पोखरा – कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तर्घातमुक्त पार्टी बनाएरै विश्राम लिने बताएका छन् । कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको बिहीबार पोखरामा आयोजित तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै उनले अन्तर्घात गर्नेलाई नछाड्ने बताए।
‘हाम्रो पार्टीमा अन्तर्घात पुरानो रोग हो । यसलाई अन्त्य नगरी अगाडि बढ्न सकिँदैन,’ उनले भने, ‘हामीले अनुशासन पनि बनाएका छौं । बदमासी गर्नेलाई, अन्तर्घात गर्नेलाई छाड्नु हुँदैन।’ आफूले टिकट नपाउँदा पार्टीलाई नै हराउने प्रवृक्तिबाट मुत्त नहुँदासम्म पार्टी अगाडि नबढ्ने उनले बताए। पार्टीले वैशाखदेखि नै देशभरि जागरण अभियान सञ्चालन गर्ने बताउँदै उनले सम्पूर्ण जनताको हृदय जित्ने गरी काम गर्न आग्रह गरे।
उनले केपी ओली नेतृत्वको सरकार आएपछि अत्यधिक महँगी बढेको दाबी गरे। धान्नै नसक्ने कर लाद्नाले महँगी बढेको उनको भनाइ थियो । ‘यति कर बढाएका छन् कि एउटा जिल्लाबाट अर्को जिल्लामा लैजाँदा कुखुरामाथि पनि कर लगाएका छन्,’ उनले भने, ‘यति महँगी बढेको छ कि मान्छेलाई घर धान्नै मुस्किल परेको छ। यो सरकारको नाम करप्रसाद ओली नै राख्नुपर्ने।’
उनले धेरै कुरामा सरकारले मनपरी गरेको समेत उल्लेख गरे। सुरक्षा परिषदको सिफारिसमा सेना परिचालन हुने भए पनि प्रधानमन्त्रीले सिधै हस्तक्षेप गरेको भन्दै उनले असन्तुष्टि जनाए। ‘सरकारले ब्युरोक्रेसीलाई पार्टीकरण गर्न खोज्यो,’ उनले भने, ‘निर्वाचन आयोगमा भन्दाभन्दै पनि नियुक्ति गरेरै छाडे । हाम्रो पार्टीले कुनै पनि हालतमा मान्नेवाला छैन।’
वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले प्रतिपक्षीसहितको शक्ति सन्तुलनलाई बेवास्ता गरेको बताए। उनले कम्युनिस्टले सम्पूर्ण सत्ता आफ्नो हातमा एकलौटी बनाएर सर्वसत्तावाद लाद्न खोजेकाले त्यसलाई रोक्ने जिम्मेवारीबाट कांग्रेस पछि हट्न नहुने उल्लेख गरे ।
‘शक्ति सन्तुलनमा सरकार र प्रतिपक्ष दुवैको उत्तिकै स्थान हुन्छ,’ उनले भने, ‘निरंकुश शैलीले मुलुक समृद्धितिर जाँदैन ।’ न्यायालय, निर्वाचन आयोग, लोकसेवा आयोगलगायतमा सबैलाई मान्य हुने मान्छे नियुक्त गर्नुपर्नेमा एकलौटी गरेकामा उनले असन्तुष्टि जनाए । भने, ‘कसले राम्रो मान्छे ल्याएको छ, उसैको राख्नुपर्यो । दुवैलाई स्वीकार्य मान्छे राख्नुपर्छ ।’
सम्मेलनलाई महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलगायतले पार्टीभित्र आर्थिक पारदर्शिताको सुनिश्चितता हुनुपर्नेमा जोड दिए । यो समाचार कान्तिपुर दैनिकले छापेको छ।