काठमाडौं । सत्ताविरुद्ध राजनीतिक माहौल र व्यवस्थाविरुद्ध जनमाहौल बन्न लामो समय लाग्न नसक्ने परिस्थिति विभिन्न परिघटनाले देखाएका छन् ।
तुका तु नेपाली राजनीतिमा देखिएका केही परिघटना र निर्णयले नेपथ्यमा रहेको तर ठूलो जनमत बनाइरहेको राजसंस्था फर्किन नसक्ने सम्भावनाको ढोका पनि बन्द भएको छैन ।
बुधबार साँझ मात्र डेढ महिना लामो तराई बसाई र भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किसकेका छन् । अबका केही दिनमा उनको अन्यत्रको भ्रमणको तयारी पनि निर्मलनिवासमा भइरहेकै छ । यसका संकेत केही महिनाभित्र देखिने विभिन्न तप्काबाट दाबी गरिएकै छन् ।
हालैमात्र सरकारले गरेका केही समझदारी र सम्झौता अचम्म लाग्दा भएको र सम्भव बनेका कारण अनेक राजनीति वा संवैधानिक हत्कण्डा हुनसक्ने सहज अनुमान नकार्न नसकिने विश्लेषकहरूकै टिप्पणी छ ।
पृथकतावादी सीके राउतसँगको राजनीतिक सम्झौता, संसदीय व्यवस्थाविरुद्ध आन्दोलनमा उत्रिएको नेत्र विक्रम चन्द विप्लवको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध, संसदको सपथ गराएर संसद भवन छिर्न लागेका रेशमलाल चौधरीलाई आजीवन काराबासका निर्णय सत्ताको प्रत्यक्ष र परोक्ष संलग्नतामा भएको थियो ।
यहिबीच राजसंस्थाको प्रतिनिधित्व गर्ने नेपालका अन्तिम भनिएका राजा ज्ञानेन्द्र शाहको देश दौडाहामा देखिएको जनलहर र सर्वसाधारणले देखाएको सहानुभूतीको पनि अर्थ छ ।
राप्रपा, राप्रपा संयुक्तले त राजसंस्था र हिन्दु राज्य नबनाई थकित नहुने बताइसकेका छन् । त्यसअघि राप्रपा अध्यक्ष कमल थापाले भनेका थिए, ‘भारतको लोक सभा चुनावपछि जब त्यहाँ नयाँ सरकार बन्छ अनि नेपालमा हिन्दु राज्य र राजसंस्थाबारे ठूलो निर्णय हुनसक्छ ।’
पूर्वराजाको तराईदेखि इलाम र पाँचथरलगायतका भ्रमणमा हिँडेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले राप्रपा अध्यक्ष थापाको त्यो संकेतसँग लगभग मेल खानेगरी प्रतिक्रिया दिएका छन् ।
उनले दैनिक नेपालसँग भने,‘दुई तीन महिनाभित्र केही हिन्दुत्व, राष्ट्रियता र राजसंस्थाबारे सकारात्मक परिणामको संकेत आउनेछ ।’ लगभग अबको एक महिनासम्म भारतमा लोक सभा निर्वाचन हुनेछ र त्यसको दुई महिनाभित्र त्यहाँ नयाँ सरकारका रणनीति तयार हुनेछन् । यसले नेपालको हिन्दुत्व र राजसंस्थाका विषयमा छुनसक्ने धेरैले अड्कल काटेका छन् ।
यद्यपि, बस्नेत भन्छन्,‘राजसंस्था नेपाली जनताको चाहना हो । धुलाबारीमा भेटिएका बिसौं हजार नेपाली जनताले सडक थुनेरै राजाको स्वागत गर्नु चानचुने कुरा होइन । मधेसदेखि पहाडसम्म देखिएको त्यो जनलहरको अवमुल्यन कसरी गर्न मिल्छ ? फेरि त्यहाँ जनगुनासा असाधारण थिएनन्, साधारण मात्रै भए पनि किन राजाले सुन्न परेको थियो त ?’
