• काठमाडौं, ३ बैशाख । काठमाण्डौ बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको चर्चित प्रकरण दिनप्रतिदिन तन्किदै छ ।

    सत्ताको बागडोर समालेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलका बारेमा पार्टी भित्रै बिरोधको आवाज चर्किएको हो ।

    सामान्य परिवारमा जन्मिएर काठमाडौंमा अकुत सम्पती थुपारेका विष्णु पौडेलका बारेमा नेकपा भित्रै थामिनसक्नु उत्पात मच्चिएको छ ।

    खासै रोजगारनै नगरेको समयमा छोरोले खरिद गरेको अभिब्यक्ती दिएर चिन हानिएका महासचिव पौडेललाई निलम्बन गर्न माग उनकै दलका नेता तथा कार्यकर्ताहरुले आग्रह गरेका छन् ।

    सोही पार्टीका नेता भीम रावलले प्रारम्भिक रूपमा महासचिवबाट गल्ति भएको बुझेको सङ्केत गरेसँगै झन् खैलाबैला मच्चिएको हो । महासचिव पौडेलले सरकारी जग्गा आफ्नो परिवारको सदस्यले किनेको स्वीकार गरेका छन्।

    सांसद समेत रहेका केन्द्रीय सदस्यले मेटमणि चौधरीले छानबिन सहज बनाउन पौडेल स्वयम्‌ले पदत्याग गर्नुपर्ने अन्यथा पार्टीले निलम्बन गरेर छानबिन गर्नुपर्ने बताए ।

    छानबिन समिति बनाउनु पर्ने
    उनले भने, "उहाँ आफैले राजिनामा दिए छानबिन गर्न पार्टीलाई सहिजो हुन्छ । र, नेपाली नेताले उच्च संस्कार र नैतिकता देखाउन सक्छन् भन्ने सन्देश पनि प्रवाह हुन्छ।"

    त्यसो गर्न पौडेल तयार नभए उनलाई निलम्बन गर्नु पर्ने उनको धारणा छ। भन्छन्, "निलम्बन गर्न सकिएन भने पार्टीको मातहतमा नेता रहने कि नेताको मातहतमा पार्टीलाई राख्ने ? भन्ने प्रश्न उठ्छ । स्वाभाविक रूपमा लेनिनवादी पार्टी भएकाले नेतालाई पार्टी मातहतमा राख्नै पर्छ।"

    दोषी देखिए महासचिवलाई कारवाही गर्नुपर्ने अन्यथा पार्टी जोगाउन नसकिने र जनताको विश्वास पनि जगेर्ना गर्न नसकिने चौधरीको भनाइ छ।

    उक्त प्रकरणबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका निकायलाई छानबिन गर्न सरकारले निर्देशन दिएको बताइएको छ।

    अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टीले पनि सत्य तथ्य सार्वजनिक गर्नुपर्ने र दोषीमाथि माथि कारवाही हुनुपर्ने उल्लेख गरे।

    उनले भने, "नयाँ वर्षको दिन प्रधानमन्त्रीले सरकारी जग्गा कसैले आँखा लगाउन पाउँदैन, सबै फिर्ता हुन्छ, संलग्न कसैले छुट पाउँदै भनेर जे बोल्नु भएको छ। त्यसमा हाम्रो साथ-समर्थन र सहयोग हुन्छ।" सांसद चौधरीले पनि पार्टीले नै छानबिन समिति बनाउनु पर्ने बताए।

    गल्ती भए कारवाही
    एउटा सरकारी छानबिन समितिले प्रधानमन्त्री र प्रधानन्यायाधीशको निवास रहेको सरकारी जग्गा समेत व्यक्तिको नाममा नामसारी भएको प्रतिवेदन दिएको छ।

    जसमा सरकारी जग्गा विभिन्न व्यक्तिहरूले एकपछि अर्को गर्दै बेचेको प्रतिवेदनलाई उद्धृत गर्दै नागरिक दैनिक लगायतका विभिन्न सञ्चारमाध्यमले लगातार समाचार प्रकाशित गर्दै आएका छन्।

    चौतर्फी चर्चा पाएको उक्त प्रकरणमा महासचिव नै मुछिएको विषयमा नेकपाका वरिष्ठ नेताले कुनै प्रतिक्रिया जनाएका छैनन्।

    तर, बीबीसीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री एवम् नेता झलनाथ खनाल र अर्का नेता भीम रावलले दोषी भए महासचिवमाथि पनि कारवाही हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

    रावलको प्रारम्भिक बुझाइ, पौडेलबाट गल्ति

    तर उनले 'सरकारी जग्गा व्यक्तिले आफ्नो नाममा लिएको भए त्यो फिर्ता लिने मात्र नभइ अनियमित रूपमा आफ्नो नाममा जग्गा लिनेलाई कारवाही गर्नु पर्ने' आफ्नो धारणा रहेको बताए।

    महासचिव पौडेलले आफूले किनेको स्वीकार गरेकाले त्यसो भए उनले गल्ती गरेको तपाईँको प्रारम्भिक बुझाइ हो? रावलले जवाफ दिए, "सरकारी जग्गा गलत किसिमले गएको कुरा त मैले भनिरहनुनै पर्दैन सबैले भनेका छन्।"

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…