केही समय अगाडि पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस कोइराला परिवारको सम्पति होइन भन्नुभयो। यसैगरी अर्को कुनै ठाउँमा सभापतिले हिन्दू धर्मको नारा शशांक–शेखरको होे भन्नुभयो।
सभापति देउवाका यी टिप्पणीहरु उहाँका लागि सुहाउँदा थिएनन्। उहाँ जत्तिको हाइट भएको व्यक्तिले यतिसम्म झिनामसिना टिप्पणी गर्नु सान्दर्भिक थिएन । त्यसमाथि पार्टीको अभिभावक जस्तो व्यक्तिले पार्टीकै नेताको विषयमा यस्तो टिप्पणी गर्नु कत्तिको सान्दर्भिक थियो भन्ने कुरा मनन गर्नु जरुरी थियो।
उहाँलाई यसरी बोल्न सुहाउने थिएन । त्यसकारण धेरै कार्यकर्ताहरु निराश र दुःखी भए। यस्तो किसिमको अभिव्यक्ति उहाँले नबोल्दा राम्रो हुन्थ्यो। हामीले बुझेको, पढेको र राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनले व्यवस्था गरेको र विश्वव्यापी सिद्धान्त पनि के हो भने विचार पनि सम्पति हो।
विचार बोलिदिँदैमा सकिँदैन त्यसले दीर्घकालीन महत्व राख्छ। उहाँको यो अभिव्यक्ति पनि उहाँको विचार थियो र यसले कालान्तरमा पनि उत्तिकै महत्व राख्नेछ। जसरी बीपी कोइरालाको दशकौं पहिले ल्याएको विचारका आधारमा कांग्रेस आजपर्यन्त चलिरहेछ।
विपीको विचार कोइराला परिवारको सम्पति हो। समग्र कांग्रेस संगठनको सम्पत्ति हो। विश्वव्यापी सिद्धान्त हो र कानुनमा व्यवस्था हुने कुरा हो। विचार सिद्धान्त कसैको बौद्धिकता हो, उसको सम्पति हो। अब रह्यो परिवारले त्यसलाई आफ्नो सम्पति मान्न मिल्छ कि मिल्दैन?
समग्र संगठनले मानिराखेको परिवारले मान्न नमिल्ने भन्ने कसरी हुन्छ र? त्यसैले विपीको विचार र सिद्धान्त आज पनि त्यत्तिकै टड्कारो आवश्यक रहेछ भनेर समग्र मुलुकमा जनताको भावना र विचारलाई बुझेर उनीहरुको माग र समग्र दक्षिण एसियाली हिन्दुहरुको भावनाले नेपाल हिन्दू सापेक्ष राष्ट्र रहन आवश्यक छ ।
महामन्त्री शशांक कोइरालाले होलीको अवसरमा भव्य होली उत्सवको कार्यक्रम गरेर मिडियामाझ यो बोलेको कुरालाई व्यक्तिगत भएपनि वा नभएपनि शशांक कोइरालाको नेतृत्वमा कांग्रेसले आमजनताको माग बुझेर निर्णय लिन्छ भन्ने कुराको पूर्व संकेत मान्न सकिन्छ।
एक चौंथाई भू–भाग सबै हिन्दूका मठ मन्दिरले र समग्र ९८ प्रतिशत मानिसले हिन्दुत्व ग्रहण गरेको देशमा हिन्दू सापेक्ष राष्ट्र रहन पर्छ र जबरजस्ती २/४ जना कोठामा बसेर निरपेक्ष लागू हुदैंन ।
जनमत संग्रह हुनुपर्छ भन्नु जो कोहीले आँट गर्दैनथ्यो तर नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले होलीको अवसरमा भव्य होली उत्सवको कार्यक्रम गरेर मिडियामाझ यो बोलेको कुरालाई व्यक्तिगत भएपनि वा नभएपनि शशांक कोइरालाको नेतृत्वमा कांग्रेसले आमजनताको माग बुझेर निर्णय लिन्छ भन्ने कुराको पूर्व संकेत मान्न सकिन्छ।
यो कुरालाई समग्र हिन्दूले स्वागत गरेका छन् र हिन्दुत्वको समर्थनको हिसाबले शशांक कोइराला पार्टीको महामन्त्री मात्रै नभएर विश्वमा रहेका हिन्दुहरुको नै नेता देखिन लाग्नुभएको छ। र, अब नेपाली कांग्रेसका आम कार्यकर्ताले नेतृत्वमा परिवर्तन खोजेका छन्।
