बेलबारी । मोरङको बेलबारी ४ बुधबारेकी २६ बर्षिया रमिला राईको हत्यामा संलग्नलाई बेलबारीमा ल्याई सार्बजनिक गर्नुपर्ने,हत्यामा संलग्न अरु पनि हुनसक्ने भन्दै उनीहरुको खोजी गरिनुपर्ने र हत्यामा संलग्नलाई जन्मकैदको सजाय हुनुपर्ने माग गर्दै किरात राई यायोख्खाले ईलाका प्रहरी कार्यलय बेलबारीमा ज्ञापनपत्र बुझाएको छ ।
आईतबार बिहान ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राई मार्फत यायोख्खा बेलबारीका अध्यक्ष जितुमान राई, तिलक राई,रमिलाका आफन्त र लगायत स्थानीयहरुको टोलीले ज्ञापनपत्र बुझाएको हो । हत्याको आरोपमा पक्राउ परेका बेलबारी ४ का योगेन्द्र गुरुङलाई बेलबारीमा ल्याई सार्बजनिक गर्नुपर्ने र घटनाको प्रकृति हेर्दा एक जनाले मात्र हत्या गरेको जस्तो नभएको र घटनामा अन्य ब्यत्तिहरु समेत संलग्न रहेको हुनसक्ने भन्दै उनीहरुले सुक्ष्म अनुसन्धान गर्न निरिक्षक राईलाई आग्रह गरेका थिए ।
मृतककी दिदि गंगा सुनुवारले दोषीलाई जसरी पनि बेलबारीमा ल्याई सार्बजनिक गर्नुपर्ने र दोषीलाई जन्मकैद हुनुपर्ने बताईन । मृतकका बुवा अगमसेर राईले पनि दोषीलाई जन्कैदको ब्यबस्था हुनुपर्ने बताए । यायोख्खाका अध्यक्ष जितुमान राईले यो घटनामा संलग्नलाई हदै सम्मको कारबाही हुनुपर्ने बताए । उनले यस्तो बिभत्स र क्रुर किसिमले हत्या गर्नेलाई कानुनले कुनै पनि हालतमा छोडन नहुने बताए ।
यायोख्खाका पदाधिकारी तथा संघिय समाजवादी फोरमका बेलबारी अध्यक्ष तिलक राईले कञ्चनपुरमा निर्मला पन्त बलात्कार हुँदा बेलबारीमा पाखुरा सुर्किने महिला अधिकारबादीहरु बेलबारीमै यत्रो घटना हुँँदा नबोल्नुले आश्र्चयमा परेको बताए । बेलबारीकी एक जना चेलीमाथी भएको यस्तो घटनामा महिला अधिकारबादीको खोल ओडेर बसेका र महिला अधिकारबादी हौँ भन्नेहरु चुपचाप बस्नु लज्जास्पद भएको बताए । उनले महिला अधिकारका क्षेत्रमा काम गर्ने महिलाहरुले पनि यो घटनामा बोल्नुपर्ने बताए । शनिबार मात्र आफन्त र स्थानीयले मृतक रमिलाको घरमा पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई बेलबारीमा ल्याई सार्बजनिक गर्नुपर्ने र जन्मकैद हुनुपर्ने माग गरेका थिए ।
रमिलाको हत्या आरोपमा पक्राउ परेका गुरुङले बयानमा गत फागुन १७ गते राति रमिलाको हत्या गरी कोशीमा फालिएको बताएपछि प्रहरीले खोजी गर्ने क्रममा २६ दिनपछि रमिलाको शव निर्मम तरिकाले हत्या गरी बोरामा बाँधेर फालेको अबस्थामा कोहीको ५२ नम्बर गेट देखि ५० मिटर दक्षिणमा भेटिएको थियो । उनको पोष्टमार्टम पछि बेलबारीमा ल्याई अन्त्येष्टि समेत गरिएको छ ।