पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे ८ दोहोलुकी एक दलित महिलामाथि कालोमोसो दलेर कुटपिट गरेको घटनालाई जातिय भेदभाव तथा छुवाछुत सजाय र कसुर ऐन अन्तर्गत कारवाही गर्न दलित संघ संस्थाले माग गरेका छन् ।
दलित जातीय ६ वटा संस्थाले पथरीशनिश्चरेस्थित मनोहर होटलमा मंगलबार पत्रकार सम्मेलन गर्दै चैत ५ गते ३१ वर्षीय सारदा बराइलीमाथि कालोमोसो दलेर अमानवीय व्यहार प्रदर्शन गर्नेमाथि कडा कारवाहीको माग गरेको हो । विश्वकर्मा एकता समाज नेपाल प्रदेशका अध्यक्ष गोपाल लकान्द्री, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ मोरङका कार्यक्रम अधिकृत अमर बराइली, नेपाल दलित संघ क्षेत्रीय अध्यक्ष मीना सिन्चेउरी, क्रेज नेपालका अध्यक्ष गोपाल नेपाली, मुक्ति समाज नेपालका सन्त विश्वकर्मा र दलित सेवा संघका कुबेर घतानीद्धारा संयुक्त हस्ताक्षर गरी विज्ञप्ति जारी गरिएको छ ।
विज्ञप्तिमा, हाल जिल्ला प्रशासन कार्यालयमार्फत चलिरहेको जघन्य अपराधको मुद्धा खारेज गरी जातीय भेदभाव तथा छुवाछुत विभेदको मुद्धा दर्ता गर्नुपर्ने पहिलो माग छ । अर्काे मागमा, घटनाका पिडकका रुपमा पारस लिम्बू, फिपराज लिम्बू, उनका २ श्रीमती तथा उषा लिम्बू, गोमा खड्कालाई सार्वजनिक मुद्धा अगाडि बढाउन तथा पिडीत बराइलीलाई उचित न्याय दिलाउनु पर्ने उल्लेख छ । त्यसमा नगर कार्यपालिका सदस्य गीता लोहार समेत दोषी रहेको जनाईको छ । साथै फरार रहेका ओमनाथ बराइली, ओमरानी लिम्बू र यशोदा थापालाई पक्राउ गर्न माग गरिएको छ ।
पिडीतलाई बाटोको बैठकको कागज हो भनी कालोमोलो दल्ने र कुटपिट गर्ने कोही चिन्दैनौं भनेर पिडकलाई आश्रय दिनेखालको सर्जमिन मुचुल्का खारेज गरी अर्काे मुचुल्का तयार गर्नुपर्ने उल्लेख छ । चैत १० गते प्रहरीले गरेको सो मुचुल्कामा नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलासमेत फिल्डमा गएको भन्ने कुरा उल्लेख गरिएको छ । वास्तोलाको राजिनामा र इलाका प्रहरी प्रमुख कमल बजगाईंको विभागिय कारवाहीको मागसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ । यस सम्वन्धमा नगर उपप्रमुख वास्तोलाले आफु गएर त्यसखाले कागज बनाउन लगाउने कुरा कपोलकल्पित भएको दावी गरिन् ।
०७१ सालमा पिडीत बराइलीले पिडत पारस लिम्बूलाई ४ लाख रुपैयाँ व्याजमा दिएको उल्लेख छ । लिम्बूले १५ महिनापछि २ लाख साँवा फिर्ता गरेपनि वाँकी रहेको २ लाख माग्दा फिर्ता नगरेपनि उनीहरुबीच विवाद बढेको थियो । वडामा पटक पटक भेला भएको र नगरपालिकाको न्यायिक समितिमा समेत लेनदेनको सो मुद्धा पुगेको थियो । त्यही क्रममा गाउँमै लेनदेन मुद्धाका बारेमा छलफल बसेको थियो । सो अवस्थामा परपुरुषसँगको सम्वन्धको प्रसंग समेत निकाल्दै पारस, फिपराज सहितका परिवारका सदस्यले कालोमोसो दलेर कुटपिट गरेको तथा प्रहरीले समेत त्यसबेला बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले सो घटनापछि पारस लिम्बू, फिपराज लिम्बू, उनका २ श्रीमती तथा उषा लिम्बू, गोमा खड्का, गीता लोहार सहितलाई पक्राउ गरी मुद्धाको प्रक्रिया अघि बढाएको छ । ब्लाष्ट