काठमाडौं, १४ चैत्र । सार्वजनिक सेवा प्रबाह गर्ने नाममा सरकारी निकायले गरेको लापरवाहीको उदाहरण हेर्न काठमाडौं छिर्ने मुख्य नाका कलंकी पुगे हुन्छ । कलंकीमा धुलोको मुस्लो उडिरहेको हामी प्रत्यक्ष देखिरहेका छौं ।
धुलो टिप्ने गाडी (ब्रुमर) कता हरायो ? सर्वसाधरण प्रश्न गरेका छन् । सडक निर्माणका नाममा गरिएका कामले थानकोट, नागढुगा,नैकाप हुँदै काठमाडौंका विभिन्न स्थानमा काम विशेषले जाने, आउने सर्वसाधरण कलंकीको धुलाम्मे बाटोले दिक्क छन् ।
सडक सास फेर्न तथा आँखा खोल्न मुस्किल हुनेगरी धुलाम्मे छन् । धुलोका कारण कलंकीबासीको मात्र होइन यात्रा गर्ने यात्रुको समेत जीवन अस्तव्यस्त भइरहेको छ । सडक धुलाम्मे भएका कारण सर्वसाधारणले सास्ती खेप्नुका साथै निकै कष्टपूर्ण दैनिकी व्यतित गर्नु परेको छ ।
धुलोले गर्दा आँखा चिलाउने, आँखा पाक्ने समस्या बढी मात्रामा देखिने गरेको छ । वानेश्वरबाट नैकाप डेरा सरेकी शर्मिला तामाङ रोजगारका लागि त्रिपुरेश्वर जानु आउनुपर्छ । कलंकीको बाटो ओहोर दोहोर गर्दा आँखा चिलाउने, आँखा पाक्ने, समस्या आएको बताइन ।
यस्तो धुलोमा हामी कति दिन हिड्ने ? सरकारले के हेरेर बसेको छ ? बाटो बडार्ने बस आको छ रे कुन ठाउँमा बडार्ने रैछ । यहाँको धुलो देखेन छ कि क्या हो ?भन्दै उनी आर्कमक भइन् । उनी त एउटा उदाहरण मात्र हुन् ।
उनी जस्तै ओहोर दोहोर गर्ने हजारौ जनता छन् । फुटपाथमा हिड्ने मानिसको अनुहार पनि चिनिदैन । कालो लुगा सेतो र सेतो लुगा कालो बनाइदिन्छ धुलोले ।
संविधानको धारा ३० को उपधारा १० मा प्रत्येक नागरिक स्वच्छ तथा स्वस्थ्य वातावरणमा बाँच्न पाउने व्यवस्था गरिएको छ । यसै गरी उपधारा २ मा प्रदूषणबाट हुने क्षतिबापत पीडितलाई पीडकबाट क्षतिपूर्ति भराउने उल्लेख छ ।
सर्वोच्च अदालतले सरकारलाई निर्माण कार्य गर्दा धूँवा धुलो निर्यन्त्रण गरेर मात्र त्यस्ता आयोजनाहरु संचालन गर्न आदेश जारी भएपनि कार्यान्वयन नभएको कलंकीको धुलाम्य सडकले बताउँछ ।
काठमाडौं महानगरपालिकाले धुलोबाट आजित भएका जनतालाई राहत दिने भन्दै भ्याकुम भएको कुचो ब्रुमर ले सडकको धूलो उठाउने बस २ दिन अगाडि मात्रै खरिद गरेको छ ।