• काभ्रे। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्रको विवादकैबीच एकै मञ्चमा पाँच घण्टा बिताएका छन् । महासमितिको बैठकको म्यान्डेड र कार्यसम्पादन समिति गठनलगायतका विषयमा किचलो जारी रहेका बेला सभापति देउवा र नेता सिटौलाले एकै मञ्चबाट कम्युनिस्ट सत्तासँगको लडाइँका लागि पार्टीभित्रको एकतामा जोड दिए ।

    बुधबार कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रीय समिति काभ्रेले भकुण्डेवेंशीमा गरेको आमसभालाई सम्बोधन गर्दै पूर्वमहामन्त्री सिटौलाले कांग्रेसको वर्तमान नेतृत्वले कम्युनिस्ट सत्तासँग लड्न नसक्ने भन्दै पार्टीलाई नीति, सिद्धान्त र कार्यक्रमका आधारमा एकता गर्न सभापतिले प्रस्ताव नल्याएको बताए ।
    ‘कम्युनिस्ट नेतृत्वसँग वर्तमान कांग्रेस नेतृत्वले लड्न सक्दैन, सत्तासँग लड्न बलियो कांग्रेस चाहिन्छ, त्यसका लागि पार्टीभित्र नयाँ चेत र नयाँ ऊर्जा आवश्यक छ, सभापति जीले नीति, सिद्धान्त र कार्यक्रमसहित एकताको प्रस्ताव ल्याउनुपर्नेमा ल्याउन सक्नुभएको छैन,’ नेता सिटौलाले भने ।
    उनले सभापतिले पार्टीको आन्तरिक एकताका लागि तयार भए कांग्रेसले जस्तोसुकै अवस्थाको पनि सामना गर्न सक्ने बताएका हुन् ।

    जवाफमा सभापति देउवाले आफ्नो पहिलो स्वार्थ नै पार्टीभित्र एकता कायम गर्ने रहेको बताए ।
    ‘म पार्टीको सभापति हो, मेरो पहिलो स्वार्थ नै पार्टीलाई एकताबद्ध गराएर लैजाने छ, त्यसका लागि म तयार छु, तपाईंले दत्तचित्त भएर सहयोग गर्नुस्,’ सिटौलाप्रति लक्षित गर्दै सभापति देउवाले भने । उनले कांग्रेसको मूल समस्या नै आफूलाई कमजोर देख्ने भएको जनाए ।
    ‘हाम्रो इतिहास नै त्यस्तै छ, आफूलाई कमजोर देखेर अरूलाई बलियो देख्छौं,’ देउवाले भने ।
    सभापति देउवाले कम्युनिस्ट सरकारले एक वर्षको अवधिमा एउटै पनि गतिलो काम गर्न नसकेको बरु उल्टै स्वतन्त्र न्यायपालिका, चिकित्सा क्षेत्र, शिक्षा क्षेत्र र प्रेसमाथि धावा बोल्ने काम गरेको बताए ।
    ‘सरकारले एक वर्षको अवधिमा तारिफ गर्ने एउटै काम गर्न सकेन, सरकारले हल्लामा नै समय खेर फाल्यो, यसरी देश बन्छ ?’ सरकारप्रति लक्षित गर्दै सभापति देउवाले भने ।

     

    उनले सरकारको खिलापमा एक भएर उत्रिनसमेत नेता कार्यकर्तालाई निर्देशन दिए । ‘तपाईंहरू एक भएर सरकारको गलत कामको खिलापमा उत्रिनुस्, सरकारको यही चाला हो भने कांग्रेसले ओली सरकारलाई ठीक ठाउँमा ल्याउन आन्दोलन गर्छ,’ देउवाले थपे । सरकारको कामका विषयमा भने सिटौलाले लोकतन्त्र, गणतन्त्र र संघीयतामाथि प्रहार गर्नेतर्फ मात्रै सरकार उद्यत् रहेको तर काम केही गर्न नसकेको बताए ।

    सत्तालाई कांग्रेसले नै सचेत गराउनुपर्ने भन्दै सिटौलाले त्यसका लागि कांग्रेस जनताका बीचमा प्रतिपक्षी आवाज लिएर जान ढिला भइसकेको बताए । उनले विप्लव नेतृत्वको नेकपाका कारण देशमा अर्को द्वन्द्वको खतरा रहेकोतर्फ सरकारलाई ध्यान दिनसमेत आग्रह गरे । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एउटा निर्वाचन हार्दैमा कांग्रेस नमरेको भन्दै कांग्रेसलाई कमजोर नसम्झन सरकार पक्षलाई चेतावनी दिए ।
    ‘कांग्रेस निर्वाचनमा ढलेको होला तर मरेको छैन, एउटा निर्वाचन हारेर कांग्रेस कमजोर हुँदैन,’ प्रवक्ता शर्माले भने ।

    कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी ओली र पुष्पकमल दाहालको नालायकीपनका कारण नेपाल बन्न नसकेको बताए । उनले केपी ओलीका कारण नै संघीयताको कार्यान्वयन हुन नसकेको समेत जिकिर गरे । पौडेलले लोकतन्त्र, संघीयता र संविधानविरुद्ध बोल्नेलाई कांग्रेसले प्रतिकार गर्ने बताए ।
    अर्का केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले कांग्रेसले मात्रै मुलुकलाई समस्याबाट निकास दिएकाले कांग्रेसबाट मात्रै मुलुकले निकास पाउने बताए ।
    कार्यक्रममा सभापति देउवाले कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रीय समितिको भवनसमेत शिलान्यास गरेका छन् । सो अवसरमा नेकपासहितका दलबाट आएका ६५ भन्दा बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…