२६ चैत, काठमाडौं । कांग्रेसमा फेरि सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच भागवण्डा सुरु भएपछि तेस्रो धार बन्ने प्रयासमा रहेका नेता कृष्ण सिटौला असन्तुष्ट देखिएका छन् । सभापतिले बोलाएको शीर्ष नेताहरुको बैठकमा समेत नगाएका सिटौला मंगलबार एक सार्वजनिक कार्यक्रममा उपस्थित मात्र भएनन्, नेतृत्वमाथि खनिए ।
उनले आम चुनावमा व्यहोरको हारदेखि अहिलेसम्म पार्टी नेतृत्वको भूमिकाबारे खरो टिप्पणी गरे । देश कम्युनिस्टहरुको कब्जामा रहेको भन्दै उनले पार्टी कब्जा गर्न छाडेर जनतामा जाने र पार्टीलाई गति दिने कार्यक्रम ल्याउन पार्टी सभापति देउवालाई आग्रह गरे । पार्टीभित्र एकता नभएको र यसले आम कार्यकर्ता शुभेच्छुक बिचलित अवस्थामा रहेको उनले बताए ।
प्रस्तुत छ सिटौलाको भनाइ उनकै शब्दमाः
चुनावमा बेतिथी भएकै हो
२०१५, ०४८, ०५६ सालको मध्यावधी निर्वाचन र ०६४ को निर्वाचन हाम्रा नेताहरु नभएको भए हुँदैनथ्यो । २०७० को निर्वाचन पनि भयो । निर्वाचन हारेको अवस्था होस् या जितेको, हामीले अरु पार्टीको चुनाव चिन्हमा भोट हाल्न लगाएका थिएनौं ।
तर, यसपटक(२०७४)को निर्वाचनमा हामी गणतन्त्रवादी भन्नेले राजा चाहिन्छ भन्ने राप्रपालाई भोट हाल्न लगायौं । कहिँ हसिया हथौडामा, कहिँ महन्थ ठाकुरजी (राजपा) लाई सघायौं । कहिँ संघीय समाजवादीका उपेन्द्र यादवलाई सघायौं त कहिँ बाबुराम भट्टराई, कहिले पशुपति शमशेर राणालाई सघाउन लगायौं । अझ चितवनमा त्यस्तो घटना (मतपत्र च्यात्ने) घट्यो । साथीहरुले प्रश्न उठाए, छ महिना अगाडि हसिया हथौडामा भोट हाल्न लगाउनुभयो, ६ महिना पछाडि हलोमा ।
यसपटक चुनावमा बेतिथी भएकै हो, ठूलो कमजोरी भएकै हो, सैद्धान्तिक विचलन भएकै हो ।
०६४ सालको संविधानसभा निर्वाचनमा ठूलो हार भयो । यसबारे प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई थाहा थियो । त्यो बेला उहाँले शेरबहादुर देउवा, सुशील कोइराला, रामचन्द्र पौडेल सबैलाई साथमा लिनुभयो र मेची महाकाली जानुभयो । उभिएर बोल्न सक्नुहुन्नथ्यो, बसेर बोल्नुहुन्थ्यो तर, निर्वाचन भएको ६ महिनापछि चुनावी हारलाई बिर्सने गरी उत्साह भर्नुभयो ।
त्यसैको तेजले ०७० को चुनावमा पार्टी सबैभन्दा ठूलो भयो र सुशील कोइराला प्रधानमन्त्री बन्नुभयो । हाम्रै नेतृत्वमा संविधान ल्याउन सफल भयौं । त्यसकारण नीतिगत र सैद्धान्तिक पक्षमा विचलन आउन दिनुहुँदैन । गशेणमानले राणाकालदेखि स्थापित गराउनुभएको छ कि सैद्धान्तिक निष्ठता र नीतिगत ताकत कांग्रेसको एकताको आधार हो ।
अहिले ती आधारहरु कमजोर भएको महसुस भएको छ । हठी ….! हठ भयो भने के हुन्छ ? मान्छे जड हुन्छ । जड भयो भने के हुन्छ ? समग्र दिमागका ढोकाहरु बन्द हुन्छन्, नैतिकता बन्द हुन्छ, अन्धो हुन्छ । तानाशाही बाटोमा हिँड्न थाल्छ ।
देश कम्युनिस्टको कब्जामा छ, सभापति बोल्नुहुन्न ….
मैले शेरबहादुर देउवाजीलाई पटकपटक भनेको छु, कांग्रेसको कार्यक्रम ल्याउनुस् । देश त कम्युनिस्टहरुको कब्जामा छ, पार्टी कब्जा गर्नु ठूलो कुरा होइन । महाधिवेशनमा प्रतिस्प्रर्धा गरौंला, पार्टी कब्जा गर्न छोड्नुस् । पार्टीलाई गति दिने र नेपाली जनतालाई कम्युनिस्टको कब्जाबाट निकाल्ने गरी कार्यक्रम ल्याउनुस् ।
यस्तो हुँदा खुला ढंगले सहयोग गर्न पार्टीका कार्यक्रताहरु तयार छन् । कार्यकर्ता र शुभेच्छुकहरुले पनि एकताबद्व भएर आउनुस् भनेका छन् । त्यो एकताको प्रयास, एकताको सुत्र, एकताको कार्ययोजना कसले ल्याउने ? खोई प्रस्ताव ? मैले शेरबहादुरजी, रामचन्द्रजी सबैलाई भनेको छु, पार्टीपंतीमा निर्वाचनको भन्दा ठूलो हार हुन थाल्यो । अहिले सबैभन्दा चिन्ताको विषय यही हो ।
पार्टीको आन्तरिक कुरा जति शीर्ष नेताहरुसँग भएको छ, त्यो केन्द्रीय समितिमा पनि बोलेको छैन । बाहिर धेरै छताछुल्ल्ल पार्न पनि चाहन्न तर, पार्टीलाई बृहत एकताको सुत्रमा लिएर हिँड्ने बेलामा पार्टी केन्द्र अलमलिएकै हो ।
पार्टीभित्र भागवण्डा खोज्दिन तर, सभापतिजीले नै मलाई यति प्रतिशत चाहिन्छ, तिमी यति लेउ भनेपछि … बिचरा रामचन्द्रजी के गर्नुहुन्छ … देउ यति प्रतिशत भन्नुहुन्छ । पार्टीमा योग्यता र क्षमताको आधारमा नभएर मेरो हो कि होइन भन्ने आधारमा जिम्मेवारी बाँडफाँट हुने गरेको छ । हामी भन्दा क्षमतावान युवाहरु छन् । अनि जेष्ठताको आधारमा युवाहरुलाई पाखा लगाउने हो ? आफ्नैलाई अपमान गरेर सम्मान पाइन्न ।
प्रधानमन्त्री भन्नुहुन्छ, म जे भन्छु तिमीहरु मान । उहाँले संवैधानिक आयोगहरुमा नियुक्ति गर्नुभयो । हामी के गर्छौ त ? सभापति मुद्दा हाल्छु भन्नुहुन्थ्यो, हाल्नुभएन । किन हो उहाँलाई थाहा होला । चार वटा संवैधानिक आयोगमा नियुक्ति हुँदा संसदीय समितिमा बहिष्कार पनि गर्यौं ।
अहिले निर्वाचन आयोगमा एउटा सचिवलाई लाने प्रस्ताव छ । को–को मान्छे परे मेरो चिन्ताको विषय होइन । मेरो चिन्ताको विषय सबैले मिलेर ल्याएको संविधानलाई क्षतविच्छेद पार्ने काम कम्युनिस्ट पार्टी र सत्ताबाटै हुन थाल्यो । यसमा कांग्रेस किन बोल्दैन ? दलको नेताले बोल्नुप¥यो । संसदमा बोल्नुप¥यो । तर, हामी यस्ता विषयमा गम्भीर छैनौं ।
संसदमा थोरै हौंला तर, कमजोर छैनौं । सरकार र सत्तालाई तह लगाउने प्रतिपक्षले हो । प्रतिपक्षको भूमिका दह्रोसँग संसददेखि सडकसम्म पुग्न प¥यो । विषयवस्तु उठान गर्न सक्नुप¥यो । संवैधानिक रुपमा थिचोमिचो भएको छ, भ्रष्टाचार भएको छ, समायोजनको नाममा विभेद भएको छ । न्यायपालिका स्वतन्त्र छ ? संविधानमा उल्लेख भएका व्यवस्था र नागरिकका मौलिक अधिकार, समानताको हक, शिक्षा स्वास्थ्य उपचारको हक कार्यान्वयन भएको छ ? तर, सभापति बोल्नुहुन्न । मैले बोलेर मात्र के गर्ने ?
सत्ताले प्रेस, न्यायपालिका, लोकसेवा आयोगमा हस्तक्षेप गर्दैछ, यसकारण कांग्रेस जाग्न सक्नुपर्छ । कांग्रेस नजाग्ने हो र लम्पसार पर्ने हो भने भविष्य सुखद छैन । जनताको जीवनमा कुनै परिवर्तन आएको छैन । यसलाई लिएर जनतामा जाने कांग्रेसको योजना खोई ? कुनै नीति छैन कांग्रेसको ।
९० प्रतिशतभन्दा बढी किसान भएको देशमा सबैभन्दा बढी किसान मर्कामा छन् । किसानको मर्म के छ ? किसानको आवाज के छ ? त्यो आवाज कांग्रेसले बोल्नुपर्छ । शिक्षकको अवस्था, कर्मचारीको अवस्था के छ ? कांग्रेसले उठाउनुपर्छ ।
दलित, महिला, अपांगता भएकाहरुको समावेशीताको कुरा छ । तर, राजनीतिक रुपमा सम्बन्ध भएकाहरु केहीको जीवन उकासियो होला तर, वास्तविक क्षेत्र र भुगोलका जनताको जीवनमा कुनै परिवर्तन आएको छैन । अहिले पनि पालमा बस्नेहरु छन् ।
रोजगारीका लागि विदेश जानेक्रम रोकिएको छैन । यसमा कांग्रेसले आवाज उठाउनुपर्छ । दरबारतिर मुख हेरेर कांग्रेसमाथि उठ्दैन । हामी समाजवादी पार्टी त्यही अनुसार काम हुनुपर्छ । काम गर्ने ठाउँमा सरकार छ । हामी जनताको आवाज बोल्ने ठाउँमा छौं । हामी बोलेनौं भने सरकार तानाशाही बाटोमा अगाडि बढ्छ ।
विधान अस्वीकृतबारे
केन्द्रका नेताहरु वडादेखि नै निर्वाचित भएर आउ है भनेर महासमितिले निर्णय ग¥यो । चार दिनको महासमिति नौ दिनसम्म चल्यो । समापन समारोहमा पार्टी सभापति र वरिष्ठ नेताले केन्द्रका नेता सबै तलैदेखि उठेर आउने भन्नुभयो, गटट्ट ताली बज्यो, विधान पारित भयो ।
तर, केन्द्रीय कार्यसमितिले त्यो विधान टुङ्ग्याउने कुरा हुँदा त्यो फेरियो । मैले धेरै पटक अनुरोध गरेँ–समानुपातिक समावेशीमा दाहोरिनुहुन्न । केन्द्रीय नेताहरु तलैदेखि जिम्मेवार भएर आऊ । त्यो नभएपछि फरक मत राख्नुपर्यो ।
हाम्रो मनपरीले पार्टी पोखिन सक्छ । पोखिएपछि उठाउन सकिँदैन । त्यसकारण विवादमा रहेका विषय होल्ड गरौं र अरु बिधान छापौं भन्दा मानिएन । मैले सभापतिलाई भनेँ, रामचन्द्रजीलाई भनेँ । तर बहुमत अल्पमतमा जाने हुँदा नोट अफ डिसेन्ट मा हामी गयौं । एकताबद्व हुनुपर्छ भन्ने तपाईँहरुको चिन्ताको सम्मान गर्न चाहन्छु तर, यहाँ महासमिति भन्दा ठूलो केन्द्रिय समिति हुन थाल्यो । यसो भयो भने पार्टी कहाँ पुग्छ ?
नेविसंघ कहाँ छ ?
भातृ तथा शुभेच्छुक संस्थाहरु क्रियाशील हुन सकेका छैनन् । प्रेस युनियन जस्तो संस्था तीन वर्षको कार्यकाल पाँच वर्षमा चल्दैछ । नेविसंघ कहाँ छ ? शेरबहादुर देउवाजीले दुई महिना थप्ने भन्नु भएको थियो । मैले ६ महिना थपौं भनेको थिएँ । दुई महिना थपियो, त्यो भन्दा बढी १५/२० दिन साथीहरुले काम गरे । तर, अन्त्यमा गएर भंग भयो । रामचन्द्रजीले पनि राजीनामा गर है भनिदिनुभयो महामन्त्रीजीलाई । शेरबहादुरजीले पनि नैनसिंहलाई राजीनामा गर्न भन्नुभयो, भंग भयो । भंगमा पर्नेहरुले कहाँ छन् अहिले ?
अब तदर्थ समिति .. प्रभु मलाई भनेर जाने । कांग्रेस त स्वाभिमान हो, स्वतन्त्रताको झण्डा हो । स्वाभिमान मारेर चाकडी प्रथामा गएर कांग्रेस बन्दैन । आफैँभित्र बोल्न नसक्ने, आफ्नो मनको कुरा भन्न नसक्ने, आफ्नै पार्टी सुधार्न जुरुक्क उठ्न नसक्नेले कम्युनिस्टसँग कसरी लड्न सक्छ ? सबै क्षेत्रमा सत्ता हावी भएको छ । लड्नु त हामी सबैसँग छ तर, सबैसँग लड्नलाई हामीलाई प्रत्येक कार्यक्रताको उत्साह, स्वाभिमान चाहिन्छ ।
यो व्यवस्थामा कम्युनिस्टहरुले राम्रो गर्दैन । मर्निङ सोज द डे भनेजस्तै त्यो देखाइसक्यो । निर्वाचन पछि आएको पहिलो सरकारले नै जनतालाई दण्ड दिइरहेको छ, अत्याधिक कर बृद्वि र महंगी छ । यसलाई खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्षी स्वमं कांग्रेस भने आफैँभित्र लुछाचुँडीमा छ, यसरी पार्टी चल्दैन । तलदेखि माथिसम्म योग्यता र क्षमता भएकालाई जिम्मेवारी दिऊँ, त्यसैको आधारमा एकता हुन्छ । पार्टीलाई सैद्धान्तिक गन्तव्यमा हिँडाउनुस्, तबमात्रै पार्टी एकता हुन्छ ।
(जनआन्दोलन दिवसका अवसरमा कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ काठमाडौंले मंगलबार राजधानीमा गरेको कार्यक्रर्ता भेला तथा सम्मान कार्यक्रममा पूर्वमहामन्त्री कृष्ण सिटौलाले गरेको सम्बोधनको सम्पादित अंश)
अनलाइनखबर