काठमाडौं, १० चैत । महाधिवेशन सम्पन्न भएको तीन बर्ष पनि नेपाली कांग्रेसले केन्द्रको अनुशासन समिति गठन गरेको छ ।
सोमबार साँझ पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी विधान– २०१७ (संशोधित र परिमार्जित) कोधारा ३४ (७) अनुसार केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति बनाएको हो ।
पाँच सदस्यीय समितिमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठोर सदस्य बनेका छन् । बाँकी दुई सदस्य रामचन्द्र पैडेल पक्षले नाम दिएपछि थप्ने सहमति शीर्ष नेताबीच भएको छ । अनुशासन समितिले सहमतिमा पाएको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।
आइतबार साँझ सभापति देउवाले केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डा तय गर्न पदाधिकारी, पूर्वपदाधिकारी र शीर्ष नेताहरूलाई आफ्नो निवास बुढानीलकण्ठमा बोलाए । र, अनुशासन समितिका लागि आफूले प्रस्ताव गरेका पुरानै नाम पेस गर्दै दुई नाम पौडेल–सिटौला पक्षबाट मागे ।
त्यसपछि पौडेलले अनुशासन समिति न्यायिक संस्था भएकाले सिनियर र मध्यमार्गी नेताहरू राख्नुपर्ने अडान दोहोर्याए । जवाफमा देउवा कड्किए ‘कस्ता नेता राख्नुपर्छ मलाई थाहा छ, तपाईंका तर्फबाट सदस्यमा राख्ने नाम दिनुस ।’ त्यो भनेपछि नेताहरू उठेर हिँडे ।
सोमबार बिहान ११ बजेका लागि केन्द्रीय समितिको बैठक डाकिएको थियो । तर, मुख्य एजेन्डा अनुशासन समितिमा सहमति जुट्न सकेको थिएन । पौने ११ बजे पार्टी कार्यालय सानेपामा पुगेका पौडेल, नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौलासँग उपसभापति बिमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्कालगायतले अनौपचारिक छलफल गरिरहे । तर, सहमति जुट्न सकेन ।
साँझ सात बजे मात्रै अनुशासन समितिले बहुमतका आधारमा नभई सहमतिमा मात्रै निर्णय गर्ने प्रावधान राखेर अनुशासन समितिमा सभापतिबाट पूर्वप्रस्तावित नाम राख्न पौडेल पक्षका नेताहरू सहमत भए ।
नेता रामशरण महतले अनुशासन समितिले गर्ने निर्णय सहमतिमा गर्ने प्रावधान राखेर देउवाजीले प्रस्ताव गरेका नाममा नै अनुशासन समिति गठन गर्न सहमति जनाएको जानकारी दिए ।
उपसभापति निधिले पौडेल पक्षले संस्थापनले पेलेर अगाडि बढ्न खोजेको भनेर लगाइरहेका आरोप सहमतिमा अगाडि बढेर गलत साबित गर्न आफूहरू सफल भएको बताए । अभियान टाइम्सका साथमा ।