देबु बानियाँ
बाहुनडाँगी । पश्चिम जिल्लाको टिकापुर जेसीजले होली पर्वलाई विशेष दिनका रुपमा मनायो । देशकै प्रख्यात देउडा गीतको संरक्षण र प्रचारप्रसार गर्दै यस शाखाले होलीलाई देउडा गीतसँग जोड्दै दिनभर रमाइलो गरे । शाखाका अध्यक्ष, पूर्व अध्यक्षहरु तथा विभिन्न व्यक्तिहरुले उक्त प्रख्यात देउडा गीतलाई भाका हालेर गाए अनि सँगै नाचे पनि ।
यता पूर्वी मोरङको पथरी जेसीजले चर्चित युवा गायक निशान भट्टराईलाई ल्यायो । बेलबारी जेसीजले चर्चित गायक प्रमोद खरेललाई मोरङमा उतार्यो । यी दुई चर्चित गायकले मोरङका युवा जमातलाई राम्रै नचाए अनि होलीको रंगले रंगाउने पनि काम गरे ।
पहाडी क्षेत्रको प्रस्तावित धनकुटा लेडी जेसीजले अपाङ्गता भएका बच्चाहरुसँग होली खेले । इटहरी जेसीजले हिन्दु र मुस्लिम समुदायलाई एकै ठाउँमा भेला गरेर होलीमा रमाए ।
यी सबै प्रतिनिधि पात्र मात्र हुन् । पूर्वी झापाको बाहुनडाँगी जेसीजदेखि पश्चिमको सुर्खेत लेडीसम्मका देशभरका १ सय ५० वटै शाखाले बुधवार र विहिवार दुई दिन होलीलाई हर्साेल्लासका साथ मनाएका छन् । यस समचारमा सबै शाखाहरुको नामवलीलाई लेख्न नसके पनि हामी सबैलाई थाहा छ देशको सिंगो जेसीज होलीको रंगमा रंगियो ।
पहाडी जिल्लाहरुमा बुधवार होलीलाई मनाए भने तराईमा बिहिवार मनाएका छन् ।
नेपाल जेसीजसँग आबद्ध रहेका देशभरका शाखाले यस वर्षको होलीलाई सद्भाव र प्रेमको प्रतिकका रुपमा मनाएको छ । कसैले शुभकामनासहित एक आपसमा रंग अबिर दलेर होली मनाए भने धेरै शाखाहरुले समाजमा रचनात्च्मक कार्य गरेर होली मनाए । जसरी जुन रुपमा मनाए पनि सिंगो देशका करिब २० हजार युवाहरु एकै साथ होलीको रंगमा रंगिएका छन् । देशका विभिन्न शाखाहरुले गरेको होली मिलन कार्यक्रम सायद अन्य संस्थाहरुमा हुन्न जहाँ सबैले एकै साथ एकै प्रकृतिले मनाएको छ ।
नेपाल जेसीजका निवर्तमान कार्यकारीणी उपाध्यक्ष अशोक शंकरले जेसीजले होली पर्वलाई विषेश पर्वका रुपमा लिएर हरेक वर्ष यसरी नै मनाउँदै आएको बताउनु भयो । उहाँले यस पर्वले सबै जेसीज मनहरुमा खुसीयाली ल्याओस भन्दै देशभर हर्साेल्लासका साथ मनाउँदै आएको बताउनु भयो ।
देशभरका शाखाका सदस्य, अध्यक्ष, पूर्व अध्यक्ष तथा स्थानीयहरुसँग खुलेर रंग खेले अनि सबैलाई खुसीयाली साटासाट गरेका छन् ।