चैत २३
काठमाडौँ,
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रवास कमिटीको एकता प्रस्ताव तयार भएको छ । पार्टीका सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा गठन भएको कार्यदलले सो प्रस्ताव तयार पारेको हो ।
विभिन्न ३६ वटा देशमा रहेका प्रवास कमिटीमध्ये २१ वटा देशका कमिटी सर्वसम्मतिले टुङ्गो लागिसकेका छन् भने १५ वटा देशका कमिटीमा सर्वसम्मति हुन सकेको छैन । सर्वसम्मति हुन नसकेका १५ वटा देशका प्रवास कमिटीलाई सचिवालयले टुङ्गो लगाउने गरी कार्यदलले प्रस्ताव तयार गरेको जानकारी कार्यदलका सदस्य युवराज चौलागार्इंले दिनुभयो ।
उहाँले सचिवालयलाई बुझाउने गरी आफूहरूले एकताको प्रस्ताव तयार गरिसकेको र चाहिएको बेलामा बझाउने बताउनुभयो । तत्कालीन नेकपा (एमाले) को प्रवासी नेपाली मञ्च र तत्कालीन नेकपा (माओवादी केन्द्र) को नेपाली जनप्रगतिशील मञ्च एकीकरणबाट प्रवासी नेपाली एकता मञ्च बनाउने कार्यदलले प्रस्ताव गरेको चौलागाईंले जानकारी गराउनुभयो ।
उहाँले थप्नुभयो, ‘‘मिल्न नसकेको ठाउँमा अझै पनि मिलाएर पठाउन भनेका छौं, जुन देशको प्रवास कमिटीमा सर्वसम्मति भएको छैन, त्यहाँ अझै मिलाउन सकिन्छ । तयार भएको प्रस्ताव सर्वसम्मतिले आयो भने ठीकै छ नभए जस्तोआएको छ त्यस्तै सचिवालयमा बुझाउँछौं ।’’
गत साउन २४ गते प्रवास कमिटीको एकीकरणका लागि प्रवक्ता श्रेष्ठको संयोजकत्वमा गठन भएको कार्यदलमा तत्कालीन एमालेबाट डा. विन्दा पाण्डे, युवराज कार्की र माओवादी केन्द्रबाट युवराज चौलागाईं सदस्य रहनुभएको छ ।
एउटा दलले अध्यक्ष लिएपछि अर्को दलले सचिव लिने मापदण्ड अनुसार नै एकताको प्रक्रिया अघि बढेको नेकपाले बताएको छ । जसअनुसार तत्कालीन एमालेले २० र तत्कालीन माओवादी केन्द्रले १६ देशको प्रवास कमिटीमा भागबण्डा पाएको छ ।
नेकपाका कार्यालय सचिव एवं केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले एकता प्रक्रिया टुङ्गिने अवस्थामा पुगिसकेको र चाँडै नै सचिवालयको बैठक बसेर सार्वजनिक गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रवासको मात्र होइन, लगभग सबै कमिटीको एकता प्रस्ताव तयार भइसकेको छ, पार्टीले एकै दिन सबै सार्वजनिक गर्नेछ ।’
उहाँले सचिवालय तथा अन्य कमिटीको बैठक नबसे पनि शीर्ष नेताहरूबीच एकताका लागि दैनिकरूपमा आन्तरिक छलफल भइरहेको बताउनुभयो ।
जेठ ३ गते दुई दलबीच एकता भएको थियो । हालसम्म दुई अध्यक्ष, ४४१ सदस्यीय केन्द्रीय समिति, नौ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी कमिटी र प्रदेश कमिटी गठनको काम सकिएको छ । त्यस्तै, महासचिवमा विष्णु पौडेल र नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारीबाहेक कार्य समितिमा अरू कसैलाई जिम्मेवारी तोकेको छैन ।गोरखापत्रबाट