देबु बानियाँ
बाहुनडागी । वालिङ जेसीजले वर्ष २०१९ को मार्च महिनाको उत्कृष्ट शाखा अवार्ड प्राप्त गर्न सफल भएको छ ।
नेपाल जेसीजले सोमवार सार्वजनिक गरेको जेसीज अफ द मन्थको अवार्ड अन्तरगत एरिया बि बाट वालिङ जेसीजले यो अवार्ड पाउन सफल भएको हो । शाखाले व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक क्षेत्रमा गरेको गतिविधिको आधारमा तेस्रो महिनाको अवार्ड यस क्षेत्रबाट वालिङले प्राप्त गरेको हो । पहिलो महिनाको अवार्ड पोखरा लेडी जेसीज र दोस्रो महिनाको अवार्ड लमजुङ जेसीजले प्राप्त गरेको थियो ।
शाखाको कार्य सम्पादनको आधारमा नेपाल जेसीजले यो अवार्ड प्रदान गर्दै आएको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले क्षेत्र ‘ख’ बाट उत्कृष्ट शाखाको रुपमा वालिङ जेसीज छनोट भइ उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको बताउनु भएको छ ।
शाखाले उत्कृष्ट अवार्ड प्राप्त गरेपछि शाखा अध्यक्ष राजु तिवारीले नेपाल जेसीज तथा राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेललाई धन्यवाद व्यक्त गर्नु भयो । साथै उहाँले यो अवार्डले शाखालाई थप हौषला प्राप्त भएको बताउनु भयो ।