• काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शक्ति विकेन्द्रीकरण र संघीयताको सफल कार्यान्वयनका सन्दर्भमा वर्ष २०७५ मा सरकार असफल भएको र गत वर्षमा सरकारले कर्मभन्दा हल्लै बढी गरेको दाबी गरेको छ ।

    कांग्रेसले सोमबार पत्रकार सम्मेलनमार्फत २०७५ सालमा सरकारले गरेका कामको समीक्षा गर्दै कर्मभन्दा हल्ला बढी गरेको दाबी गरेको हो । उसले शक्ति विकेन्द्रीकरण र संघीयताको सफल कार्यान्वयनका सन्दर्भमा समेत सरकार असफल भएको र सरकारले यसबीचमा ‘शून्य सात’ प्रगति गरेको दाबी गरेको हो ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कर्मभन्दा हल्ला बढी गरेर सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको र जनमतको खिल्ली उडाउनमै समय बर्बाद गरेको बताए ।
    ‘२०७५ सालको प्रारम्भ सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएझैं साँच्चै केही नवीन आशासाथ भएको थियो । तर, बिदाइ भने आशालाई विश्वासमा बदलेर हुन सकेन । कामभन्दा हल्ला बढी भयो । कर्मतिर सरकारको ध्यान गएन,’ प्रवक्ता शर्माले पत्रकार सम्मेलनमा भने ।

     

    प्रवक्ता शर्माले प्रधानमन्त्रीको भाषण सुन्दा बालबालिकामा नकारात्मक असर नपरोस् भनेर अभिभावकले टेलिभिजन बन्द गर्नुपर्ने अवस्था आएको समेत टिप्पणी गरे । उनले प्रधानमन्त्री ओलीले २०७५ सालमा कम्युनिस्ट कार्यकर्तालाई अरिंगाल बन्न, बुद्धिजीवीलाई थला पार्ने र प्रतिपक्षी दल कांग्रेसलगायतलाई नन्दी–भृंगीको संज्ञा दिएर आफ्नो नकारात्मक सोच, शैली र संस्कार उपहार दिएको समेत टिप्पणी गरे ।

    कांग्रेसले प्रधानमन्त्रीलाई विगतका वर्षको असफलताबाट पाठ सिकेर जिम्मेवार अभिव्यक्ति, जिम्मेवार वहन गर्दै सरकारको नेतृत्व गर्न समेत सचेत गराएको छ ।
    ‘प्रधानमन्त्रीका आपत्तिजनक अभिव्यक्तिको कांग्रेस भत्र्सना गर्छ । यस्तै, विगतको असफलताबाट पाठ सिकेर जिम्मेवार अभिव्यक्ति, जिम्मेवार व्यवहारका साथ सरकारको नेतृत्व गर्न कांग्रेस प्रधानमन्त्रीलाई आग्रह गर्दछ,’ प्रवक्ता शर्माले भने ।

     

    कांग्रेसले सरकारको असफलतामा प्रमुख कारण संघीयता कार्यान्वयन र शक्ति केन्द्रीकरणको विरोधाभासलाई मानेको छ । उसले संघीयताको संस्थागत जगेर्ना गर्ने कार्यमा वर्ष २०७५ मा सरकारले अपेक्षित गति प्रस्तुत गर्न नसकेको भनेको हो ।

    ‘अधिकार बाँडफाँट, राज्यका तहगत संरचनाको निर्माण र हस्तान्तरण, कर्मचारी समायोजन र उचित बजेट प्रबन्ध त हुन सकेन नै । प्रायः प्रदेशहरूको नामकरण र राजधानीको टुंगोसमेत यो वर्ष हुन सकेन । यो वर्ष शक्तिको अधिकतम विन्यासको संघीयताको सिद्धान्तविपरीत एकातर्फ प्रधानमन्त्री कार्यालयमा राज्यका महŒवपूर्ण अंगहरूलाई केन्द्रीकृत गरियो भने संविधानले राष्ट्रिय सुरक्षा परिषद्लाई प्रत्याभूत गरेको सेना परिचालन सिफारिसको अधिकार हनन गर्ने विधेयक ल्याएर परिषद्लाई प्रधानमन्त्रीको लाचार छाया बनाउने दुष्प्रयास गरियो । यस दृष्टिले शक्ति विकेन्द्रीकरण र संघीयताको सफल कार्यान्वयनका सन्दर्भमा वर्ष २०७५ असफल हुन पुग्यो,’ पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने ।

    यसैगरी, गत वर्ष संवैधानिक परिषद् र न्यायपालिकाको क्षेत्रमा समेत सरकारले हस्तक्षेपकारी शैली देखाएको प्रमुख विपक्षी दल कांग्रेसको भनाइ छ ।

    ‘नेपालको संविधानले संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी नेताको अनुपस्थितिको परिकल्पना गरेको छैन । तर, वर्ष २०७५ मा संवैधानिक परिषद्लाई कार्यपालिकाझंै एकपक्षीय बनाउने दुष्प्रयासलाई गति दिइयो । वर्ष २०७५ मै न्यायपालिकालाई कार्यपालिकाको लाचार छायाझंै बनाउने प्रयत्न पनि दृश्यमा प्रस्तुत भयो,’ कांग्रेसले पत्रकार सम्मेलनमार्फत भनेको छ ।
    यस्तै, मुलुकको अन्तर्राष्ट्रिय छविमा समेत ह्रास आएको कांग्रेसको दाबी छ । उसले सरकारको अपरिपक्व र अदूरदर्शी शैलीका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको छविमा ह्रास आएको बताएको छ ।

