• वैशाख ४, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारका गलत क्रियाकलापको विरोध गर्नेदेखि कार्यकर्तालाई चलायमान बनाउनेसम्मका विभिन्न १४ उद्देश्यसहित तीन चरणमा देशभर जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । कांग्रेसले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै ‘हिमाल, पहाड, तराई मधेस–नेपाली कांग्रेस’ नारासहित ११ वैशाखबाट सुरु हुने गरी देशैभर जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।

    जसअनुसार तीन चरणमा कार्यक्रम हुनेछ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पहिलो चरणको जागरण अभियान ११ वैशाखबाट ११ जेठसम्म गरी एकमहिने कार्यक्रम ७७ वटै जिल्लामा सञ्चालन गरिनेछ । पहिलो चरणको कार्यक्रमका लागि ७७ वटै जिल्लामा केन्द्रीय तहका नेताहरू सहभागी हुनेछन् भने देशैभर एकै साथ कार्यक्रम सुरु हुनेछ । काठमाडौंमा हुने कार्यक्रमको नेतृत्व भने सभापति शेरबहादुर देउवाले गर्नेछन् ।
    प्रवक्ता शर्माका अनुसार अभियानमार्फत महासमितिबाट पारित विधानसहितका दस्ताबेजबारे कार्यकर्तालाई सुसूचित गर्ने, नेता कार्यकर्ताबीच एकता बढोत्तरी गर्ने, जागरण अभिवृद्धि गर्ने, कांग्रेसको अगुवाइमा भएका राजनीतिक उपलब्धि जनताबीच सम्प्रेषण गर्ने, संविधान संशोधनबारे जनमत सिर्जना गर्नेलगायतका १४ उद्देश्य कांग्रेसले लिएको छ ।

    कार्यक्रम कहाँ कहिले ?

    पहिलो चरण : ११ वैशाख देखि ११ जेठसम्म ७७ वटै जिल्लामा
    दोस्रो चरण : २४ भदौदेखि ७ असोजसम्म ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा
    तेस्रो चरण : ७ पुसदेखि १६ पुससम्म ७५३ वटै स्थानीय तहमा

    यस्तै, दोस्रो चरणअन्तर्गत २४ भदौबाट ७ असोजसम्म गरी १५ दिने जागरण अभियान चलाइने प्रवक्ता शर्माले जानकारी दिए । दोस्रो चरणअन्तर्गत मुलुकका सबै प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा कार्यक्रम गरिनेछ । सो कार्यक्रममा समेत केन्द्रीय तहका नेताहरू सहभागी हुनेछन् ।
    यसैगरी, तेस्रो चरणको अभियान ७ पुसबाट १६ गतेसम्म गरी १० दिन आयोजना हुनेछ । यस चरणमा सबै स्थानीय तहमा जनजागरण अभियान सञ्चालन हुनेछ ।
    कांग्रेसले अभियानकै क्रममा सरकारका गलत क्रियाकलापविरुद्ध आफ्ना नेता कार्यकर्तासहितका मतदाताहरूलाई सचेत बनाउने, कार्यकर्ताका मनोबल उच्च बनाउनेदेखि पार्टी सदस्यता समेत वितरण गर्नेसम्मको लक्ष्य लिएको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।
    ‘जागरण अभियानका क्रममा सरकारले गरेका गलत कामको विषयमा हामी जनतालाई बुझाउँछौं, अभियानमार्फत आममतदातालाई हामी विकल्पमा छौं भन्ने समेत देखाउँछौं, यसै बीचमा पार्टीको सदस्यता समेत वितरण गरिन्छ,’ उपसभापति निधिले पत्रकार सम्मेलनमा भने ।
    गत निर्वाचनमा पार्टीले बेहोरेको हारपछि कार्यकर्तामा देखिएको निराशालाई मत्थर पार्नसमेत जागरण अभियान फलदायी हुने उनले बताए ।

    कांग्रेसले अभियानका लागि आफ्ना भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि खटाउने जनाएको छ । जसअन्तर्गत महिला संघले महिला जागरण अभियान, तरुण दललाई सरकारको गलत कामका साथै भ्रष्टाचारविरुद्ध अभियान चलाउन जिम्मेवारी दिइएको छ ।
    त्यस्तै, नेविसंघलाई ‘प्लस टु’ प्लसको जिम्मेवारी दिइएको छ । जसअन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीलाई कांग्रेसबारे बुझाएर पार्टीसँग जोड्ने लक्ष्य कांग्रेसले लिएको छ । यसैगरी, नेपाल दलित संघले सबैखाले विभेद अन्त्यका लागि अभियान चलाउनेछ ।
    कांग्रेसले अभियानमार्फत सर्वोच्च अदालतले विदेशस्थित नेपालीलाई पनि मतदानमा भाग लिन पाउने गरी दिएको आदेशलाई समेत कार्यान्वयन गर्न दबाब दिनेसमेत बताएको छ । यो काममा भने जनसम्पर्क समितिलाई जिम्मेवारी दिइएको छ ।

    जागरण कार्यक्रम किन ?

    सरकारका गलत क्रियाकलापको विरोध गर्न
    संविधान संशोधनमा जनमत खोज्न
    आफ्नो अगुवाइमा भएका राजनीतिक उपलब्धि सम्प्रेषण गर्न
    कार्यकर्तालाई विधान बुझाउन
    पार्टी सदस्यता वितरण गर्न
    संगठन सुदृढीकरण गर्न
    नेता कार्यकर्तालाई चलायमान बनाउन

    कांग्रेसले यस अभियानमार्फत २००७ सालदेखि २०१७, २०१७ देखि २०३६ र २०३६ देखि २०४६ सम्मका विभिन्न चरणका आन्दोलनमा सहभागी भएका आफ्ना नेताहरूको समेत खोजी गर्ने लक्ष्य लिएको छ ।
    कांग्रेसले यसबीचमा हुने कार्यकममा दीर्घजीवी बिरुवा रोपेर र दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नेछ भने ब्याच वितरण गर्ने कार्यलाई समेत बन्देज लगाउनेछ । यस्तै, कार्यक्रमको सभापति र प्रमुख अतिथिबाहेक अन्यलाई एकैपटक आसन ग्रहण गराउनेछ । प्रमुख अतिथिपछि अन्य अतिथिलाई आसन ग्रहण गर्न भन्ने शब्दबाहेक कार्यक्रमलाई लम्ब्याउने गरी हुने आसन ग्रहण अभियानमार्फत नै हटाउने भएको छ । राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…