काठमाडौं, २१ चैत । महासमिति बैठकको म्याण्डेटलाई केन्द्रिय कार्यसमितिको बैठकको बहुमतले लत्याएको भन्दै त्यसलाई सच्याउन दवाव दिन कांग्रेसका जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएका छन् ।
केन्द्रिय समिति बैठकले महासमिति बैठकको एजेण्डाविपरीत विधान पारित गरेपछि परिमार्जनका लागि दबाब स्वरुप पुनः भेला हुन लागेका हुन् । यसरी कांग्रेसभित्रको विवाद फेरि सतहमा देखिएको छ ।
११ र १२ मंसिरमा नुवाकोटको ककनीमा सम्पन्न कांग्रेस जिल्ला सभापतिहरुको भेलाले पार्टी विभिन्न २४ बुदें सुझाव प्रतिवेदन बुझाएको थियो ।
भेलाले गरेको निर्णय र दिएका सुझावहरुमध्येको प्रमुख मुद्दाको रुपमा रहेको विधानसम्बन्धी दुई बुँदाबारे महासमिति हुँदै केन्द्रिय समितिमा आएर पनि टुङ्गो नलागेपछि जिल्ला सभापतिहरु पुनः एकजुट भएका हुन् ।
मंसिरमै ककनीमा सम्पन्न जिल्ला सभापतिहरुको भेलाले संशोधित विधानमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने त्यसको लागि वडास्तरबाटै चुनाव जितेर आउनुपर्ने र आरक्षणको सुविधामा एकपटक मात्र अवसर दिनुपर्ने सुझाव दिएको थियो । तर, यी बुँदालाई केन्द्रिय समिति बैठकले नमानेपछि जिल्ला सभापतिहरु रुष्ट हुँदै भेला आयोजना गरेका हुन् ।
आफ्ना माग महासमिति बैठकमा पनि राखेका सभापतिहरुले कार्यसमितिको निर्णय पुनर्विचार गर्न दबाबस्वरुप भेला भएको बताएका छन् ।
भेलाले विशेष महाधिवेशन बोलाउने सम्मको निर्णय गर्ने चेतावनी जिल्ला सभापतिहरुले दिएका छन् । चैत २३ गते पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा आफ्ना माग राख्ने गरी २० र २१ गते भेला राखिएको बताइएको छ ।
गत मंसिर–पुसमा सम्पन्न महासमिति बैठकको समापन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले जनाएको मौखिक प्रतिबद्धता विपरित पार्टी केन्द्रीय कार्यसमितिबाट बहुमतले पारित विधानमा पुनर्विचार गर्न जिल्ला सभापतिहरुले दवाव दिदै आएका छन् । अभियान टाइम्सका साथमा ।