काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई राजनीतिक रूपमा प्रतिबन्ध लगाएपछि सोमबारसम्म १ सय ३६ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् ।
गत २८ फागुनमा चन्द नेतृत्वको नेकपालाई आपराधिक संगठन भएको ठहर गर्दै सरकारले राजनीतिक रूपमै प्रतिबन्ध गरेको थियो । त्यसयता उसका गतिविधिमाथि उच्च निगरानी गर्दै आएको नेपाल प्रहरीले १ सय ३६ नेता–कार्यकर्तालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूमाथि प्रहरीले धमाधम अनुसन्धान अघि बढाएको छ । अनुसन्धानका क्रममा विभिन्न गतिविधिसहित राजनीतिक क्रियाकलापमा संलग्नता देखिएकालाई प्रहरीले मुद्दा चलाएरै कारबाही अघि बढाएको छ भने कुनै पनि गतिविधिमा संलग्नता नदेखिएकालाई भने छाड्न थालेको छ । हालसम्म पक्राउ परेकामध्ये कुनै पनि गतिविधिमा संलग्न नरहेको देखिएपछि प्रहरीले २२ जनालाई छोडिसकेको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत नेपाल प्रहरीका एसएसपी एवं कार्यवाहक प्रवक्ता उमेशराज जोशीका अनुसार अनुसन्धानका क्रममा कुनै पनि गतिविधिमा संलग्न नदेखिएपछि २२ जनालाई छाडिएको छ । उनका अनुसार पक्राउ परेकामध्ये १ सय १४ जनालाई भने हिरासतमा राखेरै अनुसन्धान अगाडि बढाइएको छ ।
प्रहरीले सरकारको निर्देशनअनुसार नै चन्द नेतृत्वको नेकपाको गतिविधिलाई लक्षित गरेर देशभर उच्च निगरानीसाथ कार्य गरिरहेको जनाएको छ । प्रहरी प्रधान कार्यालयले विशेष टोली खटाएरै विप्लवका उच्च तहका नेतामाथि निगरानी राखेर पक्राउसमेत गर्दै आएको छ ।
केही दिनअघि मात्रै प्रहरीको विशेष टोलीले काभ्रेबाट नेकपाका मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश ओलीलाई पक्राउ गरेको थियो । यस्तै, प्रहरीले नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्कीलाई राजधानीबाटै पक्राउ गरेको थियो । यसबीचमा प्रहरीले विभिन्न क्षेत्रका इन्चार्जलाई समेत पक्राउ गरिसकेको छ । केही दिनअघि मात्रै प्रहरीले सो समूहका भेरी–कर्णाली इन्चार्ज धनराज शाहीलाई पक्राउ गरेको थियो । यस्तै, प्रहरीले जिल्ला मजदुर संगठन कालिकोट इन्चार्ज भरत शाहीलाई पनि पक्राउ गरेको छ ।
प्रहरीले नेकपाका राजनीतिक गतिविधिमा सरकारले प्रतिबन्ध लगाएकाले कहीँ कतै कुनै पनि कार्यक्रम वा गतिविधि भएको अवस्थामा संलग्नताका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने बताउँदै आएको छ । यस्तै, विगतमा उनीहरूमाथि विभिन्न जिल्लामा दर्ता भएका मुद्दा वा उजुरीका आधारमा समेत प्रहरीले नेकपाका नेता–कार्यकर्तालाई पक्राउ गरिएको जनाएको छ । राजधानीबाट ।