बाहुनडाँगी । क्षेत्र ‘घ’ मा सञ्चालन भएको नेपाल जेसीजको साप्ताहिक तालिम सम्पन्न भएको छ । नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष जेसी श्याम सुन्दर मिलनले जनकपुर महाधिवेशनको ककसमा व्यक्त गर्नु भएको जुन क्षेत्रको निरुपित भए पनि शाखा भ्रमणको क्रममा तालिम लिएर मात्र जाने छु भन्ने उद्घोषलाई पुरा गर्नै कार्यकारीणी उपाध्यक्ष पौडेलले एक साता लगाएर यो क्षेत्रमा तालिम सम्पन्न गर्नु भएको हो । यस क्षेत्रमा रहेका ४७ वटा शाखा मध्ये करिब ३६ वटा शाखाको प्रत्यक्ष सहभागिता रहेको थियो । बुटवल जेसीजबाट सुरु भएको तालिम त्रिभूवननगर, सुर्खेत लेडी जेसीज, धनगढी लेडी जेसीज हुँदै टिकापुर जेसीजमा पुगेर सम्पन्न भएको थियो । तालिममा यस क्षेत्रका करिब ५ सय जेसीहरुको सहभागिता रहेको थियो । कार्यकारीणी उपाध्यक्ष पौडेलले तालिमले यस क्षेत्रका जेसीहरुमा थप उर्जा दिएको बताउनु भयो । उहाँले आगामी दिनमा समेत अझ प्रभावकारी तालिमहरु सञ्चालन गर्ने समेत बताउनु भयो ।
टिकापुर जेसीजको आयोजनामा भएको तालिम २ दिन सञ्चालनपछि साप्ताहिक तालिमको समापन भएको थियो । प्रभावकारी अध्यक्षता तथा संसदीय व्यवस्था सम्बन्धि तालिममा टिकापुर क्षेत्रका विभिन्न कार्यालय, संघ संस्था, तथा जेसीजका विभिन्न शाखाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिममा रोवर्ट रुल अफ अर्डर न्यू रिभाइजड को आधारमा सहभागिलाई राष्ट्रिय प्रशिक्षक सिनेटर राजाबाबु शाहले प्रशिक्षण गराउनु भएको थियो । शुक्रवार र शनिवार सञ्चालन भएको तालिममा सहभागि नेकपाका मोहन विकले जेसीजमा मात्र नभएर अन्य संघ संस्थामा समेत त्यसलाई लागु गरेर अगाडी बढ्न सकिने बताउनु भयो । समापन कार्यक्रममा बोल्दै कोहोलपुर जेसीजकी अध्यक्ष संगिता पौडेल सुवेदीले नेपाल जेसीजको सहयोगमा टिकापुर जेसीजले निकै प्रभावकारी तालिमको आयोजना गरेर यस क्षेत्रका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुका साथै जेसीजको एरिया डि अन्तरगतका विभिन्न शाखाहरुलाई गुन लगाएको बताउनु भयो ।
टिकापुर जेसीजका अध्यक्ष गणेश साउदको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका एरिया डि का निरुपित कार्यकारीणी उपाध्यक्ष श्यामसुन्दर पौडेल मिलन प्रमुख अतिथि रहनु भएको थियो । तालिममा सक्रिय सहभागिता जनाउने ४ जना लाई पुरस्कृत तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन महासचिव तपेन्द्र स्वारले गर्नु भएको थियो ।