काठमाडौँ — कांग्रेसभित्रको आन्तरिक विवादको असर नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का नेताहरूमा पनि परेको छ । सभापति शेरबहादुर देउवा निकट विद्यार्थी नेताहरूले शुक्रवार गरेको कार्यक्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट विद्यार्थी नेताहरू उपस्थित भएनन् ।
उल्टै त्यही समयमा सिटौला समूहमा आबद्ध विद्यार्थी नेताहरूले छुट्टै कार्यक्रम राखेर पार्टी नेतृत्व र सरकार विरुद्ध खबरदारी गरेका थिए।
पार्टी सभापति देउवा निकट विद्यार्थी नेता ऋषिकेशजंग शाहको संयोजनमा एघार विद्यार्थी सङ्गठनको कार्यक्रम राष्ट्रियसभा गृहमा आयोजना गरिएको थियो। सरकार विरुद्ध खबरदारी गर्न संयुक्त मोर्चा बनाउने उद्देश्य राखेर पूर्व उपाध्यक्ष समेत रहेका शाहले कार्यक्रम आयोजना गरेका थिए। जसमा प्रतिपक्ष मोर्चामा रहेका एघार दलका साना राजनीतिक दलका विद्यार्थी सङ्गठनका विद्यार्थी नेताहरू सहभागी थिए। त्यस कार्यक्रमलाई सम्बोधन गर्न पार्टी सभापति देउवा नै पुगेका थिए।
पूर्व महामन्त्री कुन्दन काफ्लेले नेतृत्व गरेको विद्यार्थी समूहले भने बाल्मिकी क्याम्पसमा छुट्टै कार्यक्रम राखेको थियो। ‘चोर सत्तापक्ष, निरीह प्रतिपक्ष’ भन्ने उनीहरूको नारा थियो। काफ्ले सरकार र आफ्नै पार्टी नेतृत्वप्रति नै आक्रमक बनेका थिए। ‘यी दुवै कार्यत्रमका मुख्य उद्देश्य नेविसंघको नेतृत्व लिने होडका रूपमा आयोजना गरिएको हो’ विद्यार्थी सङ्घका एक पूर्व अध्यक्षले भने।
शाह र काफ्ले दुवै नेविसंघको नेतृत्वका लागि दौडधुप गरिरहेका छन्। अधिवेशन गराउन नसकेको भन्दै पार्टीले नैनसिंह महरको नेतृत्वमा रहेको कार्यसमिति विघटन गरेपछि सङ्घ नेतृत्व विहीन छ। पार्टीभित्रको आन्तरिक किचलोका कारण तदर्थ समिति बन्न सकेको छैन।