काठमाडौं । तत्कालिन सदभावानका नेता तथा पूर्वराज्यमन्त्री संजय साह ‘टकला’ जनकपुर बमकाण्डमा दोषदी ठहर भएका छन् । जिल्ला अदालत धनुषाले बिहीबार सो मुद्दामा फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको हो ।
अदालतले साहसहित अन्यलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो । जनकपुर बम काण्डमा मुख्य अभियुक्त भनिएका साह ५ वर्षदेखि पूर्पक्षका लागि थुनामा थिए।
जनकपुरको रामानन्द चौकमा भएको बम विष्फोटमा परी ५ जनाको मृत्यु भएको थियो भने ४० जना घाईते भएका थिए । साह सो बम काण्डका मुख्य अभियुक्त थिए । यस्तै साह सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्या आरोपी पनि हुन् ।
साह हातहतियार तथा खरखजाना र केही सार्वजनिक अपराध मुद्दामा २१ महिनाको कैद सजाय समेत भुक्तान गरिसकेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साह माथि साढे २१ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। त्यसैगरी सम्पति शुद्धिकरण अनुसन्धान विभागले पनि साहको सम्पति विषयमा अनुसन्धान गरिरहेको अवस्था छ।
२०६४साल चैत्र २८ मा सम्पन्न भएको संविधानसभाको पहिलो निर्वाचनमा धनुषाको क्षेत्र नं. ४ बाट संजय साह उर्फ संजय टक्ला पहिलो पटक निर्वाचित भएका थिए।
जनकपुरमा ‘डन’को छवि बनाएका साहले सभासदमा निर्वाचित भएपछि स्वचालित बन्दुकबाट तीन राउण्ड फायर गर्दै खुसी मनाएका थिए। विद्यर्थी जीवनबाटै ‘डन’का रुपमा परिचित उनलाई जनकपुरतिर ‘संजय टकला’ उपनाम समेत चिनिन्छ। ठेक्कापट्टाबाट मनग्गे कमाएका उनी पैसा भएकै कारण टिकट किनेर संविधानसभा निर्वाचनको केही दिनअघि मात्र फोरममा प्रवेश गरेका थिए।
मधेसी जनअधिकार फोरम नेपालको टिकट पाएर प्रत्यक्ष निर्वाचनमा संजय कुमार साहले १३ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भएका थिए। उक्त निर्वाचनमा साहले नेकपा एमालेका नेता रघुवीर महासेठलाई पराजित गरेका थिए। महासेठले ९ हजार २ सय ८२ मत मात्र प्राप्त गर्न सकेका थिए।
त्यसैगरी २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा धनुषाको क्षेत्र नं. ४ बाट संजय कुमार साहले १२ हजार ६ सय ६६ मत ल्याएर दोस्रो पटक निर्वाचित भएका थिए। सद्भावना पार्टीको वरिष्ठ उपाध्यक्षसमेत रहेका साह निर्वाचित भएका थिए। साहले नेपाली कांग्रेसका धनुषा सभापति तथा पुर्व सभाषद रामसरोज यादवलाई पराजित गरेका थिए।
दुई पटक सभासद तथा एक पटक भौतिक पुर्वाधार राज्यमन्त्री समेत भईसकेका संजय साह हातहतियार तथा खरखजाना मुद्दा र केही सार्वजनिक अपराध मुद्दामा २१ महिनाको कैद सजाय भुक्तान गरिसकेका छन्।
जिल्ला प्रशासन कार्यालय धनुषा, पुनरावेदन अदालत जनकपुर र सर्वोच्च अदालतबाट समेत उक्त मुद्दामा अन्तिम फैसला भई कसुरवार ठहर भएका साहले अन्य मुद्दामा थुनामा कारागारमा रहेका हुँदा उक्त कैद सजाय साहले भुक्तान गरिसकेका छन्।
३ जेठ २०६० मा धनुषाको सखुवा महेन्द्रनगरमा हातहतियार देखाई स्थानीय व्यक्तिहरुलाई लुटपाट गर्न खोजेको भन्दै रामजीवनप्रसाद गुप्ताले दिएको जाहेरी पछि संजय साहलाई जिल्ला प्रशासन कार्यालय धनुषाले सजाय र जरिवाना गरेको थियो।
गुप्ताको जाहेरीमा संजय कुमार साह, उमाशंकर अरगरिया, संतोष कुमार साह, शम्भु यादव, विनोद यादव, रामबाबु भनिने विन्देश्वर साह, राज कुमार पुर्वे, श्याम शर्मा, धर्मेन्द्र पाठक, अनिल भनिने निर्मल कुमार सिंह, ओम प्रकाश यादवलाई प्रतिवादी बनाई हातहतियार तथा खरखजाना र सार्वजनिक अपराधको मुद्दा चलाइएको थियो।
प्रहरी प्रतिवेदन अनुसार हातहतियार र खुकुरी समेत बोकी हो हल्ला गरी हिँडेको अवस्थामा खान तलासी गर्दा संजय साहको साथबाट खुकुरी थान १, कक भएको नाइन एमएम ११ राउण्ड लेखेको नम्बर १७४० लेखेको पेस्तोल थान १ गोली लोड भएको अवस्था बरामद गरिएको तत्कालीन प्रहरी निरीक्षक मोहन कुमार शेर्पाको प्रतिवेदनमा उल्लेख छ।