दिनेश खड्का,विराटनगर
२२ चैत । मोरङको रंगेली–३, आमतोलास्थित आनन्द इँट्टा उद्योगमा रहेका बालबालिकाहरूलाई विद्यालयको शैक्षिक सामग्री प्रदान गरिएको छ ।
उद्योगमा कार्यरत मजदुरका साथमा आएका बालबालिकाहरूलाई शुक्रबार विद्यालय झोला र स्टेशनरी सामग्री प्रदान गरिएको हो । इँट्टा उद्योगहरूमा कामदारका साथ बालबालिकाहरू पनि आउने तथा बालबालिका पनि श्रममा संलग्न हुन सक्ने जोखिम हुन्छ । आनन्द इँट्टा उद्योगमा सञ्चालित बेटर ब्रिक नेपाल परियोजनाले उद्योगमा हुनसक्ने विभिन्न मुद्दाहरूलाई सम्बोधन गर्नका लागि विभिन्न किसिमका क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको छ । आमाबुबाका साथमा आएका बालबालिकाहरूको शैक्षिक पहुँच अभिवृद्धिका लागि उद्योग परिसरभित्र आनन्द प्रारम्भिक बाल विकास तथा शिक्षा केन्द्र सञ्चालन भइरहेको छ ।
बाल विकास केन्द्र र अनौपचारिक शिक्षामा ११३ जना बालबालिकाहरूले सिकाइको अवसर प्राप्त गरेका थिए । कामदारहरू इँट्टा उत्पादन सम्पन्न गरी घर फर्कने समयमा ती बालबालिकहरूले आफ्नो पढाइ सुचारु गर्न सहयोग पुगोस् भनेर शैक्षिक सामग्री वितरण गरिएको परियोजनाले जनाएको छ । परियोजनाका अनुसार आनन्द इँट्टा उद्योग, धनपालथान–६, दादरबैरियामा पनि सो परियोजना सञ्चालन भइरहेकोले तहाँका बालबालिकाहरूलाई पनि शैक्षिक सामग्री वितरण गर्ने योजना छ । कार्यक्रममा, उद्योगका महाप्रबन्धक उज्ज्वल चिरानियाँले बालबालिका सिकाई क्रियाकलापमा संलग्न भएकाले कामदारले गुणस्तीय इँट्टा उत्पादनमा सहयोग मिलेको बताए ।