सुरेश शर्मा
लेटाङ÷डिभिजन बन कार्यालय मोरङले साता व्यापी बन डढेलो व्यवस्थापन जनचेतना कार्यक्रम गरीरहेको बेला लेटाङमा भने डढेलोले बन क्षेत्र सखाप बनाएको छ ।
सामुदायिक बन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा सम्बन्धीत निकायले समयमा चासो नदिदाँ लेटाङको वडा नम्बर ४ र ५ नम्बर क्षेत्रमा रहेका २ बटा सामुदायिक बन समुहले रेखदेख गर्दै आएको सयौ हेक्टर बन क्षेत्र डढेलोले बिनास गरेको हो ।
शनिबार सब डिभिजन बन कार्यालय लेटाङले “बन डढेलो व्यवस्थापन जनचेतना सप्ताह २०७५”को आयोजनामा गर्न लागिएको र्याली कार्यक्रमको तयारी भैरहेको बेलामा ति समूहको बन क्षेत्रमा भने बिरुवाहरु आगोले नष्ट गरिरहेको थियो । स्रोतका अनुसार गत दुईदिनदेखि त्रिबेणी सामुदायिक बन क्षेत्रमा लागेको डढेलो समयमा नियन्त्रण नगरिएको कारण डढेलो बढ्दै गएर दुईबटा बन समूहमा लाखौको क्षती भएको हो ।
डढेलोले उग्ररुप लिएपछि शनिबार बिहान नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बल तथा सुन्दर हरैचा र ईटहरी नगरपालिकाका २ बटा दमकलको सहयोगमा स्थानियबासीले डढेलो नियन्त्रण गरेका छन् । डढेलो नियन्त्रणको लागि बिहान ९ बजेदेखि इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी नायब निरिक्षक डोर बहादुर कटुवालको नेतृत्वमा १५ जना, पूर्बी पृतना तालिम शिक्षालय लेटाङका सहसेनानी सन्तोष रानाभाटको नेतृत्वमा ५० जना र शनिश्चरे बेस क्याम्प बाट ७ जनाको शसस्त्र प्रहरी बलको टोली र दमकल टोली तथा सयौको स्थानियको पहलमा करिब २ घण्टाको समयमा डढेलोलाई नियन्त्रणमा लिन सफल भएको थियो ।
डढेलोको कारण कति बिरुवा नष्ट भए भन्ने यकिन तथ्याङ्क आई नसकेको लेटाङ नगरपालिका वडा नम्बर ४ का वडा सदस्य एमब् जनसेवा सामुदायिक बन समुहका भीष्म श्रेष्ठले जानकारी दिए ।