कुमार खड्का चैत १२,पथरी ।
नेपाली कांग्रेस पथरीशनिश्चरेले जनप्रतिनिधीले आफ्ना कार्यकर्ता पोस्न बिकास निर्माणका कार्य ठेकेदार मार्फत गरेको र कमिशन असुलेको आरोप लगाउदै सोमवार १२ बुँदे ज्ञापन पत्र नगपालिका प्रमुख दिलिप कुमार राई लाई बुझाएको छ ।
जनताको सरोकारसँग जोडिएको बिकाश निर्माणमा अनियमितता भएको जनगुनासो आएसँगै सर्बपक्षिय समिति गठन गर्न माग गदै कांग्रेसले ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा काग्रेस नगर सभापति टेक बहादुर थापा र कांग्रेसको नगर अनुगमन उप संयोजक धनकुमार तामाङले हस्ताक्षर गरेका छन् । ज्ञापन पत्रमा बिकाश निर्माणमा नेकपा निकटलाई नदिन र उपभोक्ता समिति मार्फत मात्रै काम गराउन माग गरिएको छ ।
कांग्रेसले कर्मचारी नियुक्ती एकलौटी रुपमा गरिएको भन्दै सर्बपक्षिय रुपमा नगरमा कर्मचारी नियुक्ती गर्न पनि माग गरेको छ । नगरबाट फोहर मैलाका लागि रकम संकलन गरे पनि टोल र गाउँबाट फोहर संकलन नभएको भन्दै कांग्रेसले त्यसका लागि संकलन गरिने रकम जनतासँग नलिन माग गरेको छ ।
नगरमा रहेको अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या तत्काल सम्बोधन गरि धनिपुर्जा बितरणको पनि माग कांग्रेसले गरेको छ । ज्ञापनपत्र मार्फत नगर तथा वडा कार्यालय अपांग मैत्री भवन निर्माण गर्न माग गरेको छ ।
नगरपालिका भवन निर्माणमा बिबाद भएको भन्दै नगरको पहिचानसहित तत्काल नगरपालिकाको भवन निर्माण गर्न पनि कांग्रेसले माग गरेको छ । नगरपालिकाले नगरबासीसँग चर्को कर संकलन गरेको भन्दै कर व्यावस्थापन वा कर खारेजीको माग गरेको छ ।
नगरले मेलमिलापका नाममा निवेदन बापत लिने १०० रुपयाँ खारेजी गर्नुपर्ने, नगरका खोला दोहन गर्ने कार्य तुरुन्त बन्द गर्नुपर्ने, आगलागी नियन्त्रण गर्न तुरुन्त दमकल खरिद गर्नुपर्ने पनि कांग्रेसले माग गरेको छ ।
मापदण्डविपरित हुँदै आएको खोला दोहन बन्द गरिनुपर्ने, शिक्षा, खेलकुद र विकास निर्माणजस्तो क्षेत्रमा हुँदै आएको राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने, नगरपालिकामा दमकलको व्यवस्था गरिनुपर्ने लगायतको माग पनि कांग्रेसले उठाएको छ ।
सगै सिमाना जोडिएको छिमेकी पालिका उर्लावारीले दैवी प्रकोप (आगलागी) नियन्त्रणका लागी दमकलको व्यावस्थापन गर्ने निर्णय गरेको छ भने पथरीशनिश्चरे नगरपालिका भने दमकलको व्यावस्थापन गर्न आर्थिक स्रोत नभएको भन्दै कुनै प्रक्रिया नै अगाडि बढाएको छैन ।
पथरीमा नगरकार्यपालीकामा नेकपाको बहुमत रहेको छ । नगरको ५ र ८ नं वडामा मात्र प्यानलनै काग्रेसका जनप्रतिनिधी छन् भने ६ र १० नं वडामा अध्यक्ष काग्रेसका रहेका छन् ।