रूपेन्द्र शेर्मा
उर्लाबारी, १९ चैत/मोरङको रतुवामाई नगरपालिकामा प्रथम मेयरकप फुटबल प्रतियोगिता सञ्चालन हुनेभएको छ । प्रतियोगितामा दुई लाख रुपैयाँ मुल्य पर्ने रनिङ शिल्डको व्यवस्था समेत गरिएको छ । शिल्डमा एक तोला सुन र एक किलो चाँदी समावेश गरिएको आयोजकको दाबी छ ।
मेयरकप फुटबल सञ्चालक समितिको आयोजनामा आगामी चैत २६ गतेदेखि सो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगितामा नगरपालिकाको १० वडाका एक सय ५० खेलाडिले सहभागिता जनाउने मंगलबार सिजुवामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुने वडालाई ३० हजार नगद पुरस्कार प्रदान गरिने समितिका संयोजक केशब राईले जानकारी दिए । प्रतियोगितामा सर्वोत्कृष्ठ खेलाडिलाई १० हजार र प्रत्येक खेलका म्यान अफ दि म्याचलाई दुई हजार राशीको नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा सहभागिता जनाउने प्रत्येक टिमलाई प्रोत्साहनस्वरुप नगद पाँच हजार रुपैयाँ प्रदान गरिने राईले बताए ।
रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले ‘मेयर कप’ नगरपालिकाको प्रतिष्ठासँग जोडिएको दाबी गरे । यसबर्ष सञ्चालक समिति गठन गरेर मेयरकप आयोजना गरिएपनि आगामी बर्षमा खेलकुद विकास समिति गठन गरेर सञ्चालन गरिने उनले बताए । नगर क्षेत्रमा खेलकुद विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै नगर प्रमुख राईले खेलकुदमा रुची राख्ने युवाहरुको क्षमता विकासमा ध्यान दिइने उल्लेख गरे ।
https://www.youtube.com/watch?v=scI_k1Rl3OI&feature=youtu.be&fbclid=IwAR1FMsKI5cFeeylqNkmaOzO9C5qPFcJ1M1MmmK0L_yjDh9ujVozZgEXvPPA