्नुभयो ।