विपीको विचारको सार्थकता समाप्त भइनसकेको र त्यसको वास्तविक बुझाई र कार्यान्वयनका लागि परिवारकै सदस्यको नेतृत्वमा कांग्रेस एकचरण विकसित हुन र अगाडि बढ्न पर्छ भन्ने आम कार्यकर्ताको विचार आजको टट्कारो एजेण्डा रहेको हिसाबले उपयुक्त समयमा शशांक कोइरालाले यो कुरा बुझ्नुभएको छ।
उहाँले समर्थन गरेको अर्को कोही सभापति हुन सक्ला अथवा परिवारको निर्णयले र सबैको समर्थन प्राप्त गरेर कुशल नेता र स्पष्ट वक्ताको हिसाबले डा. शेखर कोइराला कम हुनुहुन्न। उहाँले नेतृत्व प्राप्त गर्न सक्नुहोला तर शशांकको विचार विपीको प्रजातन्त्र, समाजवाद र हिन्दु सापेक्ष राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्नुपर्ने बेला आइसकेको छ ।
राजसंस्था, जो एकदमै कम खर्चमा रहन्छ। जम्माजम्मी मुलुकमा वार्षिक ४ करोड बराबरको खर्चमा राजसंस्था राखेर जनप्रतिनिधिको शासन, लोकतन्त्र, प्रजातन्त्र, समाजवाद र हिन्दू सापेक्ष राज्य र सबै धर्मको रक्षा गर्दै समृद्ध मुलुकतर्फ जाने अबको बाटो हुनुपर्ने देखिएको छ। कांग्रेस अब यही कार्यदिशातर्फ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।
समृद्ध मुलुक भनेको म खान लाउन सक्षम छु भने म जस्तै एउटा किसानले पनि खान लाउन सक्षम हुनुपर्छ। उच्च वर्गलाई संरक्षण, मध्यम वर्गलाई अगाडि बढाउँदै निम्न वर्गलाई राहत प्रदान गर्दै समाजवादी सिद्धान्तको आधारमा मुलुकलाई लिएर जाने जो विपीको मार्गचित्र थियो त्यसको नेपालमा आजपनि आवश्यकता देखिएको छ।
विपीको विचारको सार्थकता र कोइराला परिवारको नेतृत्वको आवश्यकता अझै कांग्रेसमा छ भन्ने कुराको कार्यकर्ताको बुझाई भएको कारणले पनि शेखर र शशांक मिलेर एक अर्कालाई सहयोग गर्ने र नेपाली कांग्रेसलाई संगठित बनाएर विपीको विचारको सार्थकता दिनुपर्छ
नेपाली कांग्रेसमा अब सभापति देउवा सामान्यतया विभाग बनाउन, काम दिन, कार्यकर्तालाई चिन्न, काम गराउन र पार्टी संगठन हाँक्न एक हिसाबले उहाँ पछि पर्नुभएको हो। अघिल्लो समय सभापति सुशील कोइरालालाई विवाद बनाएर काम गर्न नदिने र अड्को थापेर विभाग निष्क्रिय बनाउने पनि उहाँ नै हो।
सभापति हुँदा विभाग नै नबनाई उहाँको लगभग चारवर्षे कार्यकाल बितिसकेको छ। देउवाले रामचन्द्र पौडेललाई एक वर्ष थप कार्यकाल मलाई खान दे तलाई म सभापतिमा समर्थन गर्छु भनेर उहाँले कोठे सम्झौता गर्न खोज्नु भएको छ भन्ने सुन्न आएको छ।
तर अब कार्यकर्ताले कोठे सम्झौता मान्छन जस्तो मलाई लाग्दैन। र, कार्यकर्ताले पार्टी संगठन हाँक्नको लागि कोइराला परिवार नै चाहिन्छ भन्ने बुझिसकेका छन्। विपीको विचारको सार्थकता र कोइराला परिवारको नेतृत्वको आवश्यकता अझै कांग्रेसमा छ भन्ने कुराको कार्यकर्ताको बुझाई भएको कारणले पनि शेखर र शशांक मिलेर एक अर्कालाई सहयोग गर्ने र नेपाली कांग्रेसलाई संगठित बनाएर विपीको विचारको सार्थकतालाई मर्मलाई अङ्गिकार गरेर मुलुक हिन्दूसापेक्ष राज्य सहितको प्रजातन्त्र हाक्नका लागि अब कांग्रेस आउने दिनमा अग्रसर हुन्छ, त्यो संकेत हिजो होलीको कार्यक्रममा शशांकले दिनुभएको छ। त्यो खुशीको कुरा हो।
लेखक : जगदीश दाहाल