काठमाडौं, ४ बैशाख । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएको हिजो अर्थात् वैशाख ३ गते ठिक ११ महिना पूरा भएको छ ।
गत जेठ ३ गते जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृतिको अवसरमा पार्टी एकता घोषणा भएको थियो । यो एकतालाई आगामी वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर पूर्णता दिनेगरी पछिल्लो समय छलफललाई तीव्रता दिइएको छ ।
तर, यसअघि सचिवालयले बनाएको विधि र मापदण्डभित्रै रहेर एकता प्रक्रिया टुंगो लगाउने कि आफूखुसी भन्ने विवादबीच शीर्ष नेताहरूमा कुनै सहमति जुट्न सकेको छैन ।
अध्यक्ष केपी ओली अर्का अध्यक्ष पुष्पकमल दाहालको साथ लिएर विगतको मापदण्ड विपरीत एकता प्रक्रिया टुंगो लगाउने कसरतमा छन् भने वरिष्ठ नेता नेपालले मापदण्ड मिच्न नहुने अडान छाडेका छैनन् । सोमबार पनि अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई बालुवाटारमा बोलाएर छलफल गरे ।
त्यहाँ उनले मापदण्डमा लचिलो भइदिन नेपाललाई आग्रह गरेको तर नेपालले मापदण्डभन्दा बाहिर जाने कुरामा आफू सहमत नहुने अडान राखेपछि नेता नेपाललाई पेलेरै जाने गरी एकताको तयारी भइरहेको बालुवाटर स्रोतले जनाएको छ ।
त्यसो त वरिष्ठ नेता नेपालसँग छलफल गर्नुअघि अध्यक्षद्वयले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापालाई चन्द्रागिरि लिएर आवासीय छलफल गरेका थिए । त्यसअघि सचिवालयका सदस्य वामदेव गौतम, ईश्वर पोखरेललगायतसँग पनि अलग अलग छलफल गरेका थिए ।
जुन छलफलमा नेता गौतमले नेपालसँग छलफल नगरी र उहाँलाई पनि सहमतिमा नल्याई गरिने एकताको कुनै अर्थ नरहने बताएका थिए । तीन नेता मिले कुनै समस्या नआउने भन्दै उनले अरूलाई बोलाएर छलफल गर्नुको पनि तुक नभएको जवाफ दिएका थिए ।
विमारीका कारण करिब एक सातदेखि आराम गरिरहेका नेता नेपालसँग सोमबार बिहान र बेलुकी दुई समय छलफल भए पनि कुनै सहमति नजुटेको बताइन्छ । पार्टीलाई एकताबद्ध भएर मिलाएर लैजान अहिले सबै स्थिति सहज छ ।
पार्टीभित्रको शक्ति केन्द्रका हिसाबले नेकपामा मुख्य तीन नेता हुन् । हिजो तत्कालीन एमालेको नवौं महाधिवेशनमा चुनावबाट निर्वाचित भएर आएको शक्ति र दाहाल नेतृत्वको एमाओवादीबीच एकता भएर नेकपा भएको हो ।
एमालेमा निर्वाचन हुँदा ओली र नेपाल नेतृत्वका दुईवटा पोलबीच भएको हो । त्यो हिसाबले यी दुवै एउटा एउटा पोलका नेता हुन् भने दाहाल अर्को पोलका नेता हुन् । यो स्थितिमा कुनै दुई नेता मिलेर कुनै एकलाई सिध्याउँछौं भन्ने हो भने त्यसले पार्टीलाई विग्रह र विवादतिर लैजान्छ ।
यदि यस्तो गरियो भने यसको प्रभाव के हुन्छ ? भन्ने कुरा मूलतः नेतृत्वले ख्याल गर्नुपर्ने हुन्छ । हिजो एमालेमा हुँदा ७५ जिल्लामध्ये हिजो ३६ जिल्लाको नेतृत्व वरिष्ठ नेता नेपाल पक्षले जितेको थियो । तर, अहिलेको भागबन्डमा तत्कालीन एमालेको भागमा ५६ जिल्ला परेको छ ।
तर अध्यक्ष ओलीले तयार गरेर नेता नेपालले थाहा नपाई सुटुक्क दाहाललाई बुझाएको सूचीमा दुई जिल्ला अध्यक्ष मात्र नेपाल पक्षकालाई प्रस्ताव गरिएको छ । त्यो पनि दोलखामा भीम दाहाल सर्वसम्मत भएकाले काट्ने कुरै भएन, अर्का एकजना सिन्धुपाल्चोकमा झम्क नेपाल ।
यदि यसरी एकतालाई अघि बढाइयो भने कार्यकर्ताको यो ढंगको कत्लेआम भएको अवस्थामा नेताको हिसाबले पनि नेपालले टुलुटुलु हेरेर बस्लान् भन्ने आशाा गर्न सकिन्न । त्यो बेला समानान्तर कमिटी बनाउनुपर्ने उनको बाध्यता हुन्छ ।
त्यसपछि पार्टीभित्रैबाट नेताको र त्यसपछि सरकारको विरोध सुरु हुने कुरामा शंका छैन । अनि यसैमा अल्झिएर सारा दुनियाँ हाँस्ने र हँसाउने काम हुन्छ । भाँडभैलो सुरु हुन्छ । यसमा नेतृत्वले विवेक गुमाउनु हुँदैन ।
अहिले पनि सबै काम आखिर अध्यक्षद्वय ओली र दाहालकै नेतृत्वमा भइरहेकै छ । पार्टीलाई एकताबद्ध बनाएर लैजाँदा त्यसको जस लिने उहाँहरूले नै हो । त्यसैले पार्टी र मुलुकको हितका खातिर पनि ओली, दाहालले उदारता देखाउनैपर्छ ।
पेलेरै जाने हो भने उहाँहरूले सक्नुहुन्छ । पेलेर जाने संख्या उहाँहरूसँग छ । प्रदेशमा कमिटी निर्माण गर्दा पनि नेता नेपालको असन्तुष्टिका बाबजुद अध्यक्षद्वयले पेलेर गरेका हुन् । तर, आखिर त्यसको परिणाम अहिले देखिन थालिसकेको छ, बुधबारमा उल्लेख छ ।
यत्तिका समय भइसक्दा पनि प्रदेश कमिटी चलायमान हुन सकेका छैनन् । त्यो गल्ती फेरि नेतृत्वले दोहोर्याउनु हुँदैन । त्यो गल्ती दोहोर्याउनु भनेको देश, जनता र पार्टीलाई भड्खालोतिर लैजानुहुनेछ ।