उर्लाबारी/ भनिन्छ सबैभन्दा साह्रो ढुङ्गा र त्योभन्दा पनि साह्रो आर्थिक अभाव । आर्थिक अभावकै कारण दैनिकजसो युवाहरू वैदेशिक रोजगारतर्फ विभिन्न मुलुकहरू प्रस्थान गरिरहेका छन् । धन कमाउने र परिवारलाई सुखसँग पाल्ने सपना बुनेर विदेशिनेको जमात ठूलो छ ।
सरकारले उचित रूपमा रोजगारीको व्यवस्था गर्न नसक्दा युवाहरू विदेशिन बाध्य छन् । यस्तै, सपना देखेर मोरङको उर्लाबारी–१ का दिनेश दाहालले दुई वर्ष दुबई, २ वर्ष मलेसिया र १ वर्ष इजरायलमा बिताए । गत भदौमा वैदेशिक रोजगारबाट फर्किएर उनले आफ्नै देशमा केही गर्ने जमर्को गरे । दुःखसुख आफ्नै देशमा केही गरौं भनेर उर्लाबारी–१ मा इन्टरलक इट्टा उद्योग सञ्चालन शुरु गरेको उनले बताए । करिब १५ लाख रुपैयाँको लगानीमा बीएण्डडी सीएसईबी इँटा उद्योग सञ्चालन गरेको उनको भनाइ छ ।
मासिक रुपमा सम्पूर्ण खर्च कटाएर ६० हजार रुपैयाँ बचत हुने गरेको उनले बताए । उनले हाल ८ जनालाई उद्योगमा रोजगारीसमेत दिएका छन् । तीन महिना अघिदेखि सञ्चालनमा ल्याएको उक्त उद्योगबाट आफू सन्तुष्ट रहेको र आगामी दिनमा अझै विस्तार गर्दै जाने उनको सोचाइ रहेको बताए ।
विदेशमा गरेको दुःखले उनलाई स्वदेशमै बसेर केही गर्ने उत्साह जाग्यो । त्यसैले उनले मुलुकका धेरै ठाउँमा पुगेर इन्टरलक इँटाको अध्ययन गरी त्यसैमा हात हाले । ‘विदेशको हण्डरले स्वदेशमा केही गर्न सिकायो,’ उनी भन्छन्, ‘कमाइ भए पनि परिवार छाडेर अर्काको देशमा कतिञ्जेल बस्ने ?, विदेश भनेको क्षणिक समय, बल र उमेर रहुञ्जेल मात्रै हो । बल सकिएपछि स्वदेश फर्किनुको विकल्प छैन ।’ स्वदेशी श्रम नै दीगो भएकाले यसैमा लागे भविष्य सुरक्षित हुने दाहालको विश्वास छ ।