व्यवस्था नै परिवर्तन गरी राष्ट्रपति, प्रधानमन्त्रीय प्रणाली लागू भएको यो अवस्थामा राजसंस्था फर्किने कुनै आधार छन् र ?
यस विषयमा बस्नेत तीनवटा सम्भावना र विकल्प देख्छन् –
पहिलो, भ्रमणका क्रममा देखिएको जनमत र जनताको स्वीकारोक्ति । कतिपय ठाउँमा अहिलेका सत्तारुढ र प्रतिपक्षका स्थानीय नेताले नै त्यसबेला गल्ती भएको स्वीकार्दै राजसंस्थाका लागि हुने जनस्तरीय सभा अथवा आन्दोलनमा सहभागी हुने बताइसकेका छन् । यसबीचमा राजनीतिक दल आफ्नै नेताको भ्रष्टाचारदेखि अहंकारी र प्रतिबन्धित राजनीतिले निम्त्याएको अस्तव्यस्तताविरुद्ध उभिने उनीहरूले बताएका थिए ।
दोस्रो, राजनीतिक दलका नेताहरू सच्चिएर संविधान संशोधन गरी संवैधानिक राजसंस्थासहितको लोकतान्त्रिक व्यवस्था हुनसक्छ । जसका कारण सबैको ‘विन विन’को अवस्था पनि देखिनेछ । जुन निर्णयको सर्वत्र स्वागत हुने मान्यता स्थापित हुन्छ । यो उत्तम विकल्प पनि हुन्छ ।
र, तेस्रो तथा अन्तिमचाहिँ अलिक राजनीतिक अस्थिरता अथवा सैन्य प्रत्याक्रमणको बाटो हुनसक्छ । त्यहाँसम्मको राजनीतिक अवस्थालाई अहिले परिकल्पना गर्नु उचित नहुने ठानेका उनी भन्छन्,‘राजनीतिक अवस्था, मुलुकको अवस्था जोगाउन र रक्षा गर्नका लागि त्यस्तो परिस्थिति नआउला भन्न सकिन्न । तर यो मेरो व्यक्तिगत विचार हो ।’
छलपूर्वक राजसंस्थालाई पाखा लगाउने काम भएको बताउँदै उनले नेताहरूले त्यो गल्तीलाई सच्याउने सबैभन्दा उपयुक्त बाटो संसद र संविधान संशोधन नै हुने बताएका छन् । ‘हिजो राजसंस्था हटाउने जनताको एजेन्डा थिएन । जनताको एजेन्डा राजसंस्थासहित जनप्रतिनिधिले सरकार चलाउने भन्ने थियो । तर छल भयो । यो यथार्थ अहिले सतहमा राजाको भ्रमणका क्रममा देखिएकै छ ।’
के छ सम्भावना ?
त्यसो त नेपालमा जुनसुकै बेला सत्ता वा व्यवस्था परिवर्तन हुन नसक्ने सम्भावनाको ढोका बन्द रहेको ठान्ने अवस्था छैन । भारतीय प्रशासनयन्त्रका आधारमा नै नेपाली व्यवस्था वा राजनीति चलेको छर्लङ्ग पारेका छन्, पूर्व प्रमूख निर्वाचन आयुक्त भोजराज पोखरेलले एउटा अन्तरवार्ता र पुस्तकमार्फत ।
नेपाली राजनीतिक दलका नेता भारतीय राजदूतसँग प्रधानमन्त्री बनाइदिनुस् भन्दै विन्ति गर्न पुगेका एकजनाले आफूलाई सुनाएको टिप्पणी पोखरेलले गरेका छन् ।
उनको तर्कलाई आधार मान्ने हो भने मधेस भ्रमणका क्रममा पूर्वराजासँग नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीको भेटमा के–के कुरा भयो होला ? एउटा होटलमा बसेका बेला कस्ता कुरा भए होलान् ? अड्कल काट्न सहज छैन र ?
दैनिक नेपाल