ललितपुर । लिम्बु विद्यार्थीहरुको सामाजिक संस्था लिम्बु विद्यार्थी मञ्चले आफ्नो २१ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
बुधबार चुम्लुङ हिम् ललितपुरमा भएको कार्यक्रममा मञ्चले १५ जनालाई सम्मान गरेको छ । सम्मानीत हुनेहरुमा ११ जना शाखा अधिकृत जोन थलङ(आठराई त्रिबेर्णी, ताप्लेजुङ), श्यामबहादुर ओख्राबु(मेरिङदेन, ताप्लेजुङ), उदय प्रकाश फुरुम्बो(फुङ्लिङ, ताप्लेजुङ), लोकेन्द्र फागो(चुलाचुली इलाम), मनकुमार थलङ(पाँचरुपन, संखुवासभा), प्रकाश योङहाङ(शिवसताक्षी, झापा), लक्ष्मी सुहाङ(हिलिहाङ, पान्थर), विशाल नेम्बाङ(ललितपुर), किरण मादेम्बा(फेदाब, तेह्रथुम), सुनिल थाम्देन(विरेन्द्रनगर, सुर्खेत), प्रवीण संयोक्पा(धरान, सुनसरी) छन् ।
भने सूचना प्रविधि(आइटी) अधिकृत डम्बर कुमार वनेम(चैनपुर, संखुवासभा), सेकेन्ड लेफ्टेन सरोज लक्सम(शिवसताक्षी, झापा), बाल नव प्रतिभाद्वय मनिस माखिम(मिक्लाजुङ, पान्थर) र माङ्गेना कुरुम्बाङ(फाल्गुनन्द, पान्थर) छन् । बाल नब प्रतिभाद्वयालाई प्रशंसा पत्र सहित जनही नगद १५÷१५ हजार सहयोग रकम हस्तान्तरण गरिएको थियो । सो रकम शोविता लिङदेन आङदेम्बे (यूके)बाट १० हजार, नुनाम मादेन (ललिगुरास नगरपालिका ३ तेह्रथुम) बाट ५ हजार, नियरा मादेन (ललिगुरास नगरपालिका ३ तेह्रथुम) बाट ५ हजार, नोगेन लिम्बु (महेषपुर ४ झापा, हाल मलेशिया) ५ हजार, बसन्त एक्तेन (सोयाक, इलाम हाल सउदी)बाट ५हजार संस्थालाई सहयोग प्राप्त भएको थियो । अन्य १३ जनालाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अथिति लेखक तथा बुद्धिजिबि खगेन्द्र संग्रौलाले अधिकार मागेर नपाउने भन्दै स्वायत्तताको लागि अर्थपूर्ण लडाइ लड्नुपर्ने बताएका छन् । ‘मानब सम्भताको इतिहासमा उत्पीडितहरुले मालिकका अगाडि हात पसारेर पाएको इतिहास छैन । अधिकार प्राप्तका लागि लड्नु पर्छ । एक्लै लडेर हुदैन ।’ उनले भने, ‘उत्पीडितहरु एक भएर लड्नु पर्छ । जनजाति, मदेसी,थारु मदेसी मुस्लिम सबै उत्पीडित एक हुनुपर्छ ।’
किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम, याक्थुङ युवा मञ्चका उपाध्यक्ष मानध्वज इस्बो, किरात याक्थुङ चुम्लुङ जापानका सल्लाहकार शिसिर निङ्लेखु, मञ्चका पूर्व सचिव सुभास लाबाङ, लिम्बु साँस्कृतिक परिषद्का अध्यक्ष गोविन्द आङबुङ, लिम्बुवान स्प्रिङ रेभुलेसनका अभियन्ता टंक सेलिङलगायतले सम्बोधन गरेको थियो । गायकद्वय जेपी नेम्बाङ, लेखनाथ चेम्जोङ, बाल प्रतिभाद्वय माङ्गेना, मनिष, कवित्रय त्रिविका अध्यक्ष विपना तिगेला, आरआर अध्यक्ष कविन्द्र सम्बाहाङफे, पूर्णिमा तिगेलाले रचना बाचन गरेकोको कार्यक्रममा केःलाङ पनि प्रस्तुत गरिएको थियो ।
ताप्लेजुङमा मञ्चले जिल्ला अस्पतालमा विरामीहरुलाई फलफुल वितरण गरेर मनाएको छ । फिदिम, पान्थरमा वर्तमान समयमा लिम्बु विद्यार्थी मञ्चको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । यासोक क्याम्पसमा भने खुल्ला लिम्बु नृत्य तथा गायन प्रतियोगिता गरी मनाएको छ ।
