काठमाडौं, ८ चैत । लामो समयदेखि मधेशको क्षेत्रीय राजनीति गर्दै आएका मधेशवादी दलहरुको प्रभुत्व त्यस क्षेत्रमा अन्त्य हुने संकेत देखिन थालेको छ ।
छोटो समयमै मधेशको राजनीतिमा आफूलाई स्थापित गर्न सफल सिके राउतले नयाँ दलको घोषणा गरेपछि क्षेत्रीय राजनीति गर्दै आएका पुराना दलहरु संकटमा पर्ने सम्भावना बढेर गएको हो ।
यसले राष्ट्रिय राजनीतिमा समेत नयाँ तरंग पैदा गरि दिएको छ । बहुदलीय प्रजातन्त्र पुर्नस्थापनापछि गजेन्द्र नारायणसिंह नेतृत्वको नेपाल सद्भावना पार्टीले एकछत्र राज गरेको तराईमा २०६३ यता उपेन्द्र यादव र महन्थ ठाकुर नेतृत्वका दुई दलले आफूलाई प्रतिस्पर्धीका रुपमा उभ्याएका थिए ।
त्यस यता मधेश राजनीतिको बाछिटोमा थुप्रै नेता भिज्न पुगे पनि उनीहरुको अस्तित्व अहिले समाप्त भइसकेको छ ।
गजेन्द्रनारायणको सद्भावनादेखि अन्य सबै दलहरु एकीकृत भएर राष्ट्रिय जनता पार्टीको गठन भएको छ भने विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरमलाई नेपाली कांग्रेसको पोल्टामा सुम्पिएर उनी त्यसैको उपसभापति बनेका छन् ।
त्यसो भएर अहिले मधेशमा आफ्नो वर्चश्व स्थापित गरेका संघीय समाजवादी फोरम नेपाल र राजपाका लागि राउतको नयाँ पार्टी टाउको दुआइको विषय बन्न पुगेको छ । केही साता अघिदेखि मात्र राजनीतिक मुलधारमा आएका डा.राउत नेतृत्वको राष्ट्रिय परिषद् बैठकले जनमत पार्टी गठन गर्ने निर्णय सोमबार मत्र गरेको हो ।
बैठकले ३५ सदस्यीय कार्यकारिणी समिति बनाएको छ । सिरहा जिल्लाको लहान ७ मा बसेको राष्ट्रिय परिषद् बैठकले स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५ फागुन २४ गते भएको ११ बूँदे सहमतिलाई ऐतिहासिक तथा मधेशी जनताको लागि अभूतपूर्व उपलब्धि भएको घोषित गर्दै सहमतिलाई स्वागत गरेको थियो ।
विभिन्न जिल्लाबाट १५० भन्दा बढी प्रतिनिधिहरु बैठकमा सहभागी थिए । त्यसैगरी बैठकले जनताको हक र अधिकारका लागि संघर्ष गर्न नेपालको संविधानभित्र रहेर पार्टी स्थापना गरी अगाडि बढ्ने निर्णय गरेको छ ।
पार्टीको झण्डामा क्रमश : रातो, सेतो र हरियो रंगको ठाडो धर्का (स्ट्रीप) बीचमा बीचको सेता स्ट्रीपमा रातो रंगको अष्टदल रहने निर्णय गरेको छ । पार्टीको चुनाव चिन्हमा अष्टदललाई राख्ने गरी निर्वाचन आयोगमा निवदेन दिने निर्णय पनि बैठकले गरेको छ ।
डा.राउतको अध्यक्षतामा गठित सो पार्टीका केन्द्रीय सदस्यहरुमा महोत्तरीबाट सञ्जय यादव, कैलाश महतो र चन्दन सिंह, सिरहाबाट सतिला यादव र राजकुमार यादव, बर्दियाबाट अब्दुल खान, सप्तरीबाट बबिता इसर, झापाबाट कौशिला महतो, मोरङबाट परमेश्वर मुर्मु, सुनसरीबाट सीताराम पण्डित र आशा मेहता, धनुषाबाट इन्द्रजीत यादव, सर्लाहीबाट नरेश कुशवाहा, रौतहटबाट वीरेन्द्र साह बाराबाट दिनेश यादव, पर्साबाट सञ्जय साह, नवलपरासीबाट दुर्गा चौहान र ध्रुव गौड, रुपन्देहीबाट भोपेन्द्र यादव, कपिलवस्तुबाट हकिकुल्ला खान, दाङबाट राधा यादव, बाँकेबाट इरफान अहमद शेष र कैलालीबाट महेन्द्र प्रसाद चौधरी रहेका छन् ।
बाँकी १० जना सदस्यहरुमध्ये महिला, दलित, जनजाति, अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी मनोनित गर्न जिम्मेवारी सर्वसम्मतिले पार्टीका अध्यक्षलाई दिइएको छ ।
त्यसैगरी बैठकले स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा यहीँ फागुन २४ गते भएको ११ बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णयका साथ चन्दन सिंहको संयोजकत्वमा ३ सदस्यीय सहमति कार्यान्वयन समितिलाई बनाएको छ ।
त्यसका साथै प्रहरी हिरासतमा मारिएका बाँके जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमति अनुसार क्षतिपूर्ति तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउने पहल अविलम्ब थाल्न पनि सोही समितिलाई जिम्मेवारी दिइएको रहस्यमा उल्लेख छ ।
जनमत पार्टीको गठनसँगै जनमत जुटाउन जनता समक्ष जाने र जनमतबाटै संवैधानिक रुपमा नै जनताको समस्या, माग, हकहित र अधिकारको लागि अनवरत समर्पित र निस्वार्थ भावले संघर्षरत रहने बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।