• उर्लाबारी, १७ चैत  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी भएको बताउनुभएको छ । आफ्नो जीवन गएको २५ वर्षपछि पनि जननेता भण्डारीले लिएका सोच र विचारअनुसारै देशले नयाँ बाटो प्राप्त गरेको बताउँँदै प्रधानमन्त्री ओलीले उहाँको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो । मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जननेता भण्डारीको विचारअनुसारै अहिलेको शासन प्रणाली स्थापित भएको उल्लेख गर्नुभयो ।

    कोही मानिसले नबुझेर र स्वार्थका कारण विरोध गरे पनि जननेता भण्डारीको विचारअनुसारै अब देशको सुशासन र विकास हुने बताउनुभयो । प्रतिष्ठानको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय तह तीन वटै सरकार एक भएर लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सो संस्थामा अध्ययन गर्ने भाइबहिनी इञ्जिनीयर र प्राविधिक भएर निस्कने भएकाले नै संस्थाको विकास नै समाजको विकास हुने बताउनुभयो ।

    अन्तरराष्ट्रिय अध्ययन अनुसन्धान सम्मेलन हुने
    शिक्षाको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताउँदै प्रधानमन्त्री ओलीले शिक्षामा राजनीतिक रङ देखाउन नहुनेमा जोड दिनुभयो । “जे उद्देश्य हो त्यहीअनुसार काम गनुपर्छ”। प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसलाई देश र जनताप्रति साझा संस्थाका रुपमा विकास गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले संस्थाको लेखाप्रणाली स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीले लगानी सम्मेलनको सफलतापछि अब यही आर्थिक वर्षभित्रै युवाको व्यापक सहभागितामा अन्तरराष्ट्रिय खोज, अध्ययन एवम् अनुसन्धान सम्मेलन आयोजना गरिने जानकारी दिनुभयो ।

    प्रधानमन्त्री ओलीले जननेता भण्डारीको सम्झनामा यहाँ निर्माण गरिएको मदन भण्डारी सङ्ग्रहालयको पनि अवलोकन गर्नुभएको थियो । भण्डारीको राजनीतिक, सामाजिक एवम् पारिवारिक गतिविधिलाई समेटेर सो सङ्ग्रहालय निर्माण गरिएको हो । करीब आधा घण्टाको समयमा प्रधानमन्त्री ओलीले सङ्ग्रहालय प्रवेशद्वारमा रहेको जननेता भण्डारीको तस्बीर र उहाँ जन्मिएको ताप्लेजुङको ढुङ्गेसाँघु गाउँको चित्रणदेखि अन्त्यमा चितवनको दासढुङ्गामा उहाँ सवार दुर्घटनामा परेको जीपको अवलोकन गर्नुभयो ।

    जननेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज होस् भन्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले जानकारी दिनुभयो । सो क्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेशका मन्त्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ का इञ्चार्ज भीम आचार्यलगायतको पनि सहभागिता थियो ।

    प्रधानमन्त्री ओली आज अपराह्न आफ्ना निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ दमक आउनुभएको हो । मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटनपछि दमक आइपुग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

    उहाँले दमक नगरपालिका परिसरमा निर्माण भएको नयाँ प्रशासनिक भवनको उद्घाटन र त्यसपछि प्रदेशस्तरीय बृहत् वाङमय सङ्गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्रीले आजै गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिसँग पनि भेटघाट एवं छलफल गर्नुहुनेछ । त्यस्तै सोमबार बिहान उहाँ दमक रेडक्रस हलमा आयोजना हुने नगर र वडा कमिटीको शपथ तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनुहुनेछ । सोमबार नै प्रधानमन्त्री ओलीले दमक ७ मा निर्माण भएको पशुपक्षी हाटबजारको उद्घाटन गर्ने कार्यक्रम छ ।

    त्यसपछि गौरादहस्थित विद्यालय चौरमा भारतीय सरकारको सहयोगमा निर्माण भएको मावि भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सहभागी हुने र अपराह्न काठमाडौँ फर्कने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…