लिम्बू विद्यार्थी मञ्च इलामले २१ औं स्थापना दिवस शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा शुभकामना दिदैं वक्ताहरुले लिम्बू विद्यार्थी मञ्चले अहिलेसम्म संचालन गरेको विभिन्न अभियान र योगदानको चर्चा गर्दै परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए । उनीहरुले भाषा, लिपि र संस्कृतिको संरक्षणमा लिम्बू विद्यार्थी मंचले गरेको योगदानको प्रशंसा गरेका थिए ।
वक्ताहरुले लिम्बू विद्यार्थी मंचले विगतमा गरेको कामको समिक्षा गर्दै आगामी दिनमा अघि बढ्न सुझाव दिएका थिए । लिम्बू समुदायको पृथक पहिचानको अध्ययन र अनुसन्धानमा ध्यान दिन समेत सुझाव दिएका थिए । विद्यार्थी वर्ग सचेत समूह भएको भन्दै समुदायलाई एकीकृत गरी अगाडी बढ्न सुझाव समेत दिएका थिए ।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रिय उपाध्यक्ष यामप्रसाद लिम्बू, लिम्बू विद्यार्थी मंचका केन्द्रीय सदस्य गुल्सन आङ्बुहाङ, लिम्बू विद्यार्थी मंच इलामका सल्लाहकार मोहनसिंह थेवे, किरात याक्थुङ चुम्लुङ इलामका अध्यक्ष गायत्री थेगिम, याक्थुङ फासिङ सजुमका अध्यक्ष बखतबहादुर आङ्देम्बे, नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज) का अध्यक्ष राम योङहाङले शुभकामना मन्तव्य राखेका थिए ।
लिम्बू विद्यार्थी मंच इलामका अध्यक्ष अतीत योङहाङको अध्यक्षता र केन्द्रीय सदस्य रामकुमार लिङदमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा विभिन्न शाखा समिती रहित ५० बढी लिम्बू विद्यार्थी सहभागिता थियो । लिम्बू विद्यार्थी मंचका उपाध्यक्ष सन्तोष लिङ्दमले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन अस्मी येक्तेनले गरेकी थिइन् ।
लिम्बू विद्यार्थी मञ्च दमक क्याम्पस शाखा समिति (दमक, झापा) को आयोजनामा दमक बहुमुखी क्याम्पसमा पनि मञ्चको २१ औँ स्थापना दिवस मनाइएको छ । मञ्चका केन्द्रिय उपाध्यक्ष बुद्धहाङ थाम्सुहाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लिम्बू विद्यार्थी मञ्चका केन्द्रिय सचिव युवाहाङ तुम्बाहाम्फे, लिम्बू विद्यार्थी मञ्चका केन्द्रिय सदस्य मनकुमार लिम्बू, राई विद्यार्थी संघका झापा जिल्ला अध्यक्ष सुनिल हताछोलगायत विभिन्न सामाजिक विद्यार्थी संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
‘मातृभाषामा व्यवहारिक शिक्षा हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वयत्त लिम्बुवान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा वक्ताहरुले नेपालका आदिवासी जनजाति समुदायका मानिसहरु पनि अन्य समुदाय सरह सक्षम रहेको बताएका थिए । कार्यक्रममा बोल्दै लिम्बू विद्यार्थी मञ्चका केन्द्रिय सदस्य मनकुमार लिम्बूले सरकारको नीतिमा विभेद देखिएको आरोप लगाए ।
किरात राई विद्यार्थी संघ झापा जिल्ला अध्यक्ष सुनिल राईले आदिवासी जनजाति विद्यार्थीको अक्षय कोषको रकम दमक क्याम्पसले दिन नचाहेको आरोप लगाए । विभिन्न वहाना बनाएर क्याम्पस प्रसासन भाग्ने प्रयासमा रहेको भन्दै उनले त्यो हुन नदिने पनि बताए ।
कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक झाँकी, विभिन्न नृत्य तथा रचनाहरु समेत प्रस्तुत गरेका थिए ।
२१ औ स्थापना दिवसको अवसरमा पथरी बहुमुखी क्याम्पस पथरी, मोरङमा शुभकामना आदानप्रदान, चियापान तथा होलि बिशेष कार्यक्रम मनाएको छ ।