काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंगो अझै लाग्न सकेको छैन । तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा एकता भएको १० महिना पुगिसक्दासमेत आन्तरिक समस्याले एकता टुंगो लाग्न नसकेको हो ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले एकता छिट्टै टुंगो लाग्ने बताएका छन् । पार्टीका सांसदसँग विकास मुद्दामा छलफल गर्दै उनले एकता टुंगो छिट्टै लाग्ने बताए । एकता टुंगो लगाउन ढिलाइ भएको स्वीकार गर्दै उनले पार्टीका हरेक कमिटीलाई पूर्णता दिने काम छिट्टै गरिने छलफलमा बताए ।
नेकपा स्रोतका अनुसार पार्टीमा चरम गुटबन्दीका कारण एकता टुंगो लगाउन समस्या भएको हो । पार्टीभित्रको गुटबन्दीकै कारण एकता टुंगो लगाउनमा ढिलाइ भएको स्रोतको दाबी छ । पार्टीभित्रको गुट उपगुटको स्वार्थका कारण एकता प्रक्रिया टुंगो लाग्नमा समय लागेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीजस्तै अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि एकता छिट्टै टुंगो लाग्ने दाबी गरेका छन् । अमेरिकाबाट पत्नी सीता दाहालको उपचार गराई फर्किएका अध्यक्ष दाहालले छिट्टै नै एकता टुंगो लाग्ने बताए ।
नेकपाको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै अहिलेसम्म टुंगो लागेको छ । तर, टुंगो लागेको कमिटीका नेताको कुनै जिम्मेवारी छैन । अहिलेसम्म जिम्मेवारी बाँडफाँट नभएकाले सार्वजनिक कार्यक्रममै नेताले आक्रोश पोख्ने गरेका छन् ।
केन्द्रीय तथा प्रदेश कमिटीका नेताको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी, विभाग जिल्ला कमिटी, क्षेत्रदेखि स्थानीय तहका कमिटीका साथै जनवर्गीय संगठनको एकता टुंगो लागाउन अझै बाँकी नै रहेको छ ।
पार्टीभित्रको गुट उपगुटको स्वार्थकै कारण एकता अलमलमा परेको छ । शीर्ष नेताको भागबन्डामा कुरा नमिलेपछि एकता नै टुंगो लाग्न नसकेको हो । एकता टुंगो लाग्न नसक्दा त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परेको नेताले स्वीकार गरेका छन् ।
नेकपामा अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालका गरी प्रमुख तीन गुट सक्रिय रहेको छ । शीर्ष तीन नेताका प्रमुख गुटका साथै अन्य उपगुट पनि सक्रिय रहेकाले भागबन्डामा किचलो भई एकता टुंगो लाग्न ढिलाइ भएको स्रोतको दाबी छ ।
नेकपा एक नेताका अनुसार मुख्य समस्या तीन नेतामा नै रहेका कारण एकता टुंगो लाग्न नसकेको हो । अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता नेपालका बीचमा भागबन्डा मिल्न नसकेकै कारण एकता टुंगो लाग्नमा समस्या भएको दाबी उनले गरे ।
पछिल्लो समय गठन भएको एकता कार्यदल विघटन गर्दै पार्टी सचिवालयले एकताको सम्पूर्ण काम टुंगो लगाउन आफैं जिम्मेवारी लियो । कार्यदल गठन गर्दै विघटन गर्ने तर सचिवालयले ठोस प्रस्तावसमेत ल्याउन नसक्ने कारण एकता परपर धकेलिँदै गएको हो ।