• काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको संगठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा जिम्मेवारी तोकेरै केन्द्रीय प्रतिनिधि पठाउने तयारी गरेको छ ।

    कांग्रेसले केन्द्रीय सदस्य तथा भ्रातृ संगठनसहित शुभेच्छुक संस्थाका केन्द्रीय प्रतिनिधिलाई संगठन सुदृढीकरणका लागि जिम्मेवारी दिएरै जिल्ला पठाउने तयारी गरेको हो ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महासमितिको म्यान्डेटअनुसार नै जागरण अभियान सञ्चालन र संगठन सुदृढीकरणका लागि केन्द्रीय प्रतिनिधिहरूलाई जिल्ला पठाउने तयारी भइरहेको बताए ।

    ‘महासमितिबाटै जिल्ला जिल्लामा जागरण अभियान लैजाने भन्ने थियो । त्यहीअनुसार कार्यक्रममको प्रारूप बन्दै छ, हामी छिट्टै प्रतिनिधि तोक्छौं,’ प्रवक्ता शर्माले राजधानीसँग भने ।

    जागरण अभियानअन्तर्गत कांग्रेसका नेता कार्यकर्ता तथा शुभेच्छुकहरूसँग पार्टीका स्थानीय गतिविधि तथा समस्याबारे भेटघाट तथा अन्तक्र्रियासहितको छलफल गर्ने तयारी भइरहेको र त्यसको मोडालिटीबारे तयारी भइरहेको उनले जानकारी दिएका हुन् ।

    कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले चैत अन्त्यसम्म वा वैशाखको पहिलो साताभित्रै केन्द्रीय सदस्यहरू तथा भ्रातृ संगठनसहित शुभेच्छुक संघसंस्थाका केन्द्रीय प्रतिनिधिहरूलाई ७७ वटै जिल्लामा पठाउने पार्टीको तयारी रहेको जानकारी दिएका हुन् ।

    ‘केन्द्रीय नेताहरूले पार्टीको संगठनलाई बलियो बनाउने गरी काम गर्नुहुन्छ । भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय प्रतिनिधिहरू आफ्नो संगठन निर्माणमा लाग्छन्, चैत अन्त्य वा वैशाख पहिलो साताभित्रै जिल्लामा प्रतिनिधि तोकिन्छ । आवश्यक तयारी भइरहेको छ,’ मुख्य सचिव पौडेलले भने ।

    केन्द्रले तोक्ने प्रतिनिधिहरूले संगठनका सबै संयन्त्रको अनुगमनसमेत गर्नेछन् । उनीहरूले जिल्ला कार्यसमिति, निर्वाचन क्षेत्रीय समिति सञ्चालनको वर्तमान अवस्था, पदाधिकारी तथा सदस्य नियुक्तिको अवस्था र त्यहाँ पार्टीका कार्य सञ्चालनमा देखिएका समस्या तथा चुनौतीबारे समेत अध्ययन गर्नेछन् ।

    केन्द्रीय प्रतिनिधिहरूले सो क्रममा भेटिएका अप्ठ्यारा तथा असहज अवस्थाबारे पार्टी नेतृत्वलाई प्रतिवेदनमार्फत सुझावसमेत पेस गर्नेछन् ।

    सोही क्रममा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिको समायोजन, प्रदेशसभा निर्वाचन क्षेत्रीय समितिको गठन, पालिका समितिको समायोजन तथा गठनको विषयमा पनि केन्द्रीय प्रतिनिधिहरूले अध्ययन गर्ने र केन्द्रमा सुझाव दिने बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…