बुटवल– कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको मनपरीविरुद्ध नेपाली कांग्रेसले सडक र सदन तताउने भएको छ ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले पेस गरेको राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक कुनै हालतमा सदनबाट पास हुन नदिने बताएका छन् । संविधान विपरीत प्रधानमन्त्रीले सेनालाई आफू अनुकुल परिचालन गर्ने गरी विधेयक निर्माण गरेकाले कांग्रेसले त्यसलाइ कुनै पनि हालतमा पास हुन नदिने उनको भनाई छ ।
कांग्रेस तिलोत्तमा नगरपालिका–८ ले रुपन्देहीको सूर्यपुरामा आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै पूर्वरक्षामन्त्री समेत रहेका खाँणले राष्ट्रिय अखण्डता र स्वाधिनता जोगाउन महत्त्वपूर्ण योगदान गरेको नेपाली सेनालाई कमजोर पार्न खोजिए सदन र सडकबाट एकैसाथ आन्दोलन गर्ने बताए ।
प्रधानमन्त्रीले भएभरको शक्ति आफूसँग राखेर राष्ट्रियतालाई कमजोर पार्न खोजेको आरोप लगाउँदै उनले भने, ‘सबैलाई कमजोर पारेर जे मन लाग्यो त्यही गर्न पाइँदैन र त्यसो गर्न दिँदैनौं ।’
प्रधानमन्त्री ओलीलाई एउटा भूगोलमा बसेर अर्को भूगोलका जनतामाथि लाल्छना लगाउने व्यक्तिका रुपमा चित्रण गर्दै नेता खाँणले सीके राउतसँग पनि अत्यन्तै गैरजिम्मेबार ढगंबाट सम्झौता गरिएको उल्लेख गरे । सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर देशमा द्वन्द्व र मुठभेट निम्त्याएको टिप्पणी गरे। एउटा शक्तिलाई उत्तेजित बनाएर बमबारी गराउन, काटमार र हिंसा मच्चाउनका लागि प्रतिबन्धको नीति लिइएको आरोप नेता खाँणले लगाए । ‘देशमा विध्वंश र हिंसा हुन नदिने हो भने वार्ता र संवाद गर्नुपर्छ निषेध होइन,’ उनले भने ।
कम्युनिस्ट पार्टी जनताको सेवक पार्टी हुनै नसक्ने दावी गर्दै उनले कांग्रेस सबै नेपालीको साथी पार्टी भएको बताए । शक्ति र सत्तामा नरहँदा पनि देशभर कांग्रेसप्रति जनताको आकर्षण बढिरहेको दावी गर्दै उनले कांग्रेसमा प्रवेश गर्नेहरूको लहर नै चलेको बताए । ‘दुईतिहाइको सरकारले जनताको जिउधनको सुरक्षा गर्न सकेन । कर, महंगी, भ्रष्टाचार बढ्यो । आर्थिक गतिविधि ओरालो लाग्यो । त्यसैले जनताले कांग्रेसको साथ खोजिरहेका छन्,’ नेता खाँणले भने ।
बुटवल–नारायणगढ सडक स्तरोन्नती गर्ने योजना कांग्रेस सरकारकै पालामा बनेको बताउँदै उनले पुरानै योजनामा काम शुरू हुन नपाउँदै प्रधानमन्त्री ओली गानाबजाना र उटपट्याङका लागि रुपन्देही दौडाहामा निस्किएको बताए ।
‘हामीले महेन्द्र राजमार्ग ४ लेन बनाउने योजना बनायौं । सिमावर्ती शहरहरूमा ६ लेन बाटो बनाउन सुरु गर्यौं तर गानाबजाना गरेनौं । तर प्रम ओली काम गर्नुहुन्न उटपट्याङ्ग गर्दै हिँड्नुहुन्छ,’ नेता खाँणले भने ।