• बालबालिकाका लागि हामी हरेक दिन गल्ती गरिरहेका छौँ
    विद्यालयले वालवालिकालाई सिकाएको र अभिभावकले गरिरहेको विषय बाझियो भने बालबालिका ठूलो अलमलमा पर्ने रहेछन् । विद्यालयले राम्रो, नराम्रो तथा के गर्ने, के नगर्ने भनेर सिकाउँछ । घरमा अभिभावकको व्यवहार र काम त्योसँग मिलेन भने बालबालिका अन्योलमा पर्छन् । त्यसैले अभिभावकले घरमा मिल्दो व्यवहार गर्नुपर्छ ।

    हामीले बालबालिकालाई सानैदेखि तर्साउने रहेछौँ । सफलता प्राप्त गर्नुपर्छ भनेर उनीहरूलाई निरन्तर रूपमा डर देखाइरहेका हुँदारहेछौँ । उनीहरूको जीवन आनन्दमय हुन दिएनौँ । सानैदेखि उनीहरूलाई कोजस्तो बनाउने चाहना हो, त्यही नै भनिरहेका हुन्छौँ । यस्तो वा उस्तो बन्नुपर्छ भनिरहेका हुन्छौँ, अरूसँग तुलना गर्छौं । यसले बालबालिकालाई विकासमा सहयोग गर्नेभन्दा एक किसिमको डर र संकुचन निर्माण गरिरहेको हुँदो रहेछ ।

    सबै बालबालिका समान हुँदैनन् । उनीहरूको क्षमता र ग्रहण गर्ने तरिका फरक हुन्छ । हामीले त्यसलाई बढ्न दिनुपर्छ । अभिभावकको काम बालबालिकाका लागि वातावरण बनाइदिने हो । कहिलेकाहीँ अभिभावकले आफ्नोतर्फबाट सोच्दा बालबालिकालाई सहयोग गरेकोजस्तो हुँदो रहेछ, तर वास्तविकता अर्को हुन्छ । हेर्दा माया भए पनि वास्तवमा बालबालिकाका लागि त्यो माया होइन, अन्याय हो । आफ्नो हुर्काइ र अरूको अवस्था हेर्दा मलाई यस्तो लाग्छ । यी सबै गतिविधि थाहा नपाईकन हुन्छन् । प्रत्येक दिन यस्ता धेरै गल्ती गर्दारहेछौँ । सचेततापूर्वक हे-यो भने मात्र यस्ता विषय थाहा हुन्छन् ।

    सबै बालबालिका समान हुँदैनन् । उनीहरूको क्षमता र ग्रहण गर्ने तरिका फरक हुन्छ । हामीले त्यसलाई बढ्न दिनुपर्छ । अभिभावकको काम बालबालिकाका लागि वातावरण बनाइदिने हो । कहिलकाहीँ अभिभावकले आफ्नोतर्फबाट सोच्दा बालबालिकालाई सहयोग गरेकोजस्तो हुँदो रहेछ, तर वास्तविकता अर्को हुन्छ ।

    बालबालिकाका सवालमा निरन्तर सिक्ने प्रयासमा छु
    म कस्तो अभिभावक हुँ भनेर मानक बनाएको छैन । म र मेरो श्रीमतीले जसरी अभिभावकत्व निर्वाह गरेका छौँ, मैले आफूले गरेको क्रियाकलापलाई आलोचनात्मक रूपमा हेर्छु । मैले केही सच्याउनुपर्ने रहेछ भने त्यो गर्छु । मैले जे गरिरहेको छु, ठीक गरेको छु भनेर चित्त बुझाएर बस्दिनँ । कतै केही भेटेँ भने पढ्छु र अरूका कुरा पनि ध्यानपूर्वक सुन्छु । मैले गल्ती गरेको रहेछु भन्ने लागेमा तत्कालै सच्याउँछु । म आफ्नो गल्ती खोजिरहने र सच्याउन तयार हुने अभिभावक हुँ ।

    मैले मेरो बच्चा हुर्काउँदै गर्दा धेरै समस्या छन् । मैले गरेको काम, तरिकामा समस्या छन् । मेरो आफ्नो जीवन नै चुनौतीपूर्ण छ । अभिभावकका रूपमा सन्तानलाई समय उपलब्ध गराउन नसक्ने समस्या छ । आफ्ना अप्ठ्याराका बीचमा पनि म निरन्तर सिक्ने प्रयास गर्छु ।