    शान्ति र सुरक्षामा समेत गत वर्ष प्रगतिशून्य भएको कांग्रेसको दाबी छ । कांग्रेसले ‘नागरिकको प्रथम अपेक्षा सरकारसँग के हुन्छ प्रधानमन्त्रीज्यू ?’ भनी प्रश्न गरेको छ । प्रधानमन्त्रीको जवाफ सायद पानीजहाज हुन सक्छ भन्दै सरकारलाई व्यंग्यसमेत गरेको छ ।

    ‘पानीजहाज सपनाप्रति हाम्रो सिद्धान्ततः विमति छैन तर नागरिकको प्रथम अपेक्षाको शान्ति सुरक्षा के त्यहीँ पानीजहाज चढेर आउने हो ? २०७५ सालमा मुलुकमा तीव्र ढंगले खस्किएको शान्ति सुरक्षाको स्थितिप्रति प्रधानमन्त्री किन गम्भीर देखिनुहुन्न ?’ कांग्रेसले पत्रकार सम्मेलनमार्फत भनेको छ ।

    कांग्रेसले वर्ष २०७५ मा चर्चामा रहेको निर्मला पन्त हत्या प्रकरणलाई समेत उठाएको छ ।
    ‘निर्मला पन्तको हत्या प्रकरणका दोषीहरू कठघरामा किन छैनन् ? निर्दोषलाई दोषी करार गरेर दोषीलाई जोगाउन किन पूरै राज्यसत्ता बदनाम भएर सरिक भयो ? कहिले कारबाहीको दायरामा आउँछन् दोषीहरू ?’ कांग्रेसले सरकारसँग प्रश्न गरेको छ ।

    यस्तै, २०७५ साललाई भ्रष्टाचारमा शून्य सहनशीलताको घोषणा गरे पनि बितेको वर्ष ‘सुन्ने सहनशीलता’ मा बदलिएको कांग्रेसको दाबी छ । यसैगरी, आफ्नै लगानीमा निर्माण गर्ने भनेर संकल्प गरिएको बूढीगण्डकी परियोजनाबिना प्रतिस्पर्धा विदेशी कम्पनीलाई दिएको, वाइडबडी छानबिनमा अख्तियार प्राप्त संवैधानिक संस्थाहरूलाई सरकारले सहयोग नगरेको, आवश्यकताभन्दा दोब्बर जग्गाको रूख काट्ने प्रस्तावसँगै निजगढ विमानस्थल निर्माण प्रक्रियामा गतिरोध आएको, ९० प्रतिशत काम सकिएको मेलम्ची परियोजना वर्तमान सरकार बनेपछि कमिसनको खेलका कारण निर्माण कम्पनीले काम छोडेर जानु र काम अवरुद्ध हुनु आर्थिक बदनियतकै कारण रहेको, बालुवाटारको सरकारी जग्गा प्रकरणमा सत्तारुढ पार्टीका उच्च पदाधिकारीको संलग्नता रहेको, विद्युत् प्राधिकरणको महसुल चुहावटको प्रतिवेदन गोप्य राखेर महसुल निर्धारण क्रममा विद्युत् महसुल संकलन विनिमय २०७३ विपरीत अतिरिक्त शुल्क चुहावट गराएर नियमित शुल्क मात्रै लिई करिब ८ अर्बको अपचलन गरिएको भन्दै सो विषय भ्रष्टाचारकै नियतको परिणाम हो कि होइन भन्दै सरकारलाई प्रश्न गरेको छ । कांग्रेसले २०४६ को परिवर्तनपश्चात् आफ्नो नेतृत्वमा शिक्षा, स्वास्थ्य, सडक, सञ्चार, खानेपानी, सिँचाइ, विद्युत् उत्पादनलगायतको क्षेत्रमा पर्याप्त पूर्वाधार खडा भएको समेत दाबी गरेको छ ।

    हिंसा र अस्थिरताबीच सो क्षेत्रमा भएका प्रगतिले राज्य र निजी क्षेत्रमा गरेर लाखौं रोजगारी सिर्जना भएको, बाल र मातृ मृत्युदर घटेको, नेपालीको औसत आयु वृद्धि भएको, कांग्रेसको पालामा खडा भएको समृद्धिको जगमा उभिएर कार्य गर्न वर्तमान सरकारसामु तुलनात्मक रूपले सहज वातावरण रहेको कांग्रेसको दाबी छ ।

    कार्यकर्ता अरिंगाल बनेनन् : निधि

    कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्रीले कार्यकर्तालाई ढुंगामुढामा उत्रिन निर्देशन दिनु प्रधानमन्त्री पदकै गरिमामाथिको प्रहार भएको भन्दै आपत्ति जनाएका हुन् ।

    सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधिले प्रधानमन्त्री ओलीले केही समयअघि आफ्ना कार्यकर्तालाई अरिंगाल बन्न निर्देशन दिएको तर उनकै कार्यकर्ताले प्रधानमन्त्रीको निर्देशनबाट वाक्क दिक्क भएको बताए ।
    ‘ओलीजीले कार्यकर्तालाई अरिंगाल बन्नु भनेर निर्देशन दिए । तर, कार्यकर्ताले मानेनन् । फेरि अहिले नन्दीभृंगीमाथि ढुंगा प्रहार गर्न निर्देशन दिएका छन् । पटक–पटकको निर्देशनबाट कार्यकर्ता पनि हैरान भइसके,’ निधिले भने ।

    आइतबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले विपक्षी दलहरूतर्फ संकेत गर्दै ‘नन्दीभृंगी भेला भएर आन्दोलन गर्छौं भनेछन्’ भन्दै आफ्नो धारणा राखेका थिए । उनले बूढाबूढीले सुन्ने गरी आन्दोलन गर्छु भने लट्ठी लगाउने र केटाकेटी छेउमा भने ढुंगा हान्ने तर्कसमेत गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…