भरतपुर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली काङ्ग्रेस राजनीतिक मुद्दा छाडेर समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्ने धारणा राखेका छन्।
चितवनको खैरहनी नगरपालिकाको वडा नं ४ र ५ का वडाध्यक्ष स्व नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको स्मृतिमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा नेता पौडेलले समयअनुसार काङ्ग्रेस परिवर्तन हुनुपर्ने बताएका हुन्।
निर्वाचनका बेला टिकट दिँदा ध्यान पु-याउन नसक्दा निर्वाचनको गणितमा काङ्ग्रेस पराजित भएको भए पनि विचारमा भने अगाडि रहेको उनले बताए।
काङ्ग्रेसले सरकारमा हुँदा राज्यको ढुकुटी रित्तो पारेको भनी अहिलेको सरकारले प्रचार गरेको उनको आरोप छ।
कम्युनिष्ट सरकारले काङ्ग्रेसलाई विभिन्न आरोप लगाएर गलत देखाउन खोजे पनि सफल नहुने उनको जिकिर छ।
उनले सत्तारूढ नेताहरुकै संरक्षणमा देशमा भ्रष्टाचार बढेको आरोप समेत लगाएका छन्। नेपाली काङ्ग्रेस खैरहनी नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ ले रक्तदान गरेका छन्र।
रक्तदानसँगै २०७६ को भित्तेपात्रो लोकार्पणसमेत गरिएको थियो । कार्यक्रममा जिल्ला सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापति टेकप्रसाद गुरुङ, खैरहनी नगर समितिका सभापति शशिकुमार खनियाँलगायतले मन्तव्य व्यक्त गरेका थिए।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        