    अभिभावकसँग मिलेर बालबालिका पढाउने विद्यालय चाहिन्छ
    अभिभावकको उपस्थितिलाई विद्यालयले धेरै सहजताका साथ लिनुपर्छ । विद्यालय र घर मिलेर बालबालिकालाई अघि बढाउनुपर्छ । अभिभावकसँग निरन्तर मिलेर काम गर्न सक्ने विद्यालय खोज्नुपर्छ । अभिभावकसँग मिलेर बालबालिका पढाउने विद्यालय हुन्छ, त्यो विद्यालयले दिने परिणाम अरूको भन्दा फरक हुन्छ । शुल्क, दूरी र विद्यालयसँगको पहुँचलगायत पक्ष हेरेर अभिभावकले निर्णय लिनुपर्छ । अभिभावकअनुसार पनि छनोट गर्ने आधार फरक हुन सक्छन् । मेरो अनुभवमा विद्यालयमा अभिभावकको सहभागिता कत्तिको हुन्छ भन्ने नै महत्वपूर्ण पक्ष हो ।

    विद्यालय रोज्ने नाममा सन्तानलाई कमजोर नबनाउनुस्
    हामीले बालबालिकालाई कक्षा १ मा भर्ना गर्ने समयमा जीवनको सबैभन्दा महत्वपूर्ण काम नै त्यही हो जसरी लाग्छौँ । कुनै कारणले त्यो विद्यालयमा भर्ना नपाउन सकिन्छ । आजकल कक्षा १ मा पढ्ने बच्चा स्मार्ट हुन्छ । भर्ना हुनका लागि आफ्ना आमाबुवा लागेको थाहा पाउन सक्छ । भर्ना नपाएपछि आफ्ना बाबुआमा हारेको देख्छ, अभिभावक हारेको देख्दा आफू पनि हारेको देख्छ । जुन विद्यालयमा भर्ना हुनका लागि लगेको थियो, त्यहाँ भर्ना नपाएपछि आफूलाई जहिले पनि कमजोर ठान्छ । अभिभावकले पहुँच नभएर हुन सक्छ वा शुल्क वा अरू कारणले भर्ना गर्न नसकेको हुन सक्छ । तर, बालबालिकालाई त्यो अनुभव हुन दिनुहुँदैन । धेरै विद्यालय छन्, जुनमा भर्ना गर्दा पनि राम्रो हुन्छ भन्ने भावना बालबालिकामा जगाउनुपर्छ । कुनै एउटा विद्यालयमा भर्ना गर्नुछ भने ५० विद्यालयमा लगेर जानुस्, त्यसले गर्दा जुनमा पढे पनि बालबालिकामा मैले हेरेको विद्यालय नै हो भन्ने लाग्छ ।

    अरूसँग तुलना गरेको मन पर्दैनथ्यो
    मैले सिद्धार्थ बनस्थली स्कुलमा पढेको हो । त्यो वेलाको ठूलो र राम्रो निजी विद्यालय हो । विद्यालय शिक्षा राम्रो पाएँ । त्यतिवेला बोलक्कड र अलि चकचके स्वभावको थिएँ । मेरो दाइको नाम पवन हो । अनुहार मिल्ने भएपछि शिक्षकहरूले ‘पवनको भाइ हो ?’ भनेर सोध्थे । एक दुई पिरियड पढेपछि प्रत्येक शिक्षकले सोध्ने प्रश्न यही हुन्थ्यो । त्यसपछि उनीहरूको एउटै उत्तर हुन्थ्यो, ‘दाइ कस्तो, भाइ कस्तो ?’ दाइ सरल हुनुहुन्थ्यो, मलाई दाइसँग तुलना गर्थे । तर, यसरी तुलना गरेको मलाई मन पर्दैनथ्यो । अहिले पनि एउटालाई अर्को बच्चासँग तुलना गरेको मन पराउँदैनन् ।

    प्रस्तुति : भवानीश्वर गौतम

    नयाँ पत्रिकाबाट साभार गरिएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…