• काठमाडौं । अस्पताल, बिरामी र डाक्टर एकअर्काका परिपूरक हुन् तर अहिले देशभरमा अनौठो दृश्य देख्न पाइन्छ, डाक्टरहरू अस्पताल जान्छन् तर बिरामीलाई वास्ता गर्दैनन् र छुनै चाहँदैनन् ।’ देशभरका बिरामी, उनका आफन्त र सर्वसाधारणले डाक्टरको यस्तो बानीका कारण आजित हुँदै भन्न थालेका छन् ‘कति निष्ठुरी डाक्टर ।’डाक्टरहरू पाँच दिनदेखि बिरामीलाई उपचारै नगरी आन्दोलित हुँदा देशभरमा दैनिक हजारौं बिरामी दिनप्रतिदिन प्रताडित हुँदै आइरहेका छन् । बिरामीका देवताको संज्ञा पाएका डाक्टरहरू यतिखेर भने क्रूर देखिएका छन् ।

    समायोजन प्रक्रियामा असन्तुष्ट जनाएका देशभरका सरकारी डाक्टरहरूको आन्दोलन जारी रहँदा बिरामीहरू दिनहुँ जटिल रोग पालेर बस्न बाध्य छन् । सरकारी अस्पतालमा १२४ घण्टादेखि ओपीडी सेवा ठप्प हुँदा बिरामी उपचार सेवा नपाई घर फर्किन बाध्य छन् । केही बिरामी निजी अस्पतालमा जान बाध्य भएका छन् । बुधबार उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज पुगेका ४२ वर्षीय रमेश महर्जनले भने, ‘के गर्नु टिकट नै काट्न पाइएन । वास्तै गरेनन्, आज हुँदैन भने, अत्याचारै गरे ।’
    सरकारी चिकित्सक संघका अनुसार देशभर १ हजार ४ सय डाक्टर छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार डाक्टरहरूको आन्दोलनका कारण देशभर पाँच दिनको अवधिमा २ लाखभन्दा बढीले उपचार सेवा पाउन सकेका छैनन् ।

    देशभर केन्द्रीय, प्रदेशस्तरका, जिल्ला स्तरका र स्थानीय तहका गरी १६० अस्पताल छन् । यसका साथै २०२ वटा प्राथमिक स्वास्थ्य केन्द्र छन् । ती अस्पतालमा कार्यरत डाक्टर अहिले ओपीडीमा नभई सडक आन्दोलनमा छन् । जसको प्रत्यक्ष मार अस्पताल पुगेका बिरामीहरूले खेपिरहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सरकारी चिकित्सकको मागप्रति सरकार गम्भीर रहेको बताए । उनले भने, ‘चिकित्सकलाई आन्दोलन फिर्ता लिन आग्रह गर्दछौं । हामी माग पूरा गराउनका लागि लागिपरेका छौं । सचिवस्तरीय छलफलसमेत भइरहेको छ ।’
    अस्पतालमा नियमित चेकजाँचमा जाने बिरामीहरू पनि मर्कामा परेका छन् । सरकारी दरबन्दीका चिकित्सकले ओपीडी, शल्यक्रियासहितका सेवा ठप्प पारी आन्दोलनलाई अझ सशक्त बनाउने योजनासहित अघि बढेका छन् । डाक्टरको आन्दोलनका कारण देशका ठूलासहित प्रदेश तथा जिल्लास्तरका अस्पतालहरू ठप्प छन् ।

    शुक्रबारदेखि आकस्मिकबाहेक ओपीडी बन्द गरेर बसेका सरकारी चिकित्सकलाई बुधबार प्रहरीले धरपकड गरेको छ । वीर अस्पतालमा धर्ना बसिरहेका चिकित्सकमाथि प्रहरीले धरपकड गर्दा एक जना चिकित्सक घाइते भएका छन् । घाइते डा. सन्तोष राई ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार गरेर फर्किएका थिए ।
    सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले चिकित्सकमाथि प्रहरी प्रशासनले दुव्र्यवहार गरेको बताए ।

    यस्तै, टिकट काटेर पनि चिकित्सकले सेवा नदिएपछि बिरामी पक्षसमेत आक्रोशित बन्न थालेपछि वीर अस्पतालमा चिकित्सकले तत्काल स्वरूप परिवर्तन गरेर अस्पताल परिसरमै बिरामी जाँच गरेका थिए ।
    वीरमा सरकारीबाहेक आधाभन्दा बढी प्रतिष्ठानअन्तर्गतका चिकित्सक कार्यरत रहेकाले सेवा सुचारु हुने अपेक्षा अस्पताल प्रशासनको छ ।
    कर्मचारी समायोजन ऐन २०७५ अन्यायपूर्ण भएको भन्दै सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । ऐनमा डाक्टरलाई स्थायनीय तह तथा प्रदेशअन्तर्गत समायोजनको व्यवस्था छ । सरकारी चिकित्सकहरू आफूहरूलाई संघअन्तर्गत राखेर समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलनमा छन् । चिकित्सकहरूले बिहीबारदेखि अस्पताल प्रांगणमा सेतो कागज राखेर बिरामीको निःशुल्क परीक्षण गर्ने भएका छन् ।

    समायोजन ऐनमा समायोजन भएका चिकित्सकलाई प्रदेशभित्र सरुवा गर्न सक्ने प्रावधान छ । यसैगरी, समायोजन भइसके पनि बढुवा भएर केन्द्रमा आउन सक्ने प्रावधानसमेत ऐनमा छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायका निमित्त सचिव सुरेश अधिकारीले समायोजन ऐनले चिकित्सकलाई अन्याय नगरेको दाबी गरे । उनले चिकित्सकले समायोजन ऐनको राम्ररी अध्ययन गर्न जरुरी रहेको बताए । ‘उहाँहरूको सरुवा तथा बढुवासम्बन्धी सबै व्यवस्था स्पष्ट गरिएकाले आन्दोलनको कुनै तुक नरहेको अधिकारीको भनाइ छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…