•  

    काठमाडौं । सरकारी सेवामा नाम निकाल्ने र मुलुकको प्रशासक बन्ने रहर कसलाई पो हुँदैन र ? मुलुकको कुशल प्रशासक बन्ने रहर धेरैले पालेका हुन्छन् । तर, सफलता पाउने अवसर कमैलाई हुन्छ र कमैले अवसर पाउँछन्, यस्तै अवसर अर्घखाँचीका पोख्रेल परिवारलाई मिलेको छ । जुन परिवारका पाँच जना दाजुभाइ तथा दिदीबहिनी नै अधिकृत हुन सफल भएका छन् ।
    साबिकको जुकेना–९ अन्तर्गत पर्ने हालको सितगंगा नगरपालिका–६ चिसापानीको मध्यमवर्गीय पोख्रेल परिवारका पाँच जना छोराछारीले नै शाखा अधिकृतका रूपमा देशको प्रशासन हाक्ने अवसर प्राप्त गरेका हुन् । यसरी, अवसर प्राप्त गर्नेमा एकै परिवारका प्रेमराज पोख्रेल, सीता पोख्रेल, सरोज, अञ्जना पोख्रेल र रञ्जिता छन् ।

    ‘आमा जानकी सामान्य गृहिणी, बाबु टुकलाल गाउँको प्रतिष्ठित पण्डित, गाउँघरमा सरकारी सेवामा नाम निकालेर जागिर खाने कोही थिएनन्,’ घरको जेठो सन्तान प्रेम सम्झन्छन् । अंग्रेजी र जनप्रशासनमा स्नातकोत्तर गरेका प्रेम स्थानीय विद्यालयमा माध्यमिक तहको दरबन्दीमा रहेर अध्यापन गराउँथे । झन्डै १० वर्ष अध्यापन पेसामा बिताएपछि यो पेसाबाट बिस्तारै मन फेरिँदै गयो । त्यस्तैमा उनले लोकसेवा आयोगबाट लिइने परीक्षाको तयारी गर्न थाले र २०६९ मा लोकसेवा आयोगले लिइने शाखा अधिकृतको परीक्षामा सहभागी भए । पहिलोपटकमै सफलता हात लाग्यो । उनीपछिका चार भाइबहिनीले पनि उनकै बाटो समाते र धमाधम शाखा अधिकृतमा नाम निकाले । लोकसेवाको जाँचमा एक बहिनीबाहेक कसैले पनि दोस्रोपटक परीक्षा दिनु परेन । नाम निस्किएपछि प्रेमको पहिलो पदस्थापना आन्तरिक राजस्व विभाग भैरहवामा भयो । हाल उनी राजस्व अनुसन्धान विभाग ललितपुरमा कार्यरत छन् ।

    तेस्रो सन्तानका रूपमा रहेका सरोज कुमारले २०७० सालमा सामान्य प्रशासन समूहअन्तर्गत नाम निकाल्न सफल भए । उनको पहिलो पदस्थापन पर्यटन कार्यालय वीरगन्जमा भएको थियो । हाल उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा कार्यरत छन् । उनले व्यवस्थापन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यतिबेला उनी सरकारकै शान्ति समितिमा समेत कार्यरत थिए ।
    २०७२ मा घरको चौथो सन्तान अन्जनाले सामान्य प्रशासन समूहअन्तर्गत नाम निकालिन् र गृह मन्त्रालय मातहत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको पहिलो पदस्थापना भएको थियो । उनले अंग्रेजी र जनप्रशासनमा स्नातकोत्तर गरेकी छन् । अञ्जना हाल बेपत्ता छानबिन आयोगमा पुल्चोकमा कार्यरत छिन् ।

    –भन्छन्, कर्मचारीतन्त्रमाथि लागेको कालो दाग हटाउँछौं

    त्यसपछि परवारको दोस्रो सन्तान सीताले संसद् सेवा र कान्छी रञ्जिताले सरकारी वकिलमा २०७२ सालमा एकै वर्ष नाम निकाल्दा पोख्रेल परिवारका सबै सन्तान शाखा अधिकृत बन्न सफल भए ।
    यो शौभाग्य पाउँदा रञ्जिताले मात्र दोस्रोपटक परीक्षा दिनुप¥यो । र पनि उनी नेपालको न्याय सेवामा नाम निकाल्ने हालसम्मकै कम उमेरकी शाखा अधिकृत हुन् । त्यसपश्चात् पहिलो पदस्थापनको रूपमा सीताकोे संसद् सचिवालय सिंहदरबारमा र रञ्जिताको जुम्ला जिल्लामा कार्यक्षेत्र परेको थियो । हाल सीता संसद् सचिवालय सिंहदरबार र रञ्जिता जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरमा कार्यरत छिन् । सीताले व्यवस्थापन र राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेकी छन् भने रञ्जिताले कानुनमा स्नातकोत्तर गर्दै छिन् ।
    एकै परिवारका पाँच शाखा अधिकृतका रूपमा मुलुकको प्रशासन हाँक्ने जिम्मा पाएको यो भाग्यमानी परिवार सरकारी सेवामा रहेर प्रभावकारी सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रमाथि लागेको कालो दाग हटाउने प्रण गर्छ । सरकारी सेवामा लोकसेवा निष्पक्ष र क्षमताको कदर हुने स्थानको भएको उनीहरूको अनुभव छ ।

    पे्रम भन्छन्, ‘कानुनको परिधिमा रहेर जनताको सेवक बन्न चाहन्छौं ।’ उनीहरू कर्मचारी शासक नभई असली राष्ट्रसेवक भएको विश्वास गर्छन् । सरकारी सेवामा प्रेवश गरेर कुनै अतिरिक्त फाइदा लिनु र नराम्रा केही गर्नु छैन, छ त केही नयाँ दिने प्रयास । यसभित्रका सीमितता र कानुनको परिधिमा रहेर राष्ट्रले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने यी पाँचको वाचा छ ।
    लोकसेवामा नयाँ आउन चाहनेलाई आफ्नो योग्यता र क्षमताको कदर हुने स्थानका रूपमा ब्झ्न र यसैमा विश्वास गर्न राष्ट्रसेवकको जिम्मेवारीलाई योगदान दिने अवसरका रूपमा उपयोग गर्न उनीहरू सुझाव दिन्छन् ।

    राजधानी

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…