बेलबारी। गत फागुन १७ गते हत्या गरिएकी बेलबारीकी रमिला राईको शव कोसी नदीमा फेला परेको छ । सेतो बोरामा हालेर बाँधिएको अवस्थामा आज शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय बेलबारी बाट गएको प्रहरी टोली र रमिलाका आफन्त समेतको टोलीले शव रमिलाकै भएको पुष्टि गरेको छ । आफन्तले पनि शव रमिलाकै भएको भनी स्विकार गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईले जानकारी दिए ।
नेकपाका नेता योगेन्द्र गुरुङले हत्या गरेर कोसी नदीमा शव फालेको भनेर प्रहरीलाई वयान दिएदेखि नै प्रहरीले शव खोजी कार्य जारी राखेको थियो ।गएको फागुन १७ गतेदेखि हराएकी रमिलाको खोजी गर्दा पनि नभेटिएपछि प्रहरीले योगेन्द्र गुरुङलाई पक्राउ गरेका थिए । पक्राउ परेका गुरुङले हत्या गरेर शव फालेको बताएका थिए ।