काठमाडौं – नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो स्वाथ्यमा उल्लेख्य सुधार भएको जानकारी दिएका छन् ।
काठमाडौंको मण्डिखाटारस्थित ह्याम्पस अस्पतालमा शनिबार साँझ संक्षित कुरा गर्दै नेता सिटौलाले आफ्नो स्वास्थ्यलाई लिएर कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूप्रति धन्यावाद दिएका छन् ।
‘मेरो स्वास्थ्यमा सुधार भएको छ । सोमबारसम्म मलाई आइसियुबाट नर्मल वार्डमा सार्छन् होला’, उनले भने, ‘स्वास्थ्य उल्लेख्य सुधार भएको छ । चिन्ता गर्नुपर्ने अवस्था छैन ।’
नेता सिटौलाले चिकित्सकहरू चेकजाँच गरिरहेको भन्दै चिन्ता नलिन शुभेच्छुकहरूलाई आग्रह गरे । उनले अस्पतालसम्म आएर भेट्ने र स्वास्थ्य लाभको कामना गर्दै पुस्तिकामा लेख्नेहरूलाई पनि धन्यावाद दिएका छन् ।
पहिलो दिन अस्पताल भर्ना हुँदा कांग्रेस नेता सिटौलाको शरीरमा हेमोग्लोबिनको मात्रामा कमी भएको चिकित्सकहरूले बताएका थिए । शनिबार साँझसम्म नेता सिटौलालाई तीन पाउण्ड रगत शरीरमा चढाइएको छ । हेमोग्लोबिनको मात्रा पनि नेता सिटौलाको शरीरमा बढेको चिकित्सकहरूले बताएका छन् ।
शुक्रबार घरमा बसेका बेला नेता सिटौलालाई बमिट भएको थियो । बमिट भएपछि सामान्य अमिलो पानी आएको होला भनेर बसेका सिटौलाको दिशामा पनि रगत देखिएको थियो । त्यसपछि उनले आफूलाई अत्यन्तै कमजोर भएको महशुस गरेपछि अस्पताल लैजान आग्रह गरेका थिए ।
यसैबीच, नेता सिटौलाको स्वास्थ्यको जानकारी लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभाति विजय गच्छदार, महामन्त्रीद्वय पूर्णबहादुर खड्का, शशांक कोइराला, सुरेन्द्र पाण्डे, प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वसांसद रामहरि खतिवडा, नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीसहितका सत्तारुढ दलका नेताहरू पनि अस्पताल पुगेका थिए ।
यसैबीच, नेपाली कांग्रेसका नेता सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै उपचाररत अस्पतालमै रक्तदान गरिएको छ । सिटौला उपचाररत काठमाडौंको धुम्बराहीस्थित ह्याम्स अस्पताल परिसरमै आइतबार बिहान ८ बजेदेखि वृहत रक्तदान कार्यक्रम भएको हो ।
सिटौलाका सम्पूर्ण शुभेच्छुकको संयुक्त आयोजनामा भएको रक्तदानमा सहभागी हुन सबैलाई विनम्र आग्रह गरिएको छ । ‘दुःख बाँडौं, सुख साटौं’ भन्दै यो अभियानमा स्वतस्फूर्त कांग्रेस तथा भ्रातृ संगठनका कार्यकर्ताले रक्तदान गरेका छन् । नेता सिटौलाको उपचारमा डा.भगवान कोइरालासहितको टिमले उपचार गरिरहेको छ ।
।