• उर्लाबारी । उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले प्रदेश प्रमुख समक्ष सोल्टी र मिक्लु खोला उत्खनन्‌का सम्बन्धमा बनेको छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिदिन आग्रह गरेका छन् ।



    सोमबार उर्लाबारीमा क्यान्सर रोग सम्बन्धी स्वास्थ्य परीक्षण शिविरको प्रमुख अतिथि रहनुभएका प्रदेश नं. १ का प्रदेश प्रमुख प्रा. डा. गोविन्द तुम्बाहाङ समक्ष उनले प्रतिवेदन सार्वजनिक गर्न पहल गर्न आग्रह गरेका हुन् ।

    सोल्टी र मिक्लु खोलामा अवैध उत्खनन् भएको भन्दै जिल्ला प्रशासन कार्यालयले इलाका प्रशासन कार्यालय उर्लाबारीका तत्कालीन प्रमुख रामबहादुर कुरुङवाङको नेतृत्वमा गत वर्ष वैशाख ९ गते छानविन समिति गठन गरेको थियो । छानविन समितिले प्रतिवेदन तयार पारेर बुझाएपनि अहिलेसम्म उक्त प्रतिवेदन गोप्य नै राखिएको भन्दै नगर प्रमुख फागोले सार्वजनिक गर्न माग गर्दै आएका छन् ।

    ‘सोल्टी र मिक्लु खोला उत्खनन्को प्रतिवेदन सरकारले सार्वजनिक गर्नुपर्ने, मैले खोजिरहेको छु’ नगर प्रमुख फागोले भने, ‘भ्रष्टाचार, कमिशनको खेल भएको प्रमाणित भए जेल जान तयार छु ।’ आफूले प्रदेश सांसद कुशल लिम्बू, संघीय सांसद घनश्याम खतिवडा तथा प्रदेशका मन्त्रीहरुलाई पनि पटक पटक प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दापनि अहिलेसम्म सार्वजनिक नगरेको उनको भनाई थियो ।

    नगर प्रमुख फागोले कानुनको अधिनमा रहेर जनताको काम गर्ने बताउँदै भने, ‘कसैको प्रभावमा पर्दिनँ । पाँच पैसापनि अनियमितता हुन दिन्नँ ।’

    प्रमुख प्रशाकीय अधिकृत नहुँदा काम रोकिएको छैनः

    आफूले नगरमा हुने फजुल खर्च जोगाएको बताउँदै उनले लोभलाचमा फस्ने कर्मचारी उर्लाबारीमा नटिक्ने बताए । लामो समयसम्म उर्लाबारीमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विभिन्न टिकाटिप्पणी हुँदै आएको भन्दै उनले प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम नरोकिएको बताए ।

    फजुल खर्च गर्ने, बिल भरपाई मिलाउने कर्मचारी उर्लाबारीमा नटिक्ने र भएका कर्मचारीले इमान्दारिताका साथ कार्य गरेको उनको भनाई थियो ।

    फरक प्रसंगमा नगर प्रमुख फागोले राजमार्ग ८२ फिट क्लियर गर्ने मामिलामा ठूलाठालुले नै दम्भ देखाएको पाइएको बताए ।

    राजमार्ग खाली गराउनका लागि सार्वजनिक सूचना जारी गरी सबैलाई जानकारी गराइएको र अटेर गरेपछि डोजर लगाइएको उनको भनाई थियो ।

    https://www.youtube.com/watch?v=ZuT71uduiQ